काठमाडौं । गत कात्तिक १० देखि बागलुङ, पूर्वी रुकुम र रोल्पाको संगमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गर्यो । यसअघि कुनै पनि दूरसञ्चार सेवा नपुगेको उच्च पहाडी भेगमा टेलिकमले एकैपटक मोबाइल र उच्च गतिको मोबाइल इन्टरनेट सेवा पुर्याएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातिहाल्ने हुँदै बागलुङ-रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति भएपछि टेलिकमले ती स्थानमा सेवा सुरु गरेको नेपाल टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए ।
उनका अनुसार उक्त स्थानमा एकैपटक फोरजी सेवा सुरु गरिएको छ । भने, टेलिफोन सेवाका लागि टुजी सेवा सञ्चालनमा ल्याइएको छ । यसले टेलिकम अब विस्तारै डेटातर्फ केन्द्रित भइरहेको देखाएको छ ।
पछिल्लो समय दूरसञ्चार सेवाप्रदायकको आम्दानी डेटामा केन्द्रित हुँदै गएपछि टेलिकमले पनि उच्च गतिको मोबाइल इन्टरनेटका लागि थ्रीजीकाे सट्टा फाेरजी उपलब्ध गराएको आँकलन गर्न सकिन्छ ।
कुनै समय टेलिफोन सेवा नपुगेका स्थानमा थ्रीजी सेवा सबैभन्दा प्रभावकारी सञ्चारको रुपमा हेरिन्थ्याे । टेलिफोन तथा इन्टरनेट दुवै चल्ने हुँदा यो प्रविधि गाउँ-गाउँमा सेवा विस्तारका लागि सबैभन्दा उपयुक्त प्रविधि थियो ।
तर, अब त्यसको विस्तारलाई रोकेर टेलिकमले फोरजीलाई पहिलाे प्राथामिकतामा राखेको टेलिकमका सह-प्रवक्ता रञ्जित लोहियालाले बताए ।
‘अब दूरसञ्चार सेवा विस्तार हुने ठाउँमा हाम्रो प्राथामिकता फोरजी नै हो,’ लोहियाले टेकपानासँग भने, ‘थ्रीजीको विस्तार रोकियो नै भन्दा फरक पर्दैन । थ्रीजी भनेको फोन तथा इन्टरनेटका लागि हो । तर, उच्च गतिको मोबाइल इन्टरनेटका लागि फोरजी सबैभन्दा राम्रो भएकाले पनि हामीले फोरजी नै सुरुमा उपलब्ध गराउन थालेका हौं ।’
यदि त्यहाँका प्रयोगकर्तासँग भ्वाइस ओभर एलटीई (भीओएलटीई) सपोर्ट गर्ने मोबाइल भएको खण्डमा फोरजीमार्फत नै टेलिफोन सेवा पनि सञ्चालन हुन्छ ।
उनले भने, ‘तर, सबैसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल नहुने हुँदा टेलिफोनका लागि सँगै टुजी पनि हामीले अस्थायी विकल्पका रूपमा उपलब्ध गराएका हौं । भोलिका दिनमा विस्तारै फोरजी र भीओएलटीई नै दूरसञ्चारको माध्यम हुनेछ ।
अर्कोतर्फ प्रयोगकर्ताको माग पनि उच्च गतिको इन्टरनेट नै हुने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘भिडिओ कन्टेन्ट बढेको छ । विदेशमा बस्ने मानिससँग भिडिओमार्फत कुराकानी गर्नुपर्ने हुन्छ । यस्तोमा थ्रीजीभन्दा फोरजी कयौं गुणा राम्रो सेवा हो । त्यसैले पनि अबको आवश्यकतालाई मध्यनजर गरेर हामीले फोरजी र टुजी सेवा दिन सुरु गरेका हौं ।’