काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्विच सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
नेशनल पेमेन्ट स्विचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यको तयारी सकिएपछि एनसीएचएलले उक्त स्वीकृति पाएको हो ।
हाल उक्त स्विचमा आबद्ध हुन चाहने बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकलगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याइने एनसीएचएलले जनाएको छ ।
विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआरलगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन नेसनल पेमेन्ट स्विचको स्थापना गर्ने कार्य अघि बढाउन एनसीएचएललाई स्वीकृति प्रदान गरिएको हो ।
उक्त नेसनल पेमेन्ट स्विचका लागि एनसीएचएलले दुई चरणमा काम गर्दै आएको छ । पहिलो चरणमा कार्डबाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्यूआरलगायतका भुक्तानीका लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ ।
दोस्रो चरणमा कार्डका लागि नेसनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डका लागि आवश्यक कार्य अघि बढाइएको एनसीएचएलले जनाएकाे छ ।
नेसनल पेमेन्ट स्विच सञ्चालनमा आएपछि राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्यान्डर्ड पूर्णरूपमा कार्यान्वयन गर्न सकिने बताइएकाे छ । यसअन्तर्गत उक्त स्ट्यान्डर्डको ‘नेपालपे’ क्यूआर लागू हुने छ भने नेपालभित्र रहेका क्यूआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिनेछ ।
सेवाबापतको भुक्तानीलाई कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकका वैकल्पिक च्यानलबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्विचमार्फत कारोबार र यसको फर्छ्याैट गर्न सकिनेछ ।
वालेट-वालेटबीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवाप्रदायकबाट अर्को भुक्तानी सेवाप्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ । त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टु–पेअन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउनेछन् ।
हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्टसमेत एनसीएचएलमार्फत गर्न सकिनेछ ।
नेसनल पेमेन्ट स्विचमा आबद्ध हुन तथा सोका लागि तयारी गर्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ ।
यसका साथै उक्त पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक तथा वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सीधै उक्त रिटेल पेमेन्ट स्विचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ ।
यसले नेसनल पेमेन्ट स्विचलगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबारसम्बन्धी डाटा नेपालभित्रै राख्न र ग्राहकलाई विद्युतीय भुक्तानीको सेवासमेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने एनसीएचएलले जनाएको छ।