close

तपाईंको आईफोन सक्कली हो कि नक्कली ? यसरी छुट्याउनुहोस्

टेकपाना टेकपाना

मंसिर १, २०७८ १६:३५

तपाईंको आईफोन सक्कली हो कि नक्कली ? यसरी छुट्याउनुहोस्

काठमाडौं । एप्पल आईफोन विश्वभर सबैभन्दा धेरै बिक्री हुने प्रिमियम स्मार्टफोन हो । सुरक्षाको विषयलाई प्रमुखता दिएर बनाइने आईफोन गुणस्तर र आकर्षक फिचर तथा सुविधाको हिसाबले समेत अन्य फोनको मामिलामा पृथक छ ।

आईफोनको लोकप्रियता लगातार रुपमा बढ्दै गर्दा ठगी गर्नेहरूका लागि पनि एउटा गतिलो मौका मिलेको छ । उनीहरूले आईफोनको लोकप्रियताको आडमा नक्कली आईफोन बिक्री गरिरहेका हुन्छन् ।

त्यसो त आईफोन तथा एप्पल एक्सेसरिज यति धेरै अत्याधुनिक भइसकेका छन् कि कहिलेकाहीँ छुट्याउनै मुस्किल परिरहेको हुन्छ ।

आज हामी तपाईंलाई केही यस्ता टिप्स दिँदैछौँ, जसको सहयोगमा तपाईंले आफ्नो आईफोन नक्कली हो वा सक्कली भन्ने कुरा सहजै पहिचान गर्न सक्नुहुनेछ । तपाईंलाई यी टिप्सले नयाँ आईफोन खरिद गर्दा समेत नक्कली आईफोन हात पर्ने जोखिमबाट टाढा राख्नेछ ।

१. फोनको बनावटलाई ध्यान दिनुहोस्

आईफोन सक्कली हो वा नक्कली भन्ने कुराको पहिचान गर्न सबैभन्दा सामान्य तरिका मध्ये एक हो फोनको शारीरिक बनावट । जब आईफोनको डिजाइन तथा निर्माणको कुरा आउँछ, सधैँ उत्कृष्टताको अपेक्षा हुन्छ । धेरैजसो नक्कली आईफोनमा हार्डवेयर सस्तो किसिमको हुने गर्छ । यदि हार्डवेयर कमजोर छ भने आईफोन नक्कली हो ।

आईफोन हार्डवेयर सामान्यतया मेटल तथा सिसाबाट बनेको हुन्छ । यद्यपि म्याट फिनिशिङ टप-इन्ड मोडेलमा हुने गर्दछ । यसका साथै त्यस्ता विवरणहरूमा ध्यान दिनुहोस्, जसलाई ठगी गर्नेहरूले सामान्यतया अनदेखा गरिरहेका हुन्छन् । उदाहरणको लागि रङ्ग पहिचान गर्नु । एप्पलले आकर्षक रङ्गहरूमा आफ्ना आईफोनहरू बिक्री गर्दछ । यस्ता सटीक रङ्ग नक्कल गर्नु त्यति सहज छैन । 

२. एप्पल स्टोरमा जानुहोस्

यदि तपाईं आईफोन खरिद गर्ने योजनामा हुनुहुन्छ भने सबैभन्दा पहिला आफू नजिकको एप्पल स्टोर वा आधिकारिक बिक्रेताकहाँ जाने प्रयास गर्नुहोस् । त्यहाँ गएर आईफोनको लुक्स हेर्नुहोस् र त्यसबाट प्राप्त हुने महसुस ख्याल गर्नुहोस् ।

बनावट महसुस गर्नुहोस् र त्यसको मूल्य पनि सोध्नुहोस् । यदि कसैले तपाईंलाई प्रयोग भइसकेको आईफोन बिक्री गरिरहेको छ तर त्यसको मूल्य निकै कम छ भने त्यसमा कुनै कमी कमजोरी छ भन्ने कुरा बुझ्नुहोस् । अर्को उपायको रुपमा एप्पलको आधिकारिक वेबसाइटमा गएर पनि तपाईंले आईफोनको प्रमाणिकता जाँच गर्न सक्नुहुन्छ ।

३. आईएमईआई वा सिरियल नम्बर चेक गर्नुहोस्

सबै आधिकारिक आईफोनमा आईएमईआई वा सिरियल नम्बर हुने गर्दछ । सेटिङ्समा ‘जनरल’ हुँदै ‘अबाउट’मा ट्याप गर्नुहोस् । अब तलतर्फ स्क्रोल गर्नुहोस् । त्यहाँ तपाईंले आईएमईआई नम्बर देख्न सक्नुहुनेछ । यदि आईफोनमा पर्याप्त आईएमईआई नम्बर छैन वा छँदै छैन भने सम्भवतः त्यो नक्कली हुनसक्छ । 

४. अपरेटिङ सिस्टम चेक गर्नुहोस्

जसले आईफोनलाई अन्य फोनभन्दा अलग बनाउँछ, त्यो यसको अपरेटिङ सिस्टम नै हो । अन्य स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने गर्दछन् भने आईफोन आईओएसमा काम गर्दछ । जुन एप्पलले तयार पारेको उसको निजी अपरेटिङ सिस्टम हो । तर प्रायजसो नक्कली आईफोन एन्ड्रोइडमा चलिरहेका हुन्छन् ।

तर प्रयोगकर्तालाई उल्लू बनाउन शीर्ष स्थानमा आईओएस जस्तो देखिने बनाइएको हुन्छ । यसै कारणले गर्दा नक्कली आईफोन पनि सक्कली जस्तो लाग्न सक्छ । तपाईं आईफोन खरिद गर्दै हुनुहुन्छ भने पक्कै पनि धेरै महँगो रकम खर्च गर्दै हुनुहुन्छ । त्यसैले तपाईंले खरिद गर्न लागेको आईफोन राम्रोसँग परीक्षण गर्नुहोस् । सफारी, हेल्थ र क्याल्कुलेटर जस्ता एप डिफल्ट रुपमा छन् कि छैनन्, चेकजाँच गर्नुहोस् । 

५. सिरी चल्छ कि चल्दैन, जाँच गर्नुहोस्

 बिक्रेतालाई आईफोनमा सिरीले काम गरिरहेको छ कि छैन, देखाउन लगाउनुहोस् । सिरी गुगल असिस्टेन्ट जस्तै भ्वाइस असिस्टेन्ट हो, जसले केवल एप्पलका उपकरणहरूमा मात्रै काम गर्दछ । यदि आईफोन ब्युल्ट-ईन सिरीको साथमा छैन भने सम्झनुहोस्, तपाईंको आईफोन नक्कली हो । 

६. स्टोरेजको क्षमतामाथि ध्यान दिनुहोस्

आईफोनमा माइक्रो एसडी कार्ड स्लट हुँदैन । किन कि आन्तरिक मेमोरी नन-एक्सपान्डेबल अर्थात् विस्तार गर्न नसकिने किसिमको हुन्छ । तर नक्कली आईफोनमा एक्सपान्डेबल अर्थात् मेमोरी विस्तार गर्न सकिने स्टोर हुने गर्दछ । यदि आईफोनमा माइक्रो एसडी कार्ड स्लट छ भने त्यो नक्कली हो ।

७. नक्कली पावर एडप्टर तथा चार्जर पहिचान गर्नुहोस्

पावर एडप्टर तथा चार्जरका लागि सक्कली हो वा नक्कली पहिचान गर्नका लागि कम्पनीको वेबसाइटमा सपोर्ट पेजमार्फत जानकारी दिइएको छ । साथै ध्यान दिनुहोस् कि एप्पलले बजारमा बिक्री गर्ने पावर एडप्टर तथा चार्जर विशेष किसिमको प्याकेजमा आउने गर्दछ । अनि अर्को कुरा पावर एडप्टर तथा चार्जर लगायतका एप्पल एक्सेसरिज महँगा हुने गर्दछन् ।

तर नक्कली एप्पल एक्सेसरिज निकै सस्ता हुने गर्दछन् । त्यसो त तपाईं थर्ड-पार्टी निर्माताबाट समेत एप्पल एक्सेसरिज खरिद गर्न सक्नुहुन्छ । तर त्यस्ता एक्सेसरिज मात्र खरिद गर्नुहोस्, जुन एप्पलले प्रमाणित गरेको छ । प्याकेजमा स्पष्ट रुपमा लेखिएको हुन्छ कि ‘मेड फर आईफोन’ वा ‘मेड फर आईफोन आई प्याड आईपड’ ।

यदि तपाईं आफ्नो आईफोनका लागि लाइटनिङ केबल खरिद गर्दै हुनुहुन्छ भने एमएफआई  प्रमाणित हो कि होइन सुनिश्चित गर्नुहोस् । एमएफआई सर्टिफिकेसनको अर्थ आईफोन, आईप्याड वा आईपडका लागि बनेको भन्ने हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३