close

अब आफ्नो आईफोन घरमा आफैँले मर्मत गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १, २०७८ २२:२०

अब आफ्नो आईफोन घरमा आफैँले मर्मत गर्न सकिने

काठमाडौं । आईफोन बजारमा उपलब्ध भएको १४ वर्ष पछि एप्पलले आफ्ना  ग्राहक स्वयम्‌ले आफ्नो उपकरण मर्मत गर्नसक्ने विकल्प दिन थालेको छ । कम्पनीले यसका लागि ‘सेल्फ सर्भिस रिपेयर‘को घोषणा गरेको छ ।

जसले आईफोन ट्वेल्भ र आईफोन थर्टिनका प्रयोगकर्तालाई आफ्नो फोनको डिस्प्ले, ब्याट्री र क्यामेरा सम्बन्धी समस्यालाई सम्बोधन गर्नेछ । अन्य रिपेयर (मर्मत सम्भार) को सुविधा अर्को वर्षको अन्त्यतिरबाट उपलब्ध हुने र सेल्फ सर्भिसको विकल्प भविष्यमा एमवान चिप प्रयोग गरिएका म्याक कम्प्युटरमा समेत उपलब्ध हुने बताइएको छ ।

यो सुविधा अर्को वर्षको सुरुवाती समयमा अमेरिकामा उपलब्ध हुन थाल्नेछ । त्यसपश्चात् अन्तर्राष्ट्रिय रुपमा यसको रोलआउट हुनेछ ।

‘एप्पलका जेन्युन (वास्तविक) पार्ट्सको सहज उपलब्धताले हाम्रा ग्राहकहरूलाई मर्मत सम्भारको आवश्यकता परेको खण्डमा छनौटका थप विकल्प दिनेछ,’ एप्पलका प्रमुख सञ्चालन अधिकृत जेफ विलियम्सले भनेका छन्, ‘बितेका तीन वर्षमा एप्पलका जेन्युन पार्ट्स, यन्त्र र तालिमको पहुँच सहित एप्पलले आफ्ना सर्भिस लोकेसन करिब दोब्बर सङ्ख्याले बढाएको छ ।

‘यससँगै अब हामी जसले आफ्नो मर्मत सम्भारको काम आफैँ सम्पन्न गर्न चाहन्छन्, उनीहरूका लागि एउटा विकल्प दिँदैछौँ ।’ यसबाट एप्पल आफ्नो रिपेयर प्रोग्रामबाट टाढा जान खोजेको भने होइन ।

तर त्यस्ता ग्राहक, जसले आफ्नो क्षमताको भरमा आफ्नो आईफोन स्वयम्‌ मर्मत गर्ने आत्मविश्वास राख्दछन्, उनीहरूले एप्पल पोर्टलबाट पार्ट्सहरू अर्डर गर्न सक्नेछन् र प्रयोग भइसकेका पार्ट्सलाई रिसाइकिलिङका लागि फिर्ता पठाउन सक्नेछन् र त्यसमा क्रेडिट सुविधा समेत पाइनेछ ।

एप्पलका अनुसार स्टोरले फोनका लागि २०० प्रकारका पार्ट्स तथा टुल्स बिक्री गर्नेछ । यो विकल्पले प्रविधि प्रेमी आईफोन प्रयोगकर्तालाई एप्पलले रिपेयर विकल्प उपलब्ध बन्द गराए पश्चात पनि डिभाइसको आयु बढाउने मौका दिनेछ ।

कम्पनीले पुराना आईफोन मोडेलहरूका लागि भविष्यमा पार्ट्स उपलब्ध गराउने विषयमा केही खुलाएको छैन । आधिकारिक रिपेयर शपभन्दा बाहिर आईफोनको ब्याट्री रिप्लेस गर्नुपरेपछि एप्पलको चर्को आलोचना भएको थियो ।

त्यसैको परिणाम स्वरूप दुई वर्ष अघि एप्पलले आफ्नो रिपेयर नेटवर्क विस्तार गर्दै ‘इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडर प्रोग्राम’ घोषणा गरेको थियो । अहिलेको समयमा उक्त प्रोग्राम अन्तर्गत दुई सयभन्दा बढी मुलुकमा २८०० भन्दा धेरै प्रदायक छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३