काठमाडौं । विश्वव्यापी रुपमा वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’ बन्द हुने भएको छ । बुधबार अमेजनले आफ्नो सहायक कम्पनी एलेक्जा बन्द गर्ने योजना सार्वजनिक गरेको हो ।
एलेक्जा विगत २५ वर्षदेखि सञ्चालनमा छ । जसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्ने गर्छ । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ ? विश्वमा कति स्थानमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।
त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।
तर, अब भने अमेजनले यसलाई बन्द गर्ने तयारी गरेको हो । कम्पनीका अनुसार सन् २०२२ को मे महिनाबाट यो पूर्ण रुपमा बन्द हुनेछ ।
‘हामीले आजभन्दा २५ वर्षअघि एलेग्जा इन्टरनेटको सुरुवात गरेका थियौ,’ अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो । यो आउँदो मे १ तारिखबाट पूर्णरुपमा बन्द हुनेछ ।’