close

जिमेलबाट कसरी पठाउने फ्याक्स ?

टेकपाना टेकपाना

मंसिर २८, २०७८ ८:५५

जिमेलबाट कसरी पठाउने फ्याक्स ?

काठमाडौं । आजको दिनमा सबैका लागि ईमेल सूचना आदान-प्रदान गर्ने सबैभन्दा सहज माध्यम बनेको छ । यस्तोमा पुराना प्रविधिहरूको प्रयोग विस्तारै विस्थापित हुँदै गएकाे छ । चिठी आदान-प्रदान विस्तारै घट्दै गएको छ ।

फ्याक्समार्फत डकुमेन्ट पठाउने क्रम पनि विस्तारै हट्दै गएको छ । यसको अर्थ बन्द नै भइसकेको छ भन्ने त पक्कै हाेइन । किनकि हाम्रोजस्तो भौगोलिक अवस्था भएको देशमा सबै ठाउँमा उच्च गतिको इन्टरनेट पुग्न सकेको छैन ।

जहाँ इन्टरनेटको पहुँच पुगेको छैन, त्यस्ता स्थानमा अझै पनि फ्याक्समार्फत आवश्यक जानकारी पठाउने क्रम जारी नै छ ।

त्यतिमात्रै नभएर एक देशबाट अर्को देशमा फ्याक्समार्फत डकुमेन्ट पठाउने प्रचलन पनि रहेको छ । अझ सरकारी निकायमा त यसको प्रयोग कायमै छ भन्दा कुनै फरक पर्दैन ।

यहाँ हामी पछिल्लो प्रविधि ईमेल र पुरानो प्रविधि फ्याक्सलाई एकै ठाउँमा ल्याउने तरिका सिकाउँदै छौं । यसको अर्थ जिमेलबाटै फ्याक्स कसरी पठाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।

यसले कुनै दिन तपाईंलाई कसैले फ्याक्स गर्नु भनेर फ्याक्स नम्बर उपलब्ध गराएको खण्डमा ईमेलबाटै फ्याक्स गर्न सहज हुनेछ ।

यस्तो छ तरिका

ईमेलबाट फ्याक्स पठाउनका लागि सुरुमा तपाईंले गुगल मार्केट प्लसबाट कुनै एक फ्याक्स सर्भिस डाउनलोड गर्न भने आवश्यक छ । यस्ता फ्याक्स सर्भिस निःशुल्क पनि उपलब्ध रहेका छन् । त्यसमध्ये ‘फ्याक्स प्लस’ एक हुन सक्छ ।

जब तपाईंले गुगल मार्केट प्लेसबाट फ्याक्स सर्भिस डाउनलोड गर्नुहुन्छ, तब जिमेलको दायाँ साइडको माथि ‘फ्याक्स’ को स्क्रिन देखिने छ ।

अब उक्त आईकनमा क्लिक गरी यसलाई खोल्नुहोस् । यो सँगै फ्याक्स सर्भिस खुल्नेछ । अब त्यसमा फ्याक्स प्राप्त गर्नेको फ्याक्स नम्बर लेख्नुहोस् ।

फ्याक्स नम्बर राख्दा प्लसबाट सुरु हुने अन्तर्राष्ट्रिय डाइलिङ कोड (+९७७) राखी बाँकी नम्बर राख्नपर्ने हुन्छ । त्यसरी नम्बर राख्दा बीचमा कुनै स्पेस राख्न पाईदैन् ।

अब  तल रहेको ‘न्यु फ्याक्स’ मा क्लिक गर्नुहोस् । यति गरेसँगै जिमेलको नयाँ विन्डो खुल्नेछ ।

जसमा तपाईंले फ्याक्स पठाउन चाहेको डकुमेन्ट अपलोड गर्न सक्नुहुनेछ । त्यसरी फाइल अपलोड गर्दा पीडीएफ फाइल अपलोड गर्दा सबैभन्दा उपयुक्त हुनेछ ।

त्यति गरेसँगै अब अन्तिममा रहको ‘सेन्ड’ बटनमा क्लिक गरी फ्याक्स पठाउन सक्नुहुनेछ ।

त्यसरी फ्याक्स पठाएको ५ मिनेटपश्चात तपाईंलाई फ्याक्स पुगेको जानकारीसहितको ईमेल प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२