काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ ।
यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ । योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ ।
उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएकाे छ ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक एक हजार २०० रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् ।
१५० एमबीपीएससहित २२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
‘वर्ल्डलिंक सधै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन तल्लीन छ । नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौ,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने ।
विभिन्न तथ्यांकले देखाएअनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ ।
साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।
काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफनो नयाँ योजना सार्वजनिक गरेको छ ।
उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयकाे काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्न निकै सहज हुने कम्पनीकाे अपेक्षा छ ।
वर्ल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने छन् । यसका लागि डुअल व्याण्ड भएको राउटरमात्रै आवश्यक पर्नेछ ।
याे योजनाले इन्टरनेट सेवाग्राहीको वाई-फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास छ ।