काठमाडौं । हुलाक सेवा लिँदा सरकारलाई बुझाउनुपर्ने महशुल दर वृद्धि भएको छ । पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले हुलाक वस्तुको महसुल दररेट पुनरावलोकनको निर्णय लिएको हो ।
यससँगै अब हुलाक सेवा लिँदा यसअघि भन्दा बढी शुल्क बुझाउनुपर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले हुलाक वस्तुको महसुल दररेट र वैदेशिक द्रुत डाँक (ईएमएस) दुवैको महशुल पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
यसको अर्थ साधारण चिठ्ठी, पार्सल, ईएमएस जस्ता कुनै पनि सेवा लिँदा लाग्दै आएको महशुल परिवर्तन भएको छ । हुलाक सेवा विभागकी महानिर्देशक इन्दु घिमिरेले नयाँ दररेटमा सामान्य वृद्धि गरेर आफूहरूले मन्त्रालयमा सिफारिस गरेको बताइन् ।
‘हामीले रजिस्ट्री, साधारण चिठ्ठी, पार्सल, ईएमएस जस्ता सेवा लिँदा लाग्ने शुल्कमा केही वृद्धि गरेर मन्त्रालयलाई पठाएका थियौँ,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्बाट पास भएको दररेट हालसम्म प्राप्त भएको छैन् । त्यसैले नयाँ दररेट कति कायम भएको छ भन्ने विषय जानकारीमा आएको छैन । तर, पक्कै पनि वृद्धि भएको छ भन्ने हो ।’
उनका अनुसार हुलाक सेवाको दररेट २०७२ सालदेखि कुनैपनि परिमार्जन भएको थिएन । छ वर्ष पश्चात बल्ल पहिलो पटक परिमार्जन भएको हो ।
‘कर्मचारीको तलब बढेको छ, लागत बढेको छ, इन्धनको मूल्य बढेको छ,’ उनले भनिन्, ‘यस्तोमा हुलाक सेवाको शुल्कमा कुनै परिमार्जन नहुँदा समय सापेक्ष हुन सकेको थिएन । त्यसैले पनि हामीले केही परिमार्जन सहित मन्त्रालयलाई सिफारिस गरेका थियौँ ।’