सुर्खेत । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरणलाई देशव्यापी बनाउन थालेको छ । योसँगै टाढा टाढाबाट काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।
हालै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि विद्युतीय राहदानी वितरण सुरु गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार वीरेन्द्रनगर नगरपालिका–८ का गीर्वाणबाबु मल्ललाई पहिलो विद्युतीय राहदानी प्रदान गरी यो सेवा सुरुवात गरे ।
प्रजिअ रिजालले यस पटक ११८ जनाको विद्युतीय राहदानी आएको बताउँदै अब प्रशासनिक काम डिजिटल प्रविधिबाट गर्न थालिएको जानकारी दिए ।
विद्युतीय राहदानी प्राप्त गर्न अनिवार्य रुपमा अनलाइनबाट मिति र समय बुक गर्नुपर्ने हुन्छ । ‘फस्ट कम फस्ट’ अर्थात सुरुमा बुक गर्ने व्यक्तिको पालो पहिला आउँछ ।
अनलाइन आवेदन भर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् र आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुहोस् । अब यदि तपाईंसँग यसअघि नै एमआरपी पासपोर्ट छ भने रिन्युअल (Renewal) र पहिलो पटक राहदानी बनाउँदै हुनुहुन्छ भने न्यु (New) विकल्प छानेर फाराम भर्नुहोस् ।
नेपालमा फाराम बुझाउनेको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला अथवा तोकिएका इलाका प्रशासन कार्यालय छान्न सक्नुहुन्छ र जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र आवेदन दिनुपर्ने हुन्छ ।
राहदानी विभागमा सामान्य अवस्थामा र राष्ट्रिय परिचय पत्रसँगको विवरण भिडेको र आवश्यक कागजात रुजु भएको अवस्थामा मात्र दुई कार्य दिनको सेवा लिन सकिनेछ ।
त्यस्तै १६ वर्ष माथिका र नेपालमा आवेदन दिनेहरूको हकमा सक्रिय भएको राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्छ । राष्ट्रिय परिचयपत्र नम्बर लिने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
नाबालिग परिचयपत्र हुनेहरूको हकमा जिल्ला आधिकारिकता प्रमाणित गरिएको पत्र अनिवार्य गरिएको छ ।
सक्रिय भएको वा नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको हटलाइन नम्बरमा फोन गरेर वा भाइबर तथा ह्वाट्सएपमा मेसेज पठाएर यकिन गरिसकेपछि मात्र लाइभ इनरोलमेन्टको लागि अगाडि बढ्नुपर्ने हुन्छ ।
अनलाइन भुक्तानीको व्यवस्था निकट भविष्यमा गरिने भन्दै विभागले हाललाई नगदबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । तर यहाँनिर ख्याल राख्नुहोस्, यदि तपाईंको अहिलेको पुरानो राहदानीको म्याद एक वर्षभन्दा बढी बाँकी छ भने ई-पासपोर्ट लिन पाउनु हुनेछैन ।