काठमाडौं । दूरसञ्चारमा मोबाइल सेवा भित्रिएसँगै परम्परागत टेलिफोन प्रविधिमा आकर्षण घट्दै गएको छ । निजी प्रयोजनका लागि घरमा ल्यान्डलाइन फोन राख्ने प्रचलन त लगभग सकिनै सकेको छ भने कार्यालयहरूले अझै प्रयोगमा ल्याएका छन्
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार विगत पाँच वर्षदेखि दूरसञ्चारको बजारमा फिक्सलाइन टेलिफाेन सेवा (पीएसटीएन, डब्लूएलएल, भी-स्याट र फाइबर) को हिस्सा दुई प्रतिशतमा स्थिर भएर बसेको छ ।
त्यसअघि तीन प्रतिशतसम्म रहेको हिस्सा पछिल्लो पाँच वर्षमा घटेर दुई प्रतिशतमा अड्किएको हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्क अनुसार (मंसिर महिनासम्म) ल्यान्डलाइन ग्राहककाे संख्या ८२१,८७५ पुगेको छ । हाल नेपाल टेलिकमले मात्र ल्यान्डलाइन सेवा सञ्चालन गरिरहेकाे छ ।
२०७४ को तथ्याङ्क हेर्ने हो भने सोही अवधिमा विभिन्न सेवा प्रदायकहरूको मिलाएर कुल ८६०,०१३ प्रयोगकर्ता थिए । यो संख्या घटेर २०७५ को सोही अवधिमा ८००,९०५ पुगेको थियाे भने २०७६ मा ७९५,६९१ र २०७७ मा ७३५,६९१ पुगेको थियाे ।
यद्यपि ल्यान्डलाइन प्रयोगकर्ताको संख्या २०७८ मा आएर केही बढेको देखिन्छ । यसको मुख्य श्रेय नेपाल टेलिकमको एफटीटीएच सेवालाई जान्छ ।
लगातार रुपमा घट्दै गएको ल्यान्डलाइन प्रयोगकर्ताको संख्या नेपाल टेलिकमको ल्यान्डलाइन सेवा फाइबर टु दि होम (एफटीटीएच) सेवा विस्तार हुन थालेसँगै सुधार हुन थालेको हो ।
यो सेवा अन्तर्गत प्रयोगकर्ताले एउटै अप्टिकल फाइबरमा उच्च गतिको इन्टरनेटसँगै फिक्स टेलिफोन सेवा प्राप्त गर्न सक्छन् ।
यो आर्थिक वर्षदेखि सुरु भएको एफटीटीएच सेवाको प्रयोगकर्ता पहिलो पाँच महिनामा १७४,२८४ पुगेका छन् । यो वर्ष संख्यामा प्रयोगकर्ता बढेको देखिए पनि बजार हिस्सा भने दुई प्रतिशतमै सीमित छ ।