काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्नो मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको छ । गएको पुसमा कम्पनीले सिद्धार्थ राजमार्ग, पाल्पा, बाग्लुङ, बुटवल, भैरहवा र पोखराका स्थानहरूमा ड्राइभ टेस्ट विधिको माध्यमबाट मोबाइल सेवाको गुणस्तर मापन गरेको हो ।
यसअन्तर्गत कल प्रदर्शन (कल स्थापना हुन लाग्ने समय र सफलताको दर तथा कल बिच्छेद दर) र इन्टरनेट प्रदर्शन (पिङ राउन्ड ट्रिप टाइम र सफलता दर, वेबपेज लोड हुने समय र सफलता दर, डाउनलोड र अपलोड स्पिड) समावेश थिए ।
उक्त प्रतिवेदनले नेपाल टेलिकमको कल प्रदर्शन सन्तोषजनक देखाएको छ । परीक्षणअनुसार, ७ सेकेन्डभन्दा कम समयमा फोनकल लाग्नुपर्ने नियामक नेपाल दूरसञ्चार प्राधिकरणको मापदण्ड अनुरूप अधिकांश स्थानमा औसत समय यसभन्दा कम पाइयो ।
साथै, कल सफलता दर ९७ प्रतिशतभन्दा बढी रहेको छ । प्राधिकरणको मापदण्ड अनुसार २ प्रतिशतभन्दा कम कल बिच्छेद दर राख्नुपर्ने भएपनि सबै स्थानमा नेपाल टेलिकमको बिच्छेद दर शून्य रहेको पाइयो । प्रत्येक कल परीक्षणको अवधि १२० सेकेन्ड राखिएको थियो भने नेपाल टेलिकमकै नेटवर्कभित्र लोकल कल गरिएको थियो ।
प्रतिवेदनले इन्टरनेटको गुणस्तर पनि प्रायः सन्तोषजनक देखाएको छ । पिंग समय प्राधिकरणको मापदण्ड अनुसार ३५० मिलिसेकेन्डभन्दा कम नै रहेको पाइयो । वेबपेज लोड हुन लाग्ने समय ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा मापदण्ड अनुसार नै पाइएको टेलिकमले जनाएको छ ।
तर, डाउनलोड र अपलोडको गति सबै स्थानमा समान नपाइएको प्रतिवेदनमा उल्लेख छ । बुटवल र भैरहवामा डाउनलोड डेटाको बहाव प्राधिकरणको मापदण्ड (१० एमबीपीएस) भन्दा राम्रो देखिँदा सिद्धार्थ राजमार्ग, पाल्पा, बाग्लुङ र पोखरामा यो गति अपेक्षाअनुसार कम रहेको पाइयो ।
मोबाइल सेवा परीक्षणमा अधिकांश स्थानहरूमा सन्तोषजनक नतिजा प्राप्त भएको प्रतिवेदनले देखाएको छ । यद्यपि, केही स्थानमा इन्टरनेटको डाउनलोड गति प्राधिकरणको मापदण्ड अनुसार कम रहेको थियो भने कम्पनीले भौगोलिक जटिलताका कारण नेटवर्क सिग्नलमा अवरोध आएको र गुणस्तर मापनमा केही प्रभाव परेको उल्लेख गरेको छ ।
सिद्धार्थ राजमार्ग
सिद्धार्थ राजमार्गमा गरिएको ड्राइभ टेस्टमा कल स्थापना हुन लाग्ने औसत समय ६.११ सेकेन्ड अर्थात् सफलता दर ९९.०५% रहेको छ । आफैँ फोनकल वा सम्पर्क बिच्छेद हुने दर सिद्धार्थ राजमार्गमा शून्य प्रतिशत रहेको छ । इन्टरनेट परीक्षणमा पिंग हुन लाग्ने समय ८९.६४ मिलिसेकेन्ड रहेको छ भने वेबपेज लोड हुने सफलता दर ९९.३८% पाइएको छ । तर, डाउनलोड गति ६.११ एमबीपीएस र अपलोड गति ७.११ एमबीपीएस मात्रै पाइएको छ । भौगोलिक जटिलताका कारण केही स्थानमा सिग्नल अवरोध भएको प्रतिवेदनमा उल्लेख छ ।
पाल्पा
पाल्पामा गरिएको परीक्षणमा कल स्थापना हुन लाग्ने औसत समय ६.१० सेकेन्ड रहेको छ, जुन प्राधिकरणको मापदण्ड अनुसार सफलता दर ९७.३% हो । पाल्पामा पनि आफैँ फोनकल वा सम्पर्क बिच्छेद हुने दर शून्य प्रतिशत रहेको छ । यहाँ पिंग हुन लाग्ने समय ८०.०२ मिलिसेकेन्ड रहेको छ भने वेबपेज लोड हुने सफलता दर १००% रहेको छ । त्यस्तै यहाँ डाउनलोड स्पिड औसत ४.९० एमबीपीएस मात्रै पाइयो भने अपलोड स्पिड ११.८५ एमबीपीएस रहेको छ । यहाँ पनि भौगोलिक जटिलताका कारण केही स्थानमा सिग्नल अवरोध भएको रिपोर्ट गरिएको छ ।
बाग्लुङ
बाग्लुङको ड्राइभ टेस्टमा कल स्थापना हुन लाग्ने औसत समय ५.९३ सेकेन्ड थियो, जुन १००% सफलता दर हो । यहाँ पनि आफैँ फोनकल वा सम्पर्क बिच्छेद हुने दर शून्य प्रतिशत रहेको छ ।इन्टरनेट परीक्षण अन्तर्गत पिंग हुन लाग्ने समय औसतमा ६८.५० मिलिसेकेन्ड र वेबपेज लोड हुने सफलता दर ९९.०८% पाइएको छ । डाउनलोड डेटाको बहाव ५.१७ एमबीपीएस र अपलोड डेटाको बहाव १०.४४ एमबीपीएस रहेको छ । यहाँ पनि भौगोलिक जटिलताका कारण सिग्नल अवरोधको समस्या आएको उल्लेख गरिएको छ ।
बुटवल
बुटवलमा गरिएको परीक्षणमा कल लाग्ने समय औसतमा ५.५५ सेकेन्ड र १००% सफलता दर थियो भने कल विच्छेद दर शून्य थियो । त्यस्तै पिंग समय औसतमा ६२.६१ मिलिसेकेन्ड हुँदा वेबपेज लोड हुने सफलता दर १००% पाइएको छ । यहाँ डेटाको डाउनलोड गति १०.६२ एमबीपीएस र अपलोड गति १४.१७ एमबीपीएस पाइएको छ । बुटवलको ड्राइभ टेस्टमा कुनै विशेष टिप्पणी उल्लेख गरिएको छैन ।
भैरहवा
भैरहवामा गरिएको ड्राइभ टेस्टमा कल लाग्ने समय औसत ५.८५ सेकेन्ड र सफलता दर ९८.३१% थियो भने फोनकल आफैँ काटिने समस्या आएन । यहाँ पिंग हुन लाग्ने समय ६६.०५ मिलिसेकेन्ड र वेबपेज लोड हुने सफलता दर १००% थियो । भैरहवामा मोबाइल डेटाको डाउनलोड र अपलोड स्पिड सन्तोषजनक देखिएको छ । डाउनलोड गति ११.६५ एमबीपीएस र अपलोड गति १४.९० एमबीपीएस पाइएको प्रतिवेदनमा उल्लेख छ । यहाँ पनि कुनै विशेष टिप्पणी उल्लेख गरिएको छैन ।
पोखरा
पोखरामा गरिएको मोबाइल सेवाको गुणस्तर परीक्षणको नतिजा पनि अन्य स्थानहरूभन्दा फरक देखिएको छैन । यहाँ औसतमा ५.८६ सेकेन्डमै फोन कल लाग्छ भने परीक्षणभर कल विच्छेद हुने समस्या आएन । त्यस्तै मोबाइल डेटातर्फ पिंग हुन लाग्ने समय ७५.८२ मिलिसेकेन्ड र वेबपेज लोड हुने सफलता दर ९९.५८% पाइयो । डाउनलोड गति १०.२१ एमबीपीएस र अपलोड गति १३.८९ रहेको छ । यस स्थानमा पनि भौगोलिक जटिलताका कारण केही स्थानमा सिग्नल अवरोधका केही समस्या देखिएको टेलिकमले जनाएको छ ।
कसरी गरिएको थियो ड्राइभ टेस्ट ?
ड्राइभ टेस्ट विधिमा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरण प्रयोग गरेर मोबाइल नेटवर्कको मुख्य-मुख्य सेवा मानकहरूको तथ्यांक संकलन गरिन्छ । यसअन्तर्गत नेपाल टेलिकमको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी/थ्रीजी/टुजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुनेगरी उपकरणमा व्यवस्था गरिएको थियो ।
टेलिकमले यो परीक्षणका लागि ‘GENEX Probe’ नामक ड्राइभ टेस्ट उपकरण र संकलित तथ्यांकको प्रशोधन र विश्लेषण गर्न ‘GENEX Assistance’ नामक उपकरण प्रयोग गरेको छ ।