काठमाडौं । विश्वका कतिपय देशले फाइभजी मोबाइल प्रविधिको सुरुवातसँगै थ्रीजीलाई विस्थापित गरिरहेका छन् । दूरसञ्चार सेवा प्रदायकले फोरजी एलटीईलाई ब्याकअपमा राखेर फाइभजी सञ्चालनमा ल्याएसँगै कम्पनीहरूले थ्रीजी विस्थापित गर्न थालेका हुन् ।
यसरी थ्रीजी विस्थापित हुँदा टेस्लाका पुराना मोडलका कारमा भने इन्टरनेट कनेक्सनमा समस्या देखिएको छ । हुन त टेस्लाले थ्रीजीको विकल्पको रुपमा इन्टरनेट कनेक्सनको अर्को व्यवस्था मिलाएको थियो ।
तर, थ्रीजी बन्द हुँदा तत्कालै नयाँ मोडले काम गर्न नसक्दा केही गाडीमा समस्या देखिएको हो । टेस्लाका गाडीमा इन्टरनेट कनेक्सन महत्त्वपूर्ण हुन्छ ।
जसमार्फत कम्पनीले गाडीको अवस्थाबारे जानकारी संकलन गरी प्रयोगकर्तालाई आवश्यक र महत्त्वपूर्ण जानकारी दिइरहेको हुन्छ । त्यसैले पनि कम्पनीले सन् २०१२ मा टेस्लाको पहिलो मोडल ‘एस’ सार्वजनिक गर्दा देखि नै कनेक्सनको व्यवस्था मिलाएको थियो ।
त्यस्ता पुराना मोडलमा थ्रीजी कनेक्सन रहेकाले कम्पनीले यसअघि नै प्रयोगकर्तालाई कनेक्सन टुट्न सक्ने जानकारी दिएको थियो । त्यसका बावजुद पनि केही गाडीमा भने कनेक्सन हुन नसकेको बताइएको छ ।