काठमाडौँ । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक औपचारिक रूपमा बंगलादेशमा सुरु भएको छ । विशेषगरी दुर्गम र पिछडिएका क्षेत्रहरूलाई उच्च गतिको इन्टरनेट जडान गर्ने उद्देश्यले मंगलबारदेखि स्टारलिंक सेवा सञ्चालनमा आएको हो ।
बंगलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तय्यबले मंगलबार फेसबुकमार्फत स्टारलिंक सुरु भएको जानकारी दिए । “सोमबार दिउँसो मलाई फोनमार्फत जानकारी दिइयो, मंगलबार बिहान सेवा सुरु भएको पुष्टि भयो,” उनले लेखेका छन् ।
स्टारलिंकले पनि आफ्नो एक्स अकाउन्टमार्फत सेवा सुरुवातको जानकारी दिएको छ ।
बंगलादेशमा प्रारम्भिक चरणमा ‘स्टारलिंक रेसिडेन्स’ र ‘रेसिडेन्स लाइट’ नामका दुई इन्टरनेट योजना उपलब्ध हुनेछन् । ती योजनाको मासिक शुल्क क्रमशः ६,००० (७,२०० रुपैयाँ) र ४,२०० टका (५,०४० रुपैयाँ ) तोकिएको छ । यद्यपि, सेवा सुरु गर्न एक पटकको सेटअप उपकरण शुल्कस्वरूप ४७,००० टका (करिब नेपाली रुपैयाँ ५६,४००) तिर्नुपर्नेछ ।
स्टारलिंकले अबदेखि बंगलादेशका ग्राहकले तुरुन्तै सेवा अर्डर गर्नसक्ने जनाएको छ । यसअन्तर्गत कम्पनीले कुनै डेटा लिमिट र स्पिडको सीमा नराखी उच्चगतिको इन्टरनेट उपलब्ध गराउने वाचा गरेको छ । रिपोर्टअनुसार इन्टरनेटको स्पिड ३०० एमबीपीएससम्म पुग्न सक्छ ।
ताय्येबका अनुसार यो सेवा महँगो भएपनि गुणस्तरीय र भरपर्दो इन्टरनेट चाहने ग्राहकका लागि वैकल्पिक समाधान बन्नेछ । “सरकारको ९० दिनभित्र सेवा सुरु गर्ने लक्ष्य पनि यससँगै पूरा भएको छ,” उनले भने ।
यो सेवा व्यक्तिगत प्रयोगकर्तासँगै व्यावसायिक क्षेत्रका लागि पनि उपयोगी हुने विश्वास गरिएको छ । “अब फाइबर इन्टरनेट नपुगेका क्षेत्रहरूमा कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्न सक्नेछन् । एनजीओ, फ्रिलान्सर र उद्यमीहरूलाई वर्षभरि अवरोधबिना इन्टरनेटको फाइदा मिल्नेछ,” ताय्येबले अगाडि भने ।
स्टारलिंकले नन-जिओस्टेसनरी अर्बिटमा रहेका स्याटलाइटहरूको माध्यमबाट सेवा दिनेछ । यसका कारण भौतिक पूर्वाधार पुग्न नसकेका स्थानमा समेत इन्टरनेट सुविधा पुर्याउन सम्भव हुने बताइएको छ ।
बंगलादेश सरकारले स्टारलिंकलाई अस्थायी अनुमति दिएको हो ।