close

फोनको सुरक्षाका लागि आजै त्याग्नुहोस् यी ४ भ्रम

टेकपाना टेकपाना

चैत ५, २०७८ २१:५२

फोनको सुरक्षाका लागि आजै त्याग्नुहोस् यी ४ भ्रम

काठमाडौं । हामीले हाम्रा रहर पुरा गर्न फोन, ल्यापटप र टिभीजस्ता महङ्गा सामान प्रयोग गरिरहेका हुन्छौं । किनिसकेपछि ती कुरामा आफ्नो छुट्टै लगाव हुनु स्वभाविक नै हो । अनि कतिपय अवस्थामा सामान्य कुरामा ध्यान नदिँदा हाम्रा ग्याजेटहरू बिग्रिरहेका हुनसक्छन् ।

भौतिक कमजोरीबाट ग्याजेट नबिग्रियोस् भन्नका लागि त सबैभन्दा उपयुक्त विधि नै सतर्कता अपनाउनु हो । यसबाहेक ग्याजेट बचाउन तपाईंले केही सुरक्षाका उपायहरू अपनाउन पर्छ ।

त्यसबाहेक तपाईँका कुन कुन सामान्य क्रियाकलापले ती ग्याजेटहरू बिगारिरहेका छन् भन्ने विषयमा चर्चा गरौँ ।

१. धेरै चार्ज गर्ने बानी

हामीमध्ये कतिपयलाई आफ्ना ग्याजेट धेरै चार्ज गर्दा राम्रो हुन्छ भन्ने भ्रम हुन्छ । तर, यही बानीले ग्याजेट बिगार्छ भन्ने कुराबारे सबैलाई जानकारी नहुन सक्छ ।

एप्पलका अनुसार यदि तपाईंले फुल चार्ज गरिसके पनि चार्जबाट फोन वा अन्य ग्याजेट निकाल्ने गर्नुभएको छैन भने त्यसले ब्याट्री हेल्थमा समस्या पुर्‍याउँछ ।

एन्ड्रोइड फोन उत्पादक कम्पनी सामसङले फोन धेरै समयसम्म वा रातभर चार्जमा छोड्न नहुने बताएको छ । त्यस्तै ह्वावेले फोन ३० देखि ७० प्रतिशतसम्म चार्ज गर्नुले ब्याट्री लाइफ लामो समयसम्म रहन्छ ।

फोन चार्ज कम (low) पनि हुनु हुँदैन र पूर्ण (Full)  पनि हुनु हुँदैन । औषत रूपमा फोन ३० देखि ९० प्रतिशत  बीचमा हुँदा लामो समयसम्म ब्याट्री सकारात्मक प्रभाव पार्छ ।

२.  सस्तो सामग्रीमा आकर्षण

यदि तपाईंको फाेनको चार्जर हरायो भने के गर्नुहुन्छ ? सायद सस्तो किन्न खोज्नुहुन्छ होला वा तपाईंले चार्जर लिने ठाउँमा नन-ब्रान्डेड चार्जर हुनसक्छन् । सस्तो वा भनौं नक्कली चार्जर किन्नुले केही पैसा त बचाउन सकिएला, तर त्यसले ब्याट्रीमा पार्ने असर निकै नै भयावह हुन्छ ।

तपाईंको ग्याजेटको ब्रान्डले सस्तो चार्जर सपोर्ट गरे पनि, ग्याजेटलाई कति भोल्टेज आवश्यक पर्छ त्यही अनुसारको चार्जर पाइँदैन ।

कम गुणस्तरका चार्जरले ग्याजेटलाई मात्र नभई तपाईंको सुरक्षाका लागि पनि जोखिमपूर्ण भइदिन सक्छ । गुणस्तरहित चार्जर प्रयोग गर्दा करेन्ट लाग्ने, ब्याट्री विस्फोट हुने जस्ता धेरै घटना हुने गरेका छन् ।

३. तपाईंको लापरवाही

आजका केही फोन तथा ग्याजेटहरू निकै नै उन्नत प्रविधिबाट निर्मित छन् । जसले गर्दा घाम, पानी, धुवाँ धुलोबाट फोन तथा ग्याजेटमा केही समस्या नआउन सक्छ । ग्याजेटका यस्ता फिचरले प्रयोगकर्ता झनै लापरवाही गर्ने भएका छन् ।

आफ्नो फोन कस्तो ठाउँमा राखेको छ, त्यो कुराले पनि फोनलाई निकै प्रभाव पारेको हुन्छ । यदि तातो ठाउँमा राखेको छ भने त्यसको फोनको ब्याट्रीमा समस्या त ल्याउँछ नै साथै त्यसमा भएका डेटा पनि हराउन वा बिग्रिन सक्छन् ।

अत्याधिक चिसो पनि फोनका लागि राम्रो होइन । लिथियम-आयन ब्याट्री धेरै चिसो तापक्रममा भयो भने विद्युत डिस्चार्ज हुन छाड्छ । साथसथै डिस्प्लेमा समस्या आउने, डिस्प्ले ग्लास क्र्याक हुने जस्ता समस्या आउन सक्छ ।

४.  ग्याजेटमा गरिएका अनावश्यक काम

तपाईँका ग्याजेटहरूमा धुलो छ भने चम्किलो बनाउन के गर्नुहुन्छ ? सयाद कुनै वस्तुले त्यसलाई सफा गर्न थाल्नुहुन्छ होला ।  त्यसरी सफा गर्दा बाहिर चम्किलो देखिएला । तर त्यसभित्र पसेको धुलोले ग्याजेटलाई धेरै असर गरेको हुन्छ ।

त्यसका लागि निम्न कुरामा ध्यान दिनपर्ने हुन्छ ।

  • आइसोप्रोपाएल अल्कोहल (Isopropyl alcohol) को प्रयोग
  • सफा गर्दा नरम लुगा प्रयोग गर्ने
  • नरम टुथब्रश प्रयोग गर्ने
  • वा बजारमा पाइने अन्य लिक्विड प्रयोग गर्ने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३