close

गगन थापामाथि सञ्चारमन्त्री बास्कोटाको कटाक्षः तथ्य लुकाएर भ्रम छर्न खोज्ने ?

टेकपाना टेकपाना

पुस १८, २०७६ १८:१८

गगन थापामाथि सञ्चारमन्त्री बास्कोटाको कटाक्षः तथ्य लुकाएर भ्रम छर्न खोज्ने ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापामाथि तीखो कटाक्ष गरेका छन् । आईटी विधेयकलाई लिएर केही दिन अघि थापाले फेसबुक लाइभ मार्फत गरेको टिप्पणीको खण्डनमा मन्त्री बास्कोटाले तथ्य लुकाएर भ्रम छर्न खोजिएको रुपमा अर्थ्याएका छन् ।

गत सोमबार नेपाली कांग्रेसका युवा नेता गगन थापाले फेसबुक लाइभ मार्फत सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकको विषयमा टिप्पणी गरे । उनले जुन रुपमा विधेयक अघि बढेको छ र त्यहि रुपमा संसदबाट पारित भए नागरिकको संवैधानिक अधिकार र आधारभुत अधिकार हनन् हुने उल्लेख गरे ।

‘म आफै सांसद हुँ । सांसदको नाताले सामाजिक सञ्जालमा प्रश्न उठाउनुको साटो संसदमै यो विषयमा किन प्रश्न उठाईएन भन्ने लाग्ला’, उनले भिडियो लाइभमा भनेका छन्, ‘मैले आफ्नोतर्फबाट संसदमा समय लिएरै आवश्यक परिमार्जनको लागि आग्रह गरेको हुँ । संसदबाट विधेयक समितिमा गयो । समितिमा पनि आफ्नो तर्फबाट परिमार्जनका विषय उठाएको थिएँ । तर हामीले उठाएका विषयको सुनुवाई भएन । बहुमतका आधारमा पास गरियो ।’

संसदीय समितिबाट पारित भएसँगै विधेयक संसदमा पुगेको छ । सरकारले चाहेको अवस्थामा विधेय पुर्ण संसदबाट समेत जस्ताको त्यस्तै रुपमा बहुमतबाट पारित हुन सक्ने अवस्था छ ।

सामाजिक सञ्जालमा हुने गालि बेइज्जतिको विषय यो विद्ययकमा समेटिएको छ । त्यस्ता विषय फौंजदारी संहिताले समेटेको भन्दै थापाले र्आइटी विद्येयकमा ५ वर्षको कैद र १५ लाखसम्मको जरिवानाको विषय समेट्न आवश्यक नभएको तर्क प्रस्तुत गरेका छन् ।

उनले उदाहरण दिँदै भनेका छन्, ‘अहिले गोकर्ण रिसोर्टको विषय आएको छ । त्यसमा प्रधानमन्त्रीको फोटोसँग यतिको फोटो जोडेर केही नकारात्मक कार्टुन बनाइयो र सामाजिक सञ्जालमा पोष्ट गरियो भने त्यो प्रधानमन्त्रीलाई जिस्क्याएको मानिन्छ । त्यसको सजाय १५ लाख जरिवाना र पाँच वर्ष कैद हुने भयो।’

त्यतिमात्रै होइन उनले विधेयकमा इन्टरनेट सेवा प्रदायकलाई समस्यामा पार्न खोजिएको, साइबर सुरक्षाको विषयलाई प्राथमिकता नदिएको लगायतका विषय उठाएका छन् । यसैगरी सामाजिक सञ्जाल दर्ता हुनुपर्ने व्यवस्था समेत अस्वभाविक भएको उनको भनाई छ । ‘सामाजिक सञ्जालभित्र के पर्छ र कुन कुन दर्ता हुनुपर्ने हो त्यो नै आधारहीन छ ।’

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्री बास्कोटाले नामै नलिएरै सांसद थापाको टिप्पणीको खण्डन गरे । उनले सूचना प्रविधि बिधेयकका बारेमा तथ्यहरु छोप्ने र भ्रमहरु सिर्जना गर्ने प्रयास बताए । ‘तथ्याङ्कले करीब ९० लाख नेपालीले फेसबुक तथा ४० लाखले ट्वीटर चलाउँछन्,’ उनले भने, ‘हामिले ती सबै प्रयोगकर्ता दर्ता हुनपर्छ भनेको होइन । जसले भिडियो सन्देसहरु जारी गरेर भ्रम फिजाउँन खोजेका छन्, म त्यसलाई ठाडै खारेज गर्छु ।’

नेताहरुले बोल्दा कानूनी प्रबन्ध हेरेर मात्रै बोल्नुपर्ने मन्त्री बाँस्कोटाको भनाई थियो । बजार हल्लाको भरमा अपूरो दृष्टिकोणका भरमा नकुद्न आग्रह गर्दै उनले विधेयकको धारा १५ हेर्न अनुरोध गरे । ‘विधेयकमा कसैको बारेमा उजुरी परेको खण्डमा दसीप्रमाण तथा तत्थ्यको आधारमा अदालतले निर्णय गर्छ । सरकारले कारवाही गर्ने होइन,’ उनले भनेका छन् ।

जिस्क्याएको, होच्याएको, मानमर्दन गरेको भन्ने शब्द सरकारले सबलाई तह लगाउन ल्याएको भन्ने प्रचार गरिएको बाँस्कोटाले बताए । सरकारको चाहना हरेक नागरिकको सामाजिक सञ्जाल बेरोकतोक चलोस् भन्ने चाहेको भन्दै उनले भिडियो सन्देश जारी गर्ने र उनीहरुका पक्षधरले वास्तविकता लुकाएर भ्रम फिजाउन खोजेको आरोप लगाए ।

हप्काउने, जिस्काउने भन्दा अगाडि निरन्तर भन्ने शब्द रहेको र ह्यारेसमेन्ट गरेमा मात्रै लागु हुने भन्दै उनले विधेयकको बचाउ गरेका छन् । ‘छोप्नुको पनि सीमा हुन्छ, के छोपिएको छ ? निरन्तर भन्ने शब्द खुुसुक्क निकालेर नागरिकलाई सरकार विरुद्ध उचाल्न सकिन्छ कि भनेर खोक्रो भिडिया सन्देश दिने प्रयास भएको छ । भिडियो सन्देशमार्फत आफूलाई जे लागेको छ, त्यो कुरा छ है भनेर भ्रम सिर्जना गर्ने खालका काम भयो ,’ मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भनेका छन्, ‘तथ्य कुरा खल्तीमा लुकाउने, अनि आफू अनुकुल यस्तो कानुन आयो भनेर भ्रमित गर्ने ?’

मन्त्री बाँस्कोटाले भिडियो सन्देश जारी गर्ने नेतालाई अपमान गर्दा कुनै व्यक्तिलाई उठबस गराइन्छ भने सामान्य जनतालाई अपमान गर्नेलाई पनि कानुन बमोजिम कारवाही हुनुपर्छ भनेर बिधेयक ल्याइएको उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०