close

टच स्क्रिनले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

चैत २५, २०७८ १२:३६

टच स्क्रिनले कसरी काम गर्छ ?

काठमाडौं । हामी सबैका हातमा टच स्क्रिन फोन हुनु सामान्य जस्तै भइसकेको छ । जसरी फोनले टच गरेकै (छोएकै) भरमा हामीले चाहेका काम गर्न सक्छ, त्यसरी नै अन्य थुप्रै डिभाइस जस्तैः टच वाच, स्क्रिन टच कम्प्युटरले पनि काम गरिरहेका हुन्छन् । आज हामी टच स्क्रिन के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा चर्चा गर्छौं ।

अहिले विकास भइरहेको प्रविधि मध्यको एक हो टच स्क्रिन प्रविधि । अहिले जति पनि फोनहरू विकास भएका छन्, त्यसमा टच स्क्रिन फोन बढी निर्माण भइरहेका छन् । अहिले पहिलेको जस्ता छुट्टै स्क्रिन र किप्याड भएका फोन कमै मात्र उपलब्ध छन् । फोन बाहेक अहिले टिभी, घडी वा अन्य उपकरण पनि टच स्क्रिन प्रविधिमा काम गर्ने गरी विकास भइसकेका छन् ।

हामीले हाम्रो स्मार्ट फोनमा बाहेक टच स्क्रिन प्रविधि स्मार्ट वाच, स्मार्ट टिभी, कम्प्युटर, एटीएम मसिन आदिमा देखिरहेका हुन्छौँ । अहिले युग नै टच स्क्रिन प्रविधिमा आधारित छ । यसरी सारा युग नै राज गर्ने टच स्क्रिन प्रविधि अस्तित्वमा कसरी आइपुग्यो होला ?  टच स्क्रिन प्रविधिको अवधारणा कहाँबाट आएको हुनसक्छ ?

टच स्क्रिनको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसलाई उपयोग गर्न निकै नै सहज छ । कुनै पनि काम गर्नका लागि डिभाइसको स्क्रिनमा टच गरिदिए पुग्छ । यसको उपयोग हामीले हाम्रो दैनिक जीवनमा गरिरहे पनि यसका बारेमा जानकारी नहुन सक्छ । टच स्क्रिन प्रविधिबारे बुझेको भए पनि यसले कसरी काम गर्छ भन्ने बुझाई नहुन सक्छ ।

टच स्क्रिन के हो ?

टच स्क्रिन एक विद्युतीय भिज्युअल डिस्प्ले हो । जसलाई प्रयोगकर्ताले छोएर डिभाइसको स्क्रिनलाई नियन्त्रणमा लिन सक्छन् । साधारण रूपमा बुझ्नु पर्दा टच स्क्रिन त्यस्तो स्क्रिन हो जसलाई छोएपछि त्यसले काम गर्न थाल्छ । वा जसमा काम गर्नका लागि बिना कुनै बटन प्रयोग गरी स्क्रिनमा छोएर काम गर्न सकिन्छ ।

जसको स्क्रिनमा छुनासाथै काम गर्छ त्यसैलाई टच स्क्रिन भनिन्छ । टच स्क्रिनको प्रयोग यति सामान्य बनिसकेको छ कि यसलाई अहिले प्रायः जो कोहीले प्रयोग गरिरहेका हुन्छन् । फोन, घडी, कम्प्युटर, ट्याब्लेट जस्ता डिभाइस उत्पादन गरिरहेका हरेक कम्पनी स्क्रिन टच प्रविधिको प्रयोग व्यापक रूपमा गरिरहेका छन् ।

टच स्रिनले एउटा इनपुट डिभाइस जस्तो काम गर्छ । जसमा अन्तर्क्रिया गर्न प्रयोगकर्ताले स्क्रिनमा भएका अप्सन वा अक्षरमा छुनु पर्ने हुन्छ । स्क्रिनमा टच गरिसकेपछि त्यसमा प्रेसर पर्छ । त्यसपछि सो डिभाइसले त्यही प्रेसरलाई आधार बनाई काम गर्ने गर्छ ।

पहिले हामीलाई कुनै पनि डिभाइसमा काम गर्नका लागि माउस, किबोर्ड वा किप्याडको सहायता लिन पर्ने हुन्थ्यो । अहिले पनि कम्प्युटरका सन्दर्भमा धेरै मानिसहरू माउस र किबोर्ड नै प्रयोग गरेर काम गरिरहेका हुन्छन् ।

टच स्क्रिनको इतिहास

टच स्क्रिन अवधारणा संसारमा सबैभन्दा पहिले सन् १९६० मा ई. ए. जोनसनले ल्याएका थिए । त्यसपछि टच स्क्रिनलाई लिएर अनेक खोज, अनसन्धान तथा परीक्षण हुन थाले । केही वर्षको अनुसन्धानपछि सन् १९७० मा फ्रेन्क बेक र बेन्ट स्टम्पद्वारा टच स्क्रिन प्रविधि सार्वजनिक भयो ।

टच स्क्रिन प्रविधि सार्वजनिक भएपछि  त्यस प्रविधिमा नियमित प्रगति हुन थाल्यो । टच स्क्रिन पछिल्ला केही वर्षदेखि अत्याधिक प्रयोग हुन थालेको छ । अहिले एड्भान्स्ड टच स्क्रिन प्रविधिको प्रयोग अत्यन्तै धेरै हुन थालेको छ । उत्पादक कम्पनीहरू आफ्ना सबैजसो प्रविधिमा टच स्क्रिन प्रविधि प्रयोग गर्न थालेका छन् ।

टच स्क्रिनले कसरी काम गर्छ ?

स्क्रिन टच प्रविधि अहिले हरेक क्षेत्रमा उत्तिकै महत्वपूर्ण र उपयोगी छ । स्क्रिन टच प्रविधि विभिन्न प्रकारको हुन्छ । जस्तै इन्फ्रारेड, रेसेस्टिभ, क्यापासिटिभ र सर्फेस वेभ । स्मार्टफोनमा रेसिस्टिभ टच स्क्रिन र क्यापासिटिभ टच स्क्रिन अधिक प्रयोग हुन्छन् । मोबाइल फोनमा यि दुईमध्ये कुनै एक टच स्क्रिन प्रयोग गरिन्छ भने बाँकी कम्प्युटर, ल्याप्टप जस्ता डिभाइसमा प्रयोग गरिन्छ । मोबाइलमा काम गर्ने दुई प्रकारका टच स्क्रिनबारे चर्चा गरौँ ।

रेसिस्टिभ स्क्रिन

रेसिस्टिभ टच स्क्रिन, यसको नामबाटै प्रष्ट हुन्छ कि यो तपाईंले गरेका टच रोक्ने प्रयास गर्छ । तपाईंले फोनको स्क्रिनमा छुनु भयो भन्ने स्क्रिन थोरै लच्किएको अनुभव हुन्छ । यो एकदमै सुक्ष्म कुरा हो यसलाई हामीले दैनिकजसो प्रयोग गरिरहने भएकाले त्यस्तो अनुभव हुँदैन । स्क्रिन लच्किएपछि हामीले गर्न चाहेका काम त्यहीबाट सुरु हुन्छन् ।

त्यस्तै यस स्क्रिनमा दुई तह हुन्छन् । एउटा रेसिस्टिभ तह र अर्को हुन्छ कन्डक्टिभ तह । ती दुई तहबीच साना साना डट समावेस हुन्छन् । जसले ति दुई तहलाई छुट्टाएका हुन्छन् । रेसिस्टिभ तहको सबैभन्दा माथि लचिलो तह हुन्छ । यो तह पोलिथिनबाट बनेको हुन्छ । त्यही लचिलो तहको तलपट्टि कडा तह हुन्छ जुन काँचबाट बनेको हुन्छ ।

यि दुईलाई इन्सुलेटिङ नोड्सले टच स्क्रिन कन्ट्रोलरसँग जोडेको हुन्छ । कन्डक्टिङ लेयरमा जतिबेलै विद्युत प्रवाह भइरहेको हुन्छ । त्यस्तै जब हामी रेसिस्टिभ लेयरमा टच गर्छौ तब रेसिस्टिभ लेयरको जुन भागमा बढी चाप परेको हुन्छ त्यो भाग कन्डक्टिङ लेयरसँग गएर जोडिन्छ ।

त्यो लेयरमा भएको करेन्टमा केही परिवर्तन आउँछ जसलाई कहाँ टच भयो भन्ने कुरा थाहा हुन्छ । त्यसपछि के निर्देशन दिएको हो त्यो कन्ट्रोलरमा पुग्छ जसलाई आधार बनाई सिस्टमले काम गर्ने गर्छ गर्छ । रेसिस्टिभ टच स्क्रिन पुरानो फोनहरूमा प्रयोग गरिन्थ्यो । त्यस समयमा रेसिस्टिभ स्क्रिन निकै परिचित थियो ।

तर, त्यसले ढिलो काम गर्न थालेपछि यसको प्रयोग घट्न थाल्यो । त्यो धेरै सेन्सिटिभ पनि थिएन । अहिले यो स्क्रिन एटीएम मेसिनमा बढी प्रयोग गरिन्छ । एटीएममा नगद लिन जाँदा मेसिनमा टच गरेको अलि समयपछि काम गरेको अनुभव गर्नुभएको छ भने बुझ्नुस त्यसमा रेसिस्टिभ स्क्रिन प्रयोग गरिएको छ ।

यसको फाइदा के हुन्छ भने यसलाई बाहिरको तापक्रमले केही फरक पार्दैन । त्यसैले ढिलो काम गर्ने भए पनि त्यस्ता प्रयोजनका लागि रेसिस्टिभ स्क्रिन बढी प्रयोग गरिन्छ ।

क्यापासिटिभ स्क्रिन

रेसिस्टिभ स्क्रिनको विपरीत क्यापासिटिभ स्क्रिनले विद्युत प्रवाहका लागि औँलाको सहयोग लिँदैन । त्यसको सट्टा क्यावासिटिभ स्क्रिन त्यस्तो तत्त्वको सहयोग लिन्छ जसले इलेक्ट्रिक चाललाई भण्डारण गरेर राख्छ । हाम्रो शरीर बिजुलीको राम्रो सुचालक हो । यसको अर्थ हुन्छ हाम्रो शरीरमा बिजुली सहजै प्रसारण हुन्छ । हामी इलेक्ट्रिक चार्ज लिन पनि सक्छौँ अनि दिन पनि ।

क्यापासिटिभ टच स्क्रिन प्यानल एउटा यस्तो तत्वले लेपिएको हुन्छ जसले इलेक्ट्रिक चार्जलाई भण्डारण गरेको हुन्छ । क्यापासिटिभ टच स्क्रिन कुनै पनि व्यक्तिको शरीरमा उत्पन्न हुने विद्युत महसुस गर्छ । यो माथिबाट ग्लास र तलबाट कन्डक्टिभ सामाग्रीले ढाकिएको हुन्छ ।

जब पनि हामी डिभाइसको स्क्रिनमा टच गर्छौँ तब थोरै मात्रमा हाम्रो औँलाको माध्यमबाट त्यहाँ विद्युत उत्पन्न हुन्छ । प्यानलको चारै कुनामा कन्ट्रोलर लगाइएको हुन्छ जसले इलेक्ट्रिक चार्जमा हुने परिवर्तनलाई मापन गरेर कहाँ टच भयो भन्ने कुरा पत्ता लगाउँछ । क्यापासिटिभ स्क्रिन औंलाले छुँदा मात्र काम गर्छ ।

यसले प्लास्टिकको पन्जा प्रयोग गरेर टच गर्दा काम गर्दैन । किनभने हाम्रो औंलाले टच गर्दा त्यहाँ चार्ज उत्पन्न हुन्छ । तर, प्लास्टिकको पन्जा प्रयोग गर्दा त्यसले चार्ज फ्लो हुन पाउँदैन । अहिले टच स्क्रिनमा काम गर्नका लागि विभिन्न उपकरणहरू विकास भइसकेका छन् जसले इलेक्ट्रिक चार्ज फ्लो गर्छ ।

रेसिस्टिभ स्क्रिन र टच स्क्रिनमा के भिन्नता छ ?

यदि हामीले रेसिस्टिभ स्क्रिन र क्यापासिटिभ स्क्रिनबीच तुलना गर्न थाल्यौँ भने क्यापासिटिभ स्क्रिन निकै नै प्रभावशाली मानिन्छ । रेसिस्टिभ स्क्रिनले औँलाबाट आएको बढी प्रेसलाई लिएर काम गर्ने भएकाले त्यसको प्रयोग गर्दा बढी चाप दिएर छुनुपर्छ । तर, क्यासिटिभ स्क्रिनलाई यसरी डिजाइन गरिएको हुन्छ कि यसलाई विस्तारै छुनासाथ काम गर्छ ।

रेसिस्टिभ स्क्रिनको तुलनामा क्यापासिटिभ स्क्रिनले तीब्र गतिमा काम गर्ने भएकाले यसलाई अझ प्रभावकारी मानिन्छ । क्यापासिटिभ स्क्रिन मोबाइल, ट्याब्लेट, कम्प्युटरमा प्रयोग गरिन्छ भने रेसिस्टिभ स्क्रिन एटीएम मेसिन, बिल क्रियटर मेसिन वा सिग्नेचर क्रियटिङ डिभाइसमा प्रयोग गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५