काठमाडौं । भोलि शुक्रबारदेखि कुमारीपाटीस्थित भिरिन्ची कलेजमा दाेस्राे संस्करणकाे आईसीटी मेला हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलामा आईसीटीसँग सम्बन्धित विभिन्न परियोजना प्रस्तुत हुने कलेजले जनाएकाे छ ।
साथै गेम, लाइभ म्युजिक, रोबो र्याम्पलगायतका कार्यक्रम पनि मेलामा समावेश गरिएकाे छ । दुई वर्षअघि कलेजले पहिलाे पटक आईसीटी मेला गरेको थियो । कोभिड-१९ का कारण रोकिँदै आएको मेला नयाँ स्वरूपमा आयोजना गर्न लागिएकाे कलेजका अध्यक्ष तथा सीईओ आकाश सिम्खडाले बताए ।
अघिल्लो कार्यक्रममा विद्यार्थीले बनाएको सफ्टवेयरमा केन्द्रित भएको मेला यो वर्ष विभिन्न कार्यक्रममा साथ आयोजना हुने उनले बताए । मेलामा यो वर्ष २० भन्दा बढी आईसीटी सोलुसन प्रस्तुत हुनेछन् ।
मानिसको दैनिक जीवनलाई सहजता प्रदान गर्न इन्टरनेट अफ थिङ्स (आईओटी) लाई जोडेर यी परियोजना प्रस्तुत हुने उनले बताए । जसमा विद्यार्थीले तयार पारेको स्मार्ट लक, स्मार्ट हाउस सोलुसन जस्ता परियाेजना समावेश हुनेछन् ।
साथै मेलाको अवधिमा आईसीटी आईडिया हन्ट, रोबो र्याम्प रेस अर्थात रोबट रेस प्रतिस्पर्धा, र्यापिड कोडिङ च्यालेन्ज पनि आयोजन हुनेछ ।
मेलाका अवलाेकनकर्तालाई लक्षित गरेर होलोग्राफी डिस्प्ले, इन्फिनिटी मिरर रुम, एलईडी क्युब, आईसीटी गेम समेत रहनेछन् । त्यस्तै मेलामा फुड स्टल, लाइभ म्युजिक, स्क्युड गेम समेत रहने जनाइएकाे छ ।
शनिबार ‘च्याम्पियन अन आईसीटी इनोभेसन थ्रु एकेडेमिया’ विषयमा प्यानल छलफल समेत रहेको छ । जसमा युथ इनोभेटिभ ल्याबका कार्यकारी निर्देशक प्रदिप खतिवडा, गृह मन्त्रालयका एमआईएस विज्ञ अशोक शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणकी सहायक निर्देशक रोजा किरण बासुकला रहनेछन् ।
त्यस्तै कार्यक्रममा विशेष वक्ताको रुपमा नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकाल रहनेछन् ।
भिरिन्ची कलेज नेपालमा ब्याचलर अफ इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) अध्यापन गराउने एक मात्रै कलेज हो ।
कलेजले दुई वर्षे उद्यमशीलतामा आधारित एमबीए प्रोग्राम समेत सञ्चालन गरिरहेको छ ।
‘एसिया ई विश्वविद्यालय’ सँगको सहकार्यमा सञ्चालनमा रहेको कलेजले आफ्ना विद्यार्थी तथा आईसीटीमा काम गरिरहेकालाई प्रोत्साहन गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।
निःशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे मेलामा विद्यार्थी, शिक्षा क्षेत्रमा संलग्न व्यक्ति तथा अन्य जोकोहीले सहभागीता जनाउन पाउनेछन् ।