close

अब सबै टोल फ्री नम्बर १८१० बाट सुरु हुने

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १४:१५

अब सबै टोल फ्री नम्बर १८१० बाट सुरु हुने

काठमाडौं । अब नेपालमा उपलब्ध हुने सम्पूर्ण टोल फ्री नम्बर १८१० बाट सुरु हुने भएकाे छ । यसअघिसम्म नेपाल टेलिकमले टोल फ्रीको नाममा उपलब्ध गराउँदै आएको १६६० लाई विस्थापित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले १८१० बाट सुरू हुने गरी टाेल फ्री नम्बरकाे कानूनी रूप दिएको हो ।

योसँगै अब नेपालमा उपलब्ध हुने टोल फ्री नम्बर १८१० बाट सुरु हुनेछ । प्राधिकरणको गत चैत ११ गते बसेको बोर्ड बैठकले शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ मा संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको छ ।

नयाँ संशोधित कार्यविधि अनुसार अब राष्ट्रिय र अन्तर्राष्ट्रिय टोल फ्री नम्बरका लागि फरक नम्बरिङ रेन्ज उपलब्ध हुने जनाइएको छ ।

‘यसअघिसम्म १६६० बाट सुरु हुँदै आएको टोल फ्री नम्बर नियामकका हिसाबमा टोल फ्री नम्बर नै थिएन,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, ‘त्यो नेपाल टेलिकमले दिँदै आएको नम्बर मात्रै थियो । अब भने हामीले सबै सेवा प्रदायकले १८१० बाट सुरु भएको ११ अंककै नम्बर दिनुपर्ने व्यवस्था गरेका छौं ।’

योसँगै टोल फ्री नम्बर अब १८१० बाट सुरु हुनेछ भने त्यसपछिको एक अंक अपरेटर कोड हुनेछ । बाँकी रहेको ६ अंक सब्सक्राइबर नम्बर अर्थात् टोल फ्री उपलब्ध गराउने संस्थालाई जनाउने नम्बर हुनेछ ।

त्यस्तै विदेशी कम्पनीले नेपाली ग्राहकलाई लक्षित गरेर टोल फ्री नम्बर उपलब्ध गराउन चाहेको खण्डमा त्यस्तो टोल फ्री नम्बर १८०० बाट सुरु हुनेछ । भने बाँकी रहेको सम्पूर्ण नम्बर सस्क्राइबर नम्बर हुनेछ ।

यसरी दिइएको टोल फ्री उपलब्ध गराइएको टोल फ्री नम्बरमा एक सेवा प्रदायकको ग्राहकले अर्को सेवा प्रदायकले प्रदान गरेको टोल फ्री नम्बरमा सम्पर्क गर्न मिल्ने गरी आवश्यक अन्तरआवद्धता (इन्टरकनेक्सन) को व्यवस्था समेत गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

योसँगै अब एनसेलले उपलब्ध गराएको टोल फ्री नम्बरमा नेपाल टेलिकम र स्मार्ट टेलिकमबाट कल गर्न सकिनेछ । त्यसरी कल गर्दा उपभोक्ताले कुनै शुल्क बुझाउनु पर्नेछैन ।

किनभने हालसम्म नेपालमा टोल फ्री नम्बर कुन कम्पनीले उपलब्ध गराएको छ भन्दा पनि कुन टेलिकम सेवाप्रदायकको नेटवर्कबाट लिइएको हो भन्ने विषयले महत्व राख्दै आएको छ ।

यदि कुनै कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उसका एनसेल तथा स्मार्टसेल प्रयोग गर्ने ग्राहकले उक्त टोल फ्री नम्बरमा कल गर्न पाउँदैन थिए ।

एनसेलले ९८ बाट सुरु भएको १० नम्बर रेञ्जमै टोल फ्री नम्बर उपलब्ध गराएकाले टेलिकमबाट फोन त लाग्न सक्छ । तर, त्यसका लागि ग्राहकको सिमबाटै पैसा काटिन्छ ।

कसैकोमा कल नलाग्ने, अनि कसैकोमा कल लागिहाले पनि पैसा लाग्ने भएपछि यस्तो सिस्टम वास्तवमा टोल फ्री नै नभएको तर्क दिँदै आएको प्राधिकरणले यसलाई व्यवस्थित गर्नेगरी नयाँ व्यवस्था लागू गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२