काठमाडौं । चार्जिङ पोर्ट समयानुसार परिमार्जित हुँदै आएको छ । विगतमा हरेक मोबाइल ब्राण्डले आफ्नै शैलीका चार्जिङ पोर्ट ल्याउने गर्थे । अहिले सबैजसो ब्राण्डले समान किसिमको चार्जिङ पोर्ट उपलब्ध गराउन थालेका छन् ।
विभिन्न फोन टाइप-सी चार्जिङ पोर्टमा रूपान्तरण भइरहेका छन् । अरूभन्दा भिन्नै चार्जिङ पोर्ट (लाइटनिङ पोर्ट) भएको एप्पल पनि टाइप-सी पोर्टमा काम गरिरहेकाे छ ।
अहिले प्रायः सबै फोनमा टाइप-सी चार्जिङ पोर्ट आएको हुन्छ । २०१५ मा बजारमा आएको टाइप-सी पोर्ट विशेषगरी एन्ड्रोइड स्मार्टफोनमा चार्ज गर्न वा डेटा ट्रान्सफर गर्न प्रयोग गर्ने गरिन्थ्यो । यसका माध्यमबाट थप अन्य कामहरू गर्न सकिन्छ ।
टाइप-सी पोर्ट उल्टो वा सुल्टो दुवै तर्फबाट वा भनौँ १८० डिग्रीमा पर्योग गर्न सकिने भएकाले सहज हुने भएकाले धेरैको रोजाइमा पर्ने गर्छ । त्यसभन्दा पनि बढी यसका थुप्रै फाइदा हुने गर्छ ।
प्रायः टाइप-सी पोर्ट धेरैले कम्प्युटरमा डेटा ट्रान्सफर गर्न प्रयोग गरिएको हुन्छ । त्यसबाहेक अन्य के कुराका लागि टाइप-सि पोर्ट प्रयोग गर्न मिल्छ होला भन्ने जिज्ञासा हुन सक्छ ।
आज हामी टाइप-सी पोर्ट अन्य कुन प्रयोजनका लागि प्रयोग गरिन्छ भन्ने विषयमा चर्चा गर्छौँ । यूएसबी-सी पोर्ट फोनको डिस्प्लेलाई ठूलो स्क्रिन अथवा टिभीमा देखाउनुपर्यो भने प्रयोग गर्न सकिन्छ । त्यसका लागि तपाईंको टिभीमा सो फिचर सपोर्ट गर्ने हुनुपर्छ ।
सामसङ, मोटोरोला, ह्वावे, सोओमी लगायतका फोनले डेटा केबलका माध्यमबाट स्क्रिन मिररिङ फिचर सपोर्ट गर्ने गर्छन् ।
त्यस्तै टाइप-सी पोर्टका माध्यमबाट लोकल स्टोरेजमा एक्सेस गर्न सकिन्छ । तर, त्यसका लागि फ्लाश ड्राइभ र एक्सटर्नल ड्राइभहरू प्रयोग गरेको हुनुपर्छ । यसका माध्यमबाट तपाईंले छिटो फाइल ट्रान्सफर गर्न सक्नुहुन्छ ।
त्यस्तै तपाईंले यूएसबी पोर्टतर्फ मेमोरी कार्ड प्रयोग गर्नुभएको छ भने तपाईंले मेमोरी कार्डमा भएका फाइल आफ्नो डिभाइस वा डिभाइसमा भएका फाइल मेमोरी कार्डमा ट्रान्फर गर्न सक्नुहुन्छ ।
त्यस्तै टाइप-सी काम माध्यमबाट डिभाइसमा कीबोर्ड वा माउस पनि प्रयोग गर्न सकिन्छ ।