काठमाडौं । मोबाइल फोन र इन्टरनेटको प्रयोग व्यापक बढेसँगै अनलाइन पोर्टल र वेबसाइटको सङ्ख्या पनि दिनहुँ बढ्दो छ ।
इस्टाटिका अनुसार १९९१ देखि २०२१ सम्म इन्टरनेटमा १ अर्ब ८८ कराेडभन्दा बढी वेबसाइट दर्ता छन् । तर, त्यसमध्ये १५ प्रतिशतमात्रै सक्रिय छन् ।
नेपालमा पनि विभिन्न क्षेत्रका थुप्रै वेबसाइट छन् । आफूलाई उपयोगी लागेका वेबसाइटमा पढ्न वा सामग्री हेर्न हामी सामाजिक सञ्जाल चलाउने गर्छौँ । यदि तपाईं केही निश्चित अनलाइन पोर्टलका समाचार पढ्न सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने यो लेख तपाईंका लागि उपयुक्त हुन्छ ।
यस लेखमार्फत हामी कुनै पनि वेबसाइटलाई सजिलै मोबाइल एप्लिकेसन कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।
मोबाइल एप्लिकेसन बनाइसकेपछि तपाईंले सो वेबसाइटका सम्पूर्ण समाचार, लेख वा अन्य सामग्री मोबाइल एपबाटै हेर्न सक्नुहुन्छ ।
विशेषगरी कुनै मन परेका वेब पोर्टल आफूलाई उपयुक्त लागेको समयमा हेर्न, पढ्न वा सुन्नका लागि तपाईंले मोबाइल एप्लिकेसन बनाएर आफ्नो होम स्क्रिनमा राख्न सक्नुहुन्छ ।
कुनै मूलधारका मिडियाको मोबाइल एप्लिकेसन नै बनेको हुन्छ भने केहीको नबनेको हुनसक्छ । त्यस्तो अवस्थामा ती वेबसाइटको मोबाइल एप बनाउँदा घरीघरी सामाजिक सञ्जालबाट लिङ्कमा जानुपर्ने झन्झटबाट मुक्त भइन्छ ।
त्यसका लागि सबैभन्दा पहिले प्ले स्टाेरबाट यो एप डाउनलोड गर्नुहोस् । यसमा आफ्नो कुनै डेटा प्रयोग गर्नुनपर्ने भएकाले निर्धक्क डाउनलोड गर्नुहोस् ।
एप खुलिसकेपछि तलपट्टि सर्च अर टाइप यूआरएल (Search or type URL) लेखिएको बक्स देख्न सकिन्छ ।
त्यसमा तपाईंले एप बनाउन चाहेको कुनै पनि वेबसाइटको लिङ्क राख्नुहोस् ।
यदि तपाईंलाई कुनै पनि व्यक्ति वा मिडियाको फेसबुक पेज एप आवश्यक छ भने यो विधि अपनाउन सक्नुहुन्छ ।
तपाईंले कुनै पनि वेबसाइटको लिङ्क टाइप गरिसकेपछि सो वेबसाइट खुल्छ ।
त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि एड टु होम स्क्रिन मा ट्याप गर्नुहोस् र तल दायाँ कुनामा रहेको क्रियट बटनमा थिच्नुहोस्
यति गरी सक्नुभयो भने तपाईंको होम स्क्रिनमा सो वेबसाइटको एप तयार हुन्छ ।
यदि तपाईंले पहिले डाउनलोड गरेको एप हर्मिट अनइन्स्टल गर्नुभयो भने तपाईंले होम स्क्रिनमा बनाएका सबै एपहरू हराउँछन् । यसमा आवश्यकता अनुसार जतिवटा पनि एप बनाउन सकिन्छ ।