काठमाडौँ । टेलिकम कम्पनीहरूले नेपालमा विशेषगरी दुई किसिमका बिलिङ प्रणाली अपनाएका छन्, प्रिपेड र पोस्टपेड ।
प्रिपेड बिलिङअन्तर्गत तपाईंले कल, एसएमएस तथा डेटा प्रयोग गर्नुभएको समयमा नै बिल तयार हुन्छ र त्यस बापतको रकम तपाईँको ब्यालेन्सबाट कट्टा गरिन्छ ।
तर पोस्टपेड बिलिङ प्रक्रियामा भने तपाईँले प्रयोग गरेका कल, एसएमएस तथा डेटाको शुल्क बिल तयार नगरी लेखांकन गरिन्छ र महिनामा एकपटक कुनै दिनमात्र बिल तयार गरिन्छ ।
नेपालमा नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमका सिमबाट भ्वाइस कल, डेटा लगायतका सेवा लिन सकिन्छ ।त्यसैमा आफ्नो पोस्टपेड सिमलाई प्रिपेड बनाउन सकिन्छ कि सकिँदैन भन्ने धेरैको चासोको विषय हुनसक्छ ।
यसको कारण फरक–फरक हुनसक्छ । कतिपयलाई प्याकेज, कतिपयलाई सेवा नै मन नपर्न सक्छ । त्यसैले भारत, अमेरिका लगायतका प्रयोगकर्ता प्रिपेडबाट पोस्टपेड र पोस्टपेडबाट प्रिपेडमा रूपान्तरण भइरहेका हुन्छन् ।
तर, यो सेवा नेपालमा उपलब्ध छ कि छैन त ? आज हामी त्यसैको विषयमा यहाँ कुरा गर्दैछौ ।
प्रिपेडबाट पोस्टपेड र पोस्टपेडबाट प्रिपेडमा रूपान्तरण सेवाको विषयमा कुरा गर्नुअघि प्रिपेड सिम र पोस्टपेड सिमबीच रहेको फरक बुझ्न आवश्यक छ ।
प्रिपेड सिम
प्रिपेड सिमको अर्थ यसको नामबाट पनि थाहा पाउन सकिन्छ । प्रिपेडको अर्थ हो, सेवा लिनुअघि पैसा अनिवार्य भुक्तानी गर्नुपर्छ । तपाईंले जति डेटा लिनुहुन्छ वा पैसा जति रिचार्ज गर्नुहुन्छ त्यतिमात्र प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईंले आपतकालीन समयमा प्रिपेडबाट ऋण पनि लिन सक्नुहुन्छ । पोस्टपेड जस्तो प्रिपेड महंगो हुन्न । यसैकारण प्रिपेड धेरैले प्रयोग गर्छन् ।
पोस्टपेड सिम
पोस्टपेडमा तपाईंले आफूलाई चाहेजति फोन कल वा डेटा प्रयोग गर्न सक्नुहुन्छ । तर अन्तिममा ती सबैको पैसा तपाईंले भर्पाई गर्नुपर्ने हुन्छ । मासिक, वार्षिक रुपमा तपाईंले यसको पैसा भुक्तानी गर्न सक्नुहुन्छ ।
प्रिपेड र पोस्टपेडमा अफर पनि विभिन्न किसिमका हुन्छन् । ठूला ठूला कम्पनीले आफ्ना कर्मचारीहरूलाई विशेषगरी पोस्टपेड सिम वितरण गर्ने गर्छन् ।
पोस्टपेड सिममा कर्मचारीले महिनामा कति बिल उठायो, के केमा कल गर्यो भनेर ट्रयाक गर्न मिल्छ । तर प्रिपेडमा यो सम्भव हुन्न । पोस्टपेड सिम महंगो हुन्छ र यसमा प्लान हुन्छ ।
प्रिपेडमा सामान्यत एक सय, दुई सय, पाँच सय, हजार रुपैयाँका प्लान हुन्छन् । जबसम्म प्रयोगकर्ताले यी प्लान पुरा गर्दैनन्, तबसम्म उनीहरूलाई फाइदा हुन्न ।
पोस्टपेड सिम सामान्य मानिसहरूका लागि खासै प्रयोग हुँदैन ।
यसरी प्रिपेड र पोस्टपेडलाई बुझेपछि अब यहाँ हामी सेवा प्रदायकले उपलब्ध गराएको पोस्टपेड नम्बरलाई प्रिपेडमा परिवर्तन गर्न मिल्छ, मिल्दैन भन्ने विषयमा यहाँ जानकारी दिँदैछौं ।
नेपाल टेलिकम :
सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रिपेडबाट पोस्टपेड र पोस्टपेडबाट प्रिपेडमा रूपान्तरण गर्ने सकिने सुविधा उपलब्ध गराएको छैन ।
तर टेलिकम प्रयोगकर्ताले चाहेको खण्डमा आफ्नो सिमको पछाडिको पाँच अंक भने परिवर्तन गर्न सकिने सुविधा पाउँछन् ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार टेलिकमले पोस्टपेड र प्रिपेडका लागि नम्बर रेन्ज नै छुट्टै कायम गरेकाले परिवर्तनको सुविधा उपलब्ध गराइएकाे छैन ।
‘हामीले प्रिपेड र पोस्टपेडको नम्बर रेन्जलाई पूर्णरुपमा अलग्याएका छौं,’ उनले भने, ‘ प्रिपेड र पोस्टपेडमा रहेको नम्बर रेन्जलाई हालसम्म व्यवस्थित नै गर्दै आएका छौं । त्यो हुँदा परिवर्तन सम्भव छैन ।’
एनसेलः
एनसेलका प्रिपेड सिम प्रयोगकर्ताले पोष्टपेडमा परिवर्तन गरी सेवा लिन सक्छन् । किनभने एनसेलले पोस्टपेडका लागि भनेर छुट्टै नम्बर रेन्ज तय गरेको छैन ।
कम्पनीले ग्राहकको आवश्यकताअनुसार पोष्टपेड सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यो हुँदा ग्राहकले आवश्यक परेको खण्डमा आफ्नो प्रिपेड सिमलाई नै पोस्टपेडमा परिवर्तन गरी प्रयोग गर्न सक्छन् । तर, पोस्टपेड प्रयोगकर्ताले भने प्रिपेडमा सिम परिवर्तन गर्न मिल्दैन ।
स्मार्ट टेलिकम:
स्मार्ट टेलिकमले हाल प्रिपेड सिममात्रै उपलब्ध गराउँदै आएको छ ।