काठमाडौं । जब कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने कुरा आउँछ, तब हामी सानाे दायराभित्र रहेर त्यसको छनोट गरिरहेका हुन्छौं । विश्वमा पछिल्लो २० वर्षभित्र हेर्ने हो भने सीईओमा कुनै पनि कम्पनीको माथिल्लो पदमा रहेका व्यक्तिलाई बढी प्राथामिकतामा दिएकाे पाइन्छ ।
सीईओ नियुक्त गर्नुपर्यो भने प्रमुख सञ्चालन अधिकृत (सीओओ), प्रमुख प्रविधि अधिकृत (सीटीओ) रोजाइमा पर्ने गरेका छन् ।
तर, पछिल्लो समय प्रविधिमा आएको आमूल परिवर्तन र त्यसले ल्याएको रूपान्तरणले भने सीईओ नियुक्तिको मोडमा परिवर्तन ल्याइदिको छ ।
अझ विशेषगरी कोभिड-१९ पश्चात कम्पनीहरूको रोजाइमा प्राविधिक व्यक्ति नै सबैभन्दा बढी प्राथामिकतामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
यस्तोमा प्रमुख प्रविधि अधिकृत, प्रमुख सूचना अधिकृत भएर काम गरेका व्यक्ति सीईओको दाबेदारमा देखिएका छन्, जसको एउटा ज्वलन्त उदाहरण हुन् ट्वीटरका सीईओ पराग अग्रवाल ।
पराग अग्रवाल कम्पनीको सीईओ नियुक्त हुनुअघि कम्पनीमा सीटीओको रुपमा कार्यरत थिए । उनी सन् २०१७ देखि कम्पनीको सीटीओको रुपमा कार्यरत थिए ।
माइक्रोसफ्टका सत्य नाडेला अर्का उदाहरण हुन् । कम्पनीको कम्प्युटिङ प्लेटर्फम बनाउने क्लाउड एण्ड इन्टरप्राइज सेक्सनमा नेतृत्व गरिरहेका उनलाई कम्पनीले सीईओको रुपमा नियुक्त गरेको थियो ।
त्यस्तै कम्पनीमा सीटोओको रुपमा कार्यरत प्याट ग्लेनसिंगरलाई इन्टेलले कम्पनीको सीईओमा नियुक्त गरेको थियो ।
आईबीएमले पनि सोही बाटो पहिल्याएको छ । विभिन्न कम्पनीमा २० वर्षसम्म प्रविधिमा नेतृत्व गरेका अर्विन्द कृणालाई कम्पनीले सीईओको रुपमा नियुक्त गरेको छ ।
प्रविधिसँग सम्बन्धित कम्पनीहरूले मात्रै यसरी प्राविधिकलाई सीईओमा नियुक्त गरिरहेको छैनन् ।
अध्ययन अनुसार प्रविधि क्षेत्रभन्दा बाहिरी क्षेत्रले पनि विस्तारै प्राविधिकलाई नै बढी प्राथामिकता दिने गरेको पाइएको छ, जसको एउटा उदाहरण ‘वेबर’ हो ।
ग्रील उत्पादक कम्पनीले यसअघि सीटीओको रुपमा कार्यरत अलान मातुलालाई कम्पनीको सीईओमो नियुक्त गरेको छ ।
वेबर लगायतका अन्य पनि यस्ता धेरै कम्पनी जो प्रविधिसँग सम्बन्धित नभए पनि कम्पनीको सीईओमा भने प्राविधिक नियुक्त गरिरहेको पाइएको साे अध्ययनले उल्लेख गरेको छ ।