close

स्टार्टअप व्यवसायका लागि सहकारीबाट सहुलियत ऋण पाइने

टेकपाना टेकपाना

भदौ १५, २०७९ १३:४५

स्टार्टअप व्यवसायका लागि सहकारीबाट सहुलियत ऋण पाइने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषले स्टार्टअप व्यवसायका लागि सहकारी संस्थामार्फत सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बिना धितो दिइने सो ऋण प्रवाहका लागि सहकारीहरूलाई कोषको कार्यालयमा आवेदन दिन सूचना प्रकाशित गरिएकाे छ । स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चूडामणि तिमिल्सिनाले आगामी असोजसम्म सहकारीलाई सूचीकृत गरी ऋण प्रवाहका लागि रकम उपलब्ध गराउने बताए ।

कोषले मंगलबार धनगढीमा आयोजना गरेको “कर्जा कार्यविधिको मुख्य व्यवस्था सम्बन्धी सञ्चारकर्मीसँग साक्षात्कार कार्याक्रम’मा उनले २९ भदौसम्म सहकारीहरूले ऋण लिनका लागि आवेदन दिने समय निर्धारण गरिएको बताए ।

उक्त कोषले सहकारीलाई एक करोड ५० हजार रुपैयाँसम्म एक प्रतिशत व्याजमा ऋण पर्वाह गर्ने छ । त्यसपछि सहकारीहरूले स्टार्टअप व्यवसाय गर्न चाहने बेरोजगार युवालाई बढीमा ५ प्रतिशतसम्म ब्याजमा ऋण प्रवाह गर्नेछन् ।

व्यक्तिगत स्टार्टअप व्यवसाय गर्न ५ लाख र सामूहिक स्टार्टअप व्यवसाय गर्न १० लाख रुपैयाँ ऋण दिन सकिने गरी कर्जा कार्यविधि बनाइएको छ । कोषले चालू आर्थिक वर्षमा चार हजार जनालाई ऋण प्रवाह गर्ने र तीमध्ये ५०० जनालाई व्यावसायिक तालिम दिने लक्ष्य राखेको छ ।

उक्त कोषमा प्रदेश सरकारले २०७५/२०७६ मा विनियोजन गरेको एक अर्ब रुपैयाँ यस वर्ष कार्यन्वयन गरिने तिमिल्सिनाले जानकारी दिएका छन् । सहुलियत ऋण पाउनका लागि कोषले १२० प्रकारका व्यवसाय सूचीकृत गरेको छ ।

त्यसभित्र पर्ने व्यवसायीले मात्र स्टार्टअप ऋण पाउन सक्नेछन् । १२० प्रकारका व्यवसायमा कुन कुन व्यवसाय पर्छन् भन्ने कुरा सहकारीबाट बुझ्न सकिन्छ ।

कर्जा कार्यविधिमा ऋण प्रवाह गर्ने सहकारीको मापदण्ड कर्जाको सीमा निर्धारण गरिएको छ ।

कोषका अध्यक्ष तथा आर्थिक मामिलामन्त्री प्रकाश रावलले स्टार्टअप व्यवसाय गरी सकेपछि थप रोजगार सिर्जना गर्ने आधार प्रस्तुत गरेमा थप ५ लाख रुपैयाँ ऋण उपलब्ध गराउन सकिने व्यवस्था गरिएको बताएका छन् ।

उनले ऋण पाउनका लागि वैदेशिक रोजगारबाट फर्किएका, सीप भएका, बेरोजगार, सीमान्तकृत समुदायका युवालाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्न सक्ने व्यवस्था मिलाएको जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३