close

सबैले पढ्न पाउने ‘बीआईसीटीई’ कोर्षमा भर्ना खुल्यो, कसरी दिने अनलाइन आवेदन ?

टेकपाना टेकपाना

भदौ १६, २०७९ ९:८

सबैले पढ्न पाउने ‘बीआईसीटीई’ कोर्षमा भर्ना खुल्यो, कसरी दिने अनलाइन आवेदन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले बीआईसीटीई प्रथम सेमेस्टरका लागि भर्ना प्रक्रिया थालेको छ ।

एक सूचना जारी गर्दै शिक्षा सास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले यसबारे जानकारी दिएको हो ।

इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत असोज ३१ सम्मा अनलाइन फारम भर्न सक्नेछन् ।

त्यस्तै बिलम्ब दस्तुर सहित कात्तिक १ देखि कात्तिक ५ गतेसम्म अनलाइन फारम भर्न सकिनेछ । प्रवेश परीक्षा कात्तिक २० गते आइतबार हुनेछ ।

याे शैक्षिक कार्यक्रमलाई कतिपयले बीएड आईसीटी र बीएड आईसीटीईका नामले पनि चिन्ने गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयले २०६३ मा पहिलोपटक शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा देशका पाँचवटा आङ्गिक क्याम्पस र ८ वटा सामुदायिक क्याम्पसबाट याे कार्यक्रम सुरु गरेको थियो ।

पछि २०७० देखि याे कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचलमा समेत सुरु भयो । सोही वर्षदेखि उक्त विषयको अध्यापन सानोठिमी क्याम्पसमा स्नातकाेत्तर तहमा सुरु भयो ।

हाल यो विषय त्रि.वि. अन्तर्गतका ९ वटा आङ्गिक र ८ वटा सामुदायिक क्याम्पसहरुमा अध्ययन अध्यापन भइरहेको छ ।

उच्च मावि तहमा जुनसुकै संकाय वा विषय लिएका विद्यार्थीले बीएड आईसीटी पढ्न सक्छन् । याे कार्यक्रमले विद्यार्थीहरुलाई आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर साइन्ससँग परिचित गराउँछ ।

विद्यार्थीहरुले यसमा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै प्रोग्रामिङ, नेटवर्किङ, डेटाबेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासन लगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्दति (टिचिङ पेडागोजी) जस्ता शिक्षा संकायका आधारभूत ज्ञान पनि पाउन सक्छन् ।

याे काेर्ष अध्ययन गर्न चाहने विद्यार्थीहरुले शिक्षा शास्त्र संकायबाट लिइने इन्ट्रान्स परीक्षा भने उत्तीर्ण गर्नुपर्छ । ४ वर्ष तथा ८ सेमेस्टरको यो प्रोग्राममा १३२ क्रेडिट आवरको कोर्ष समावेश छ ।

जसमा १२ क्रेडिट आवर सञ्चार तथा सीपमूलक कोर्षहरु, २४ क्रेडिट आवर एजुकेसनल कोर कोर्ष, ६० क्रेडिट आवर स्पेसलाइज मेजर सब्जेक्ट, ३० क्रेडिट आवर सामान्य विषय र ९ क्रेडिट आवर टिचिङ इन्टर्नशिप तथा प्राक्टिकल रहेका छन् ।

उक्त क्रेडिट आवरले अन्तर्राष्ट्रियस्तरमा पनि सजिलै मान्यता पाउने उनी बताउँछन् । यो विषय पढ्न त्रिविका ९ आङ्गिक क्याम्पसहरुमा २० देखि ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने अन्य सामुदायिक क्याम्पसहरुमा भने ३० हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँभन्दा माथि लाग्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३