close

बेरोजगारी कम गर्न फ्रिलान्सिङ

टेकपाना टेकपाना

भदौ २३, २०७९

बेरोजगारी कम गर्न फ्रिलान्सिङ

सौगात देवकोटा/-
देशमा बेरोजगारीको अवस्था व्याप्त छ । स्नातक/स्नातकोत्तरको डिग्री भएका हजाराैं शिक्षित र दक्ष युवासमेत बेराेजगार छन् भने कतिपय न्यूनतम तलबमा काम गर्न बाध्य छन् ।

यहीकारण विदेशिने युवाहरूको संख्या पनि दिनप्रतिदिन बढ्दो छ भने केही युवा पुँजी अभाव तथा देशको कमजोर नीतिका कारण अगाडि बढ्न सकिरहेका छैनन् ।

यस्तो अवस्थामा युवाले आफ्नो दक्षता अनुसार रोजगारी पाउने एउटा राम्रो प्लेटफर्म भनेको ‘फ्रिलान्सिङ’ हो ।  

के हाे फ्रिलान्स ?

कामअनुसार भुक्तानी लिएर स्वतन्त्र रुपमा गरिने कामको प्रकृतिलाई फ्रिलान्सिङ भनिन्छ । फ्रिलान्सिङ गरी आम्दानी गर्ने व्यक्तिलाई भने फ्रिलान्सर भनिन्छ ।

त्यसैगरी फ्रिलान्सरलाई काम दिने कम्पनीसँग र कम्पनीलाई फ्रिलान्सरसँग जोड्ने मध्यस्थकर्ताको रुपमा काम गर्ने माध्यमलाई ‘फ्रिलान्सिङ प्लेटफर्म’ भनिन्छ ।

यस्तो प्लेटफर्ममार्फत ग्राफिक डिजाइनिङ, वेबसाइट डेभलपमेन्ट, डिजिटल मार्केटिङ, भिडिओ/एनिमेसन, डेटा इन्ट्री, कानूनी परामर्श, व्यावसायिक परामर्श, सर्भे लगायत थुप्रै काम सकिन्छ ।

यस्तो प्लेटफर्ममा आफ्नो दक्षता अनुसार मानिसहरूले आफूले दिने सेवाको विवरण र आफूले त्यसबापत लिने सेवा शुल्क तोकी फ्रिलान्सिङ प्लेटफर्ममा राख्दछन् र उक्त सेवा चाहिने कम्पनी वा व्यक्तिहरूले फ्रिलान्सरलाई सम्पर्क गर्दछन् ।

यसरी आपसी समझदारीमा मूल्य तोकी काम सम्पन्न हुन्छ र फ्रिलान्सिङ प्लेटफर्मले केही प्रतिशत सेवा शुल्क काटी बाँकी रकम फ्रिलान्सरको अकाउन्टमा पठाइदिन्छ ।

सो रकम कुनै प्लेटफर्मबाट तत्कालै झिक्न मिल्छ भने कुनै प्लेटफर्मबाट निकाल्न हप्ता वा महिनासम्म पनि लाग्नसक्छ ।

Fiverr.com, Freelancer.com, upwork.com लगायत केही विश्वभर प्रयोग हुने फ्रिलान्सिङ प्लेटफर्म हुन् । नेपालमा हालै सुरु भएको फ्रिलान्सिङ प्लेटफर्म भने sakchha.com हो । 

बेरोजगारी कम गर्न फ्रिलान्स 

छिमेकी देश भारत, पाकिस्तान, बंगालदेशमा थुप्रै युवाहरू फ्रिलान्सरको रुपमा काम गर्ने गरेका छन । नेपालमा भने यो प्रचलन भर्खर सुरुवात हुँदैछ ।

आफ्नो अध्ययन सकेर बसेका युवा, विद्यार्थी, गृहिणी अथवा रोजगार व्यक्तिहरूले पनि फ्रिलान्सिङ काम गर्न सक्छन् । कामको प्रकृति हेरेर फ्रिलान्सिङ कामहरू ल्यापटप अथवा मोबाइलबाट नै गर्न सकिन्छ ।

यसका लागि इन्टरनेट भने अनिवार्य जस्तै हुन्छ । त्यस्तै आफ्नो घर वा कुनै पनि ठाउँबाट फ्रिलान्सिङ काम गर्न सकिन्छ । यसले गर्दा फ्रिलान्सिङ काम गर्न खासै ठूलो लगानी चाहिँदैन ।

तर यसबारे जानकारी नै नहुदा भने कति युवा यस प्रकारको कामबाट वञ्चित भएका छन् । अर्कोतिर जानकारी भएका युवा पनि सरकारको अस्पष्ट नीति, भुक्तानी प्रणालीमा समस्या लगायतले गर्दा फ्रिलान्सिङतर्फ उत्साहित देखिँदैनन् ।

सरकारले भुक्तानी प्रणाली लगायतका समस्यालाई सम्बोधन गर्नसक्यो भने हजारौं युवाले रोजगारीको अवसर पाउँनेछन् । 

देशको व्यापार घाटा कम गर्न फ्रिलान्सिङ 

देशलाई चाहिने बस्तुहरु आफैं उत्पादन हुन नसक्दा हरेक दिन बाहिरी देशबाट अर्बौं रुपैयाँमा बराबरका सामान आयात गर्न पर्ने अवस्था छ । यसरी अहिले देशमा निर्यातभन्दा आयात बढी भएकोले देशको व्यापार घाटा खर्बौं रुपैयाँमा छ ।

यसकारण देशमा सञ्चित वैदेशिक मुद्रा पनि दिनप्रतिदिन कम भइरहेको छ । यस गम्भीर समस्यालाई न्यूनीकरण गर्न अहिले हामीले विदेशी ग्राहकहरुलाई सेवा बिक्री गरी अर्बौं विदेशी मुद्रा मुलुकमा भित्रयाउन सकिन्छ ।

आईटी, बिजनेस, कानून आदि क्षेत्रमा हामीसँग आवश्यक दक्ष जनशक्ति छन् । यही क्षेत्रका युवालाई फ्रिलान्सिङतर्फ प्रेरित गरी विदेशी ग्राहकसम्म पुग्न सकियो भने एकातर्फ देशमै रोजगारी सिर्जना हुन्छ भने अर्कोतर्फ विदेशी मुद्रा भित्रिन्छ ।

यसरी देशको व्यापार घाटा पनि केही हदसम्म घटाउन सकिन्छ।

फ्रिलान्सिङ प्रवर्द्धन गर्न सरकारको भूमिका :

युवाहरुलाई फ्रिलान्सिङतर्फ प्रेरित गर्न सरकारले प्रविधिमैत्री नीति-नियम बनाउनु आवश्यक छ । फ्रिलान्सरले आफूले दिने सेवाहरूको विदेशी ग्राहक सम्म पुर्‍याउन विज्ञापन गर्दा गर्नुपर्ने अन्तर्राष्ट्रिय भुक्तानीमा सहजीकरण गरिदिन पनि आवश्यक छ ।

त्यस्तै फ्रिलान्सरले आम्दानी गरेको भुक्तानी लिनसमेत सहज वातावरण बनाइदिनुपर्छ । फ्रिलान्सिङ गर्न चाहने युवालाई कम्प्युटर/ल्यापटप किन्नका लागि न्यूनतम ब्याजमा ऋण वा सहुलियत प्रदान गर्न सकिन्छ ।

सरकारी तथा निजी पहलमा विभिन्न ठाउँमा सहकार्य गर्न सकिने प्लेटफर्म निर्माण गरी फ्रिलान्सरलाई न्यूनतम भाडामा प्रयोग गर्न दिन सकिन्छ र साथै फ्रिलान्सिङ हब बनाउन पनि सकिन्छ ।

युवाहरूको क्षमता अभिवृद्धिको विभिन्न गोष्ठी तालिम सञ्चालन गर्न सकिन्छ । फ्रिलान्सर, निजि क्षेत्र र सरकार मिलेर नीतिनियम बनाउँदै लागु गर्दै जाने र यस क्षेत्रका समस्याहरु सुल्झाउँदै जाने हो भने नेपाललाई विश्वभरमा ‘फ्रिलान्सिङ हब’ भनेर चिनाउन सकिन्छ ।