काठमाडौं । भनिन्छ नि आफूलाई जुन काम गर्दा खुसी मिल्छ, त्यसैलाई निरन्तरता दिन सकियो भने सफल भइन्छ । भारतका प्रभकिरण सिंह नयाँ तरिकाले कामहरू गर्न पाउँदा उत्साहित हुन्थे ।
अरूले गरिरहेका कामलाई नयाँ तरिकाले गर्न खोज्ने सिंहले बेवकुफ डटकमलाई आधिकारिक तवरबाट सुरु गर्नुअघि दुई ओटा स्टार्टअप खोलिसेकेका थिए ।
सिभिल इन्जिनियरिङको तेस्रो वर्ष अध्ययन गर्दा उनले आफ्नो कमाइबाट लस्सीको व्यापार सुरु गरेका थिए ।
त्यसअघि उनले डोमेन (वेबसाइटको नाम) बिक्री गर्ने काम गर्थे ।
इन्टरनेटमा दिनहुँ नयाँ-नयाँ डोमेन नेम खोजेर पछि त्यसलाई महँगो मूल्यमा बिक्री गरिरहेका हुन्थे । त्यही बेला सन् २०१० मा उनले बेवकुफ डटकम दर्ता गरेका थिए ।
उक्त डोमेन नाम त्यतिका समयसम्म कसैले खरिद गरेका थिएनन् । डोमेन बिक्री गर्ने व्यापार त्यति उपयुक्त नदेखेपछि उनले लस्सीको व्यापार सुरु गरेका थिए । उनले आफ्नो कलेज भएको ठाउँमा उक्त व्यापार गरिरहेका थिए ।
मानिसहरूलाई नयाँ-नयाँ स्वादका लस्सी बिक्री गर्दा उनले राम्रै आम्दानी गरिरहेका थिए । तर याे व्यापार मौसमी थियाे । बाँकी समय खाली बस्न पाउँदा उनलाई याे व्यापार त्यति चित्त बुझेको थिएन ।
त्यसैले उनले त्यो व्यापार छोडेर प्रेस चलाउने निधो गरे । त्यसपछि आफू एक डिजाइनर भएकाले विभिन्न कम्पनीलाई आवश्यक पर्ने टी-शर्ट डिजाइन तथा प्रिन्ट गरेर बिक्री गर्न सुरु गरे ।
यसमा कम्पनीबाट अर्डर लिएर त्यही अनुसारको टी-शर्ट बनाउनुपर्ने हुन्थ्यो । उनलाई त्यो व्यापार पनि त्यति उपयुक्त लागेन ।
सिंहलाई आफूले सुरु गर्ने व्यापार मोडेल प्रविधिमा केन्द्रित होस् भन्ने चाहना थियो ।
उक्त चाहनालाई पूरा गर्न उनले आफ्ना साथी सिद्धार्थ मुनोटसँग मिलेर प्रिन्टिङको व्यापारलाई स्टार्टअप बनाएर सुरु गर्ने योजना बनाए ।
त्यसका लागि उनीहरूले सन् २०१० मा खरिद गरेर राखेको बेवकुफ डटकम डोमेन नेम प्रयोग गर्ने विचार गरे ।
त्यसपछि सन् २०१२ बाट बेवकुफ डटकमको स्टार्टअप यात्रा सुरु भयो । उनीहरूले टी-शर्टमा ट्रेन्डिङमा आएका डायलगहरू राख्न सुरु गरे ।
त्यस्तै ट्रेन्डिङमा परेका मिम, ट्रोल भएका कलाकार, चर्चित फिल्मका डायलगको प्रिन्ट टी-शर्टमा छापेर बिक्री गर्न थालेपछि उनीहरूको स्टार्टअप धेरैमाझ परिचित बन्यो ।
एउटा सफल व्यापार गर्नका लागि बजारबारे राम्रो अध्ययन हुनुपर्छ भन्ने बुझेका सिंहले बेवकुफको फेसबुक पेज बनाए । उक्त फेसबुक पेजमा उनीहरू ट्रेन्डलाई पछ्याएर मिम (हास्य सामग्री) बनाउने गर्थे ।
उनीहरूले राखेका कन्टेन्टले बेवकुफ डटकमलाई मिम पेजका रूपमा स्थापित गरिसकेको थियो । धेरैलाई उक्त पेज ई-कमर्शसँग सम्बन्धित छ भन्ने जानकारी थिएन ।
उनीहरूले त्यसैबाट समय समयमा आफूले तयार पार्ने टी-शर्टको फोटो पोस्ट गर्ने गर्थे ।
त्यही पोस्ट गरेको भरमा उनीहरूको साइटमा मासिक लाखौँ मानिसहरू पुग्न थाले । त्यसबाट कैयौँले टी-शर्ट पनि खरिद गरिरहेका हुन्थे ।
त्यसले बजारमा राम्रो प्रभाव पार्न थालेपछि उनीहरूको बजार विस्तार भयो ।
कुनै समय ५० हजारबाट सुरु भएको बेवकुफको कम्पनी मूल्य अहिले ३०० करोड भारूभन्दा बढी रहेको छ । उनीहरूको वेबसाइटमा मासिक ३८ लाख बढी मानिसहरू पुग्ने गर्छन् ।
छोटो समयमा विस्तार हुने स्टार्टअपको सूचीमा बेवकुफ भारतको शीर्ष १० मा पर्छ ।
“सामाजिक सञ्जाल वा वेबसाइट एक मार्केटिङको माध्यम मात्र हो”, बेवकुफका संस्थापक सिंह भन्छन्, “एक पटक ग्राहकले सामान खरिद गरिसकेपछि उसलाई पुनः कसरी ल्याउन सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ ।”
क्षणिक फाइदाका लागि कतिपय व्यापारीले ग्राहकलाई असुविधामा पारिरहेका हुन्छन् । चर्को मूल्य, गुणस्तरहीन सामान, अव्यवस्थित कम्पनीको नीति, कच्चा व्यावसायिक रणनीतिले गर्दा धेरै स्टार्टअप डुबिरहेका हुन्छन् ।
यसको मामलामा भने बेवकुफ डटकम अगाडि नै छ ।
उनी भन्छन्, “क्षणिक फाइदाको लोभले गर्दा कैयौँ व्यापारीले आफ्ना नियमित ग्राहक गुमाइरहेका हुन्छन् । त्यस्ता ग्राहकलाई आकर्षित पार्ने व्यापारिक रणनीति हुन आवश्यक छ ।”
बेवकुफ डटकमबाट टी-शर्ट खरिद गर्दा ग्राहकले आकर्षक उपहारका रूपमा मायाको चिनो, मिम स्टिकरजस्ता कुरा समावेश गरेका हुन्छन् । यस्ता उपहार सबै टी-शर्टमा पाइन्छ भन्ने हुँदैन ।
त्यही आकर्षक स्टिकर पाइन्छ भन्ने आशाले पनि कैयौँले टी-शर्ट खरिद गरिरहेको भारतीय विश्लेषक बताउँछन् । आफूले गर्न लागेको व्यापार कुन वर्गलाई केन्द्रित गरिएको छ त्यसैमा लागि पर्नुपर्छ भन्ने शिक्षा बेवकुपले दिएको छ ।
विशेषगरी युवावर्गलाई लक्षित गरी बनाइएका टी-शर्ट युवाहरूले प्रयोग गर्ने इन्टरनेटको माध्यमबाट बिक्री गर्दा बेवकुफले राम्रो आम्दानी गरिरहेको छ ।
त्यसैमा आकर्षित वेबसाइट डिजाइन, सहज रिटर्न पोलिसी, तीब्र डेलिभरी सेवाले धेरैलाई आकर्षित पारेको छ ।
उनीहरूले बिक्री गर्ने हरेक टी-शर्टका साथमा क्यूआर कोड सहितको स्टिकर पठाएका हुन्छन् ।
यदि ग्राहकले उक्त टी-शर्ट फिर्ता गर्नुपर्यो भने त्यो टी-शर्टसँग आएको स्टिकर सुरक्षितसँग राख्नुपर्ने हुन्छ । नेपालमा पनि विभिन्न ई-कमर्स तथा स्टार्टअपले बेवकुफको जस्तो व्यवसायिक रणनीति बनाएर अगाडि बढ्नु आवश्यक देखिन्छ ।
ठूला ठूला स्टार्टअप ई-कमर्स जस्तै अमेजन, फ्लिपकार्टले नाफा गर्न सङ्घर्ष गरिरहँदा बेवकुफ सुरुबाट नाफामूलक स्टार्टअप बनेको छ । बेवकुफबाट मासिक एक लाख बढी टी-शर्ट बिक्री हुन्छन् ।
१० वर्षअघि दुई जनाबाट सुरु भएको स्टार्टअपमा हाल ४०० बढी कर्मचारी रहेका छन् ।
अहिले पनि बेवकुफको फेसबुक पेजबाट मिम शेयर भइरहेका छन् ।