close

स्कुल पढ्दा नै एप बनाउन सफल अली

टेकपाना टेकपाना

भदौ २६, २०७९ १५:२७

काठमाडौं । संसारमा प्रविधिको विकासले फड्को मारिरहेको बेला नेपाल यसबाट अछुतो रहन सक्दैन । पछिल्लो समयमा नेपालमा पनि सूचना प्रविधि क्षेत्रले गति लिइरहेको छ ।

यस्तोमा नयाँ पुस्ताका युवा यो क्षेत्रमा आकर्षित हुनु स्वाभाविक नै हो । यस्तै नयाँ कामको थालनी गर्ने एक हुन्, फरिद अली ।

प्रविधिमा निकै रुचि भएका अलीले १९ वर्षको उमेरमा नेपालको पहिलो एन्टिभाइरस एपका रूपमा ‘एमसेक्युरिटी’ विकास गरेका थिए ।

एक्लैले सुरु गरेको यो एपलाई अहिले आठ जनाको समूहमा सुपर एपतिर लैजाने उनको योजना छ ।

सन् २०१९ बाट सुरु भएको एमसेक्युरिटीले आफ्नो एन्टिभाइरसमार्फत एन्ड्रोइड, पीसी र डेस्कटपमा सन् २०२० देखि नै भाइरस स्क्यान, सुरक्षित ब्राउजिङ, एप म्यानेजर, स्पिड बुस्टर, ब्याट्री सेभर लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

यो एपले मोबाइलको समस्या पत्ता लगाएर त्यसलाई समाधान गर्न सघाउँछ । यो एप एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् ।

पीसी सफ्टवेयरका लागि वार्षिक ७०० रुपैयाँ र मोबाइल एपका लागि वार्षिक ५०० रुपैयाँ शुल्क तोकिएको छ । सुरुमा एप डाउनलोड गरिसकेपछि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सकिन्छ ।

यसमा भाइरस स्क्यानिङ सेवासँगै फाइल स्क्यान गर्ने, रेडियो सुन्ने, इन्टरनेटको स्पिड टेस्ट गर्ने, भीपीएन प्रयोग गर्ने, सुरक्षित रुपमा ब्राउजर प्रयोग गर्ने, मौसमको जानकारी प्राप्त गर्ने, पासवर्ड म्यानेज गर्ने लगायतका सेवा प्रयोग गर्न सकिन्छ ।

हेर्नुहोस् भिडिओ अन्तर्वार्ता

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३