close

ह्वावेको आयोजनामा ‘डिजिटल ट्यालेन्ट समिट’ सम्पन्न

टेकपाना टेकपाना

असोज ८, २०७९ १३:२२

ह्वावेको आयोजनामा ‘डिजिटल ट्यालेन्ट समिट’ सम्पन्न

काठमाडौं । ह्वावेले आसियान फाउन्डेसनसँगको सहकार्यमा ‘एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिट’ आयोजना गरेको छ ।

हरेक वर्ष हुँदै आएको ‘ह्वावे कनेक्ट’ कार्यक्रम अन्तर्गत यसपटक थाइल्यान्डकाे बैंककमा यो समिट आयोजना गरिएको हो । समिटमा एसिया प्रसान्त क्षेत्रमा भविष्यका लागि आवश्यक आईसीटी प्रतिभा तयार गर्न बृहत् छलफल भएको कम्पनीले जनाइएको छ ।

कार्यक्रममा सरकारी निकाय, शिक्षाविद् तथा उद्योगका प्रतिनिधि सहभागी थिए । साे अवसरमा आसियान अन्तर्गत सामाजिक सांस्कृतिक समुदायका उप-महासचिव एक्कफाब फान्थावोङले आसियान क्षेत्रमा कसरी इनोभेटिभ आईसीटी प्रतिभा उत्पादन गर्न सकिन्छ, तिनीहरूको वर्तमान स्थिति पहिचान, डिजिटल असमानतालाई सम्बोधनका लागि कसरी आवश्यक कदम चाल्न सकिन्छ भन्ने विषयमा भनाइ राखे ।

त्यस्तै आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इंगले शिखर सम्मेलनको माध्यमबाट यस क्षेत्रका कठिनाइहरूको समाधान गर्न र डिजिटल खाडल कम गर्न, इनोभेटिभ प्रतिभा उत्पादन गर्न र क्षेत्रको डिजिटल रूपान्तरणका लागि आवश्यक कदम चालिने बताए ।

ह्वावेका पब्लिक अफेयर्स एण्ड कम्युनिकेसन्सका अध्यक्ष जेफ वाङले डिजिटल प्रतिभा विकासका लागि कम्पनीका लक्ष्यबारे व्याख्या गरेका थिए ।

‘डिजिटल रूपान्तरणलाई अगाडि बढाउन मानिसहरूलाई जोड्नु र प्रतिभाको नयाँ पुस्ता निर्माण गर्नु सबैभन्दा महत्त्वपूर्ण छ,’ उनले भने, ‘२० वर्षदेखि हामीले एसिया प्यासिफिकमा इन्टरनेट कनेक्टिभिटीका लागि नजिकबाट काम गरेका छौं । यसैबीच हामीले सन् २०२६ सम्ममा यस क्षेत्रमा पाँच लाख आईसीटी प्रतिभालाई तालिम दिने लक्ष्यमा छौं ।’

कार्यक्रममा यस क्षेत्रका सरकारी प्रतिनिधिहरूले प्रतिभा उत्पादनमा आफ्ना पहलबारे जानकारी दिएका थिए ।

थाइल्यान्ड सरकार, शिक्षा मन्त्रालयका महानिरीक्षक डा. फिचेट फोफाकडीले थाइल्याण्डमा सबैका लागि सिकाइ अवसरहरू उपलब्ध छन् भनी सुनिश्चित गर्न डिजिटल लर्निङ टेलिभिजनजस्ता डिस्टान्स लर्निंङ प्लेटफर्म र स्रोतहरू विकास भइरहेकाे जानकारी दिए ।

कम्बोडियाका हुलाक र दूरसञ्चार मन्त्रालयका राज्यसचिव सोक पुथियुथले कम्बोडियाले विद्यालय पाठ्यक्रममा डिजिटल विषयहरू समावेश गर्न, अनलाइन प्लेटफर्म प्रयोग गर्न र विद्यार्थीका लागि नयाँ सामुदायिक प्राविधिक केन्द्रहरू स्थापना गर्ने काम अघि बढाएको बताए ।

‘सबै एशिया प्यासिफिक देशहरूले डिजिटल अर्थतन्त्रलाई बढावा दिन आईसीटी प्रतिभा विशेष गरी युवाहरूलाई सशक्तिकरण गरिरहेका छन्,’ ह्वावे एसिया प्यासिफिक अध्यक्ष साइमन लिनले भने, ‘त्यसका लागि ह्वावेले नेतृत्व, सीप र ज्ञानको माध्यमबाट प्रतिभा विकासका लागि आवश्यक वातावरण तयार पारिरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १३:२२