close

होस्टिङ डेटा नष्ट प्रकरणमा यस्तो छ जेनेस सोलुसनको प्रष्टिकरण

टेकपाना टेकपाना

असोज १०, २०७९ १५:५८

होस्टिङ डेटा नष्ट प्रकरणमा यस्तो छ जेनेस सोलुसनको प्रष्टिकरण

काठमाडौं । होस्टिङ गरिएको डेटा नष्ट पारेको आरोपमा पक्राउ परेका जेनस सोलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पोखरेल धरौटीमा रिहा भएका छन् । सुन्दर ग्रुप अफ कम्पनिज प्रालिको होस्टिङ गरिएको डेटा नष्ट गरी क्षति पुर्‍याएको आरोपमा साइबर ब्यूरोले गत भदौ २२ मा पोखरेललाई नियन्त्रण्मा लिएको थियो ।

यसैबीच जेनेस सोलुसनले आफूमाथि लागेको आरोप खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको छ । कम्पनीले आफ्नो साख गिराउन कपोलकल्पित घटना घटाइएको दाबी गरेको छ ।

''साइबर ब्यूरोबाट जारी भएको प्रेस विज्ञप्ति तथा विभिन्न सञ्चार माध्यमबाट प्रेषित भएका भ्रमपूर्ण तथा अपुष्ट समाचारप्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,'' कम्पनीले भनेको छ ।

''पूर्वाग्रही किसिमबाट कम्पनीको साख गिराउने तथा अनधिकृत आर्थिक लाभ लिने हेतुले आफूसँग प्रत्यक्ष सम्बन्ध नरहेको अमुक कम्पनीले दिएको कपोलकल्पित घटना विवरणको आधारमा यस कम्पनीको विरुद्धमा दिएको उजुरीको सम्बन्धमा हाम्रो प्रमुख कार्यकारी अधिकृतले स्वेच्छामा प्रहरी प्रशासनबाट अनुरोध भए बमोजिम अनुसन्धानमा सहयोगार्थ केही समय न्यायिक हिरासतमा रहनु भई सम्मानित अदालतबाट धरौटीमा रिहा हुनु भएको ब्यहोरा जानकारी गराउन चाहन्छौँ,'' विज्ञप्तिमा भनिएको छ ।

साथै यस विषयमा न्यायिक विधिअनुसार अदालतबाट न्याय निरुपणको रोहमा अन्तिम फैसला हुने कम्पनीले विश्वास लिएको छ ।

त्यस्तै अभियोगपत्र दायर हुनुपूर्व प्रहरी प्रशासनबाट जारी भएको विज्ञप्ति तथा भ्रमपूर्ण समाचारबाट ग्राहक, कर्मचारी, लगानीकर्ता,  सरोकारवाला तथा शुभेच्छुकमा पर्न गएको असुविधाबारे कम्पनीले क्षमा मागेको छ ।

''हामी क्षमाप्रार्थी छौँ र यस किसिमको अनर्गल सामग्रीप्रति कुनै विश्वास नगरी, सदाझैं यस कम्पनीको सेवा प्रति विश्वस्त रहन आग्रह गर्दछौं,'' कम्पनीले भनेकाे छ ।  

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:५