close

लाखौँ फलोअर बटुलेर अहिले बजार पिटिरहेका सामाजिक सञ्जाल पेज चोरेर स्थापित भएका हुन्ः घुमन्ते

टेकपाना टेकपाना

असोज २८, २०७९ १०:३५

लाखौँ फलोअर बटुलेर अहिले बजार पिटिरहेका सामाजिक सञ्जाल पेज चोरेर स्थापित भएका हुन्ः घुमन्ते

काठमाडौं । घुमन्तेको नामले चर्चित ट्राभल भ्लगर कञ्चन राईले सामाजिक सञ्जालमा चर्चित पेज तथा च्यानलहरूलाई कसिलो झापड दिएका छन् । त्यस्ता पेज तथा च्यानलहरू वास्तविक मेहनतबाट नभई अरुको बौद्धिक सामग्री चोरी गरी सस्तो लोकप्रियताको बलमा स्थापित भएको विश्लेषण उनले गरेका छन् । यद्यपि उनले प्रस्ट रूपमा त्यस्ता पेज तथा च्यानलको नाम भने खुलाएनन् । 

घुमन्तेको नाममा आफूले भने 'जेन्युन' काम गर्छु तर, पाइरेसी र चोर काम चाहिँ गर्दिनँ भन्ने सुरुवात देखी नै सोच राखेको उनले बताए । नेपालको डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमा रहेका ठूलाठूला पेजहरू पहिला सबै चोरहरू भएको आरोप लगाउँदै राईले तत्कालीन समयमा 'डिजिटल कन्टेन्ट' प्रतिको सचेतनाकै अभाव रहेको उल्लेख गरे ।

"उदाहरणको लागि म कति मेहनत गरेर फोटोहरू खिचेर राख्थेँ,  तर त्यतिखेर हजार दुई हजार लाइक भएको पेजले त्यो फोटो राख्यो भने 'किन हालिस्' भनेर म रिसाउँदिन थेँ," उनी आफूले आठ नौँ वर्ष अघि घुमन्तेको यात्रा सुरु गर्दाको अनुभव सुनाउँदै भन्छन्, "तर वास्तवमा त्यो गलत भइरहेको थियो । मैले त्यो कुरा आईटी क्षेत्रमा काम गरिरहँदा मात्रै राम्रोसँग बुझ्ने मौका पाएँ ।"

 

वास्तवमा त्यसका पछाडि उनको एउटा नमिठो अनुभव छ । त्यतिखेर सँगै काम गर्ने राईका एक जना साथीले गेट्टी इमेजेजकोबाट कपी गरेर वेबसाइटको लोगो डिजाइनमा एउटा तस्वीर प्रयोग गरेका थिए । त्यसैलाई आधार बनाएर उक्त फोटोको प्रतिलिपि अधिकार भएको कम्पनीले उजुरी गरेर उनको कम्पनीलाई एक लाख पाउण्ड क्षतिपूर्ति तिर्न लगाएको थियो ।

"कपी राइट अर्थात प्रतिलिपि अधिकार वा भनौँ बौद्धिक अधिकारको कुरा यति महत्वपूर्ण र संवेदनशिल हुँदो रहेछ," उनले भने, "मैले सन् २०१३ मा घुमन्ते पेज सुरु गरेदेखि नै अर्काको फोटो डाउनलोड गरेर अपलोड गर्ने काम कहिल्यै गरिनँ । बरु म आफैँले खिचेर वा दिदीभाइको, नजिकका साथी तथा हाम्रा पाठक, दर्शकले पठाएको फोटो मात्रै प्रयोग गर्थेँ ।"

पेशागत र ज्ञानको हिसाबले राई आफैँ आईटी तथा वेब प्रविधि क्षेत्रसँग सम्बद्ध रहेकाले उनलाई एकदमै उच्च गुणस्तरीय फोटोहरूको लाइब्रेरी कहाँ छ भन्ने कुरा राम्रैसँग थाहा थियो । "चाहेको भए मैले त्यो समयमा चोरी काम गरेर अहिलेका मिलियन मिलियन लाइक भएका पेजहरूलाई समेत पछाडि पार्न सक्थेँ, अहिले उनीहरू त्यसैको आडमा पूरा बजारमा पिटिरहेका छन्," उनी अगाडि भन्छन्, "तर मेरो चेतना र नैतिकताले त्यसो गर्न कहिल्यै मानेन ।"

त्यसो त यसबाट अहिले आएर आफूलाई फाइदा समेत पुगेको राईको अनुभव छ । किन भने अहिले उनीमाथि पाइरेसी तथा बौद्धिक चोरीको आरोप कसैले लगाउन सक्ने अवस्था छैन । अर्गानिक तथा आफ्नै सिर्जना र मेहनतले घुमन्तेको परिचय नै बेग्लै बनेको छ । फोटो तथा लिखित सामग्रीको सवालमा मात्र नभएर भिडिओको हकमा समेत आफूले त्यही सिद्धान्त अपनाएको उनी बताउँछन् ।

"अहिले युट्युबरलाई नेपालमा युट्युबे भनेर नकारात्मक रूपमा चित्रण गरिन्छ । किन भने हामी नेपाली भनौँ अथवा मानवीय स्वभावले नै पनि हुन सक्छ, अर्कोले गरेको देखेपछि सजिलो बाटो खोज्ने प्रवृत्ति छ," उनी भन्छन्, "अहिलेका भाइरलवाला, काण्डसाण्डपछि फेरि टिकटकवाला चलेका छन् ।"

सफलताका लागि छोटो र सजिलो बाटो रोज्ने परिपाटीले तत्कालिन रूपमा फाइदा पुर्‍याए पनि त्यो गलत भएको उनको बुझाई छ । "हुन त कतिपयले त्यस्तै चोरी चकारी र सस्तो लोकप्रियताको आडमा आफ्नो जीवन समेत उकासी सकेका छन् । तर यस्तो प्रवृत्तिले समग्र हाम्रो नेपालकै छविमा समेत असर पुर्‍याउँछ," उनी आफ्नो गराइप्रति आत्म सन्तुष्टि व्यक्त गर्दै भन्छन् । 

"मैले केही नभए पनि यो उदाहरण स्थापित गर्न सकेको छु । कोही नयाँ आउने वा गरिरहेकाहरूलाई सोझो तरिकाले काम गर्दा पनि अगाडि बढ्न सकिन्छ भन्ने विश्वास मिलेको छ । लाखौँ- करोडौँ सब्सक्राइबर भएको एउटा च्यानल र हाम्रो च्यानलमा के भिन्नता छ भन्दाखेरी हामीले जोसम्म सूचना तथा जानकारी पुर्‍याउन खोजेको हो, कम्तिमा उहाँहरूले चिन्नु हुन्छ ।"

कहिले काहिँ कस्ता कस्ता मान्छेहरूले घुमन्तेका सामग्री हेर्छन् र आफूहरूलाई चिन्छन् भन्ने कुरा थाहा पाउँदा राई आफैँ छक्क परिरहेका हुन्छन् । पछिल्लो समय टिकटकको उदयपछि मानिसहरूलाई मेहनत नगरिकनै लोकप्रियता प्राप्त गर्न सजिलो भएको छ । तर त्यसरी प्राप्त हैसियत तथा लोकप्रियता जसरी आयो, त्यसैगरी जाने उनी बताउँछन् ।

"वास्तवमै यही क्षेत्रमा केही गर्छु भन्नु हुन्छ भने अलिकति भए पनि आफ्नो गृहकार्य गरेर आउनुहोस्, अलिकति मेहनत गर्ने मनसाय बोकेर आउनुहोस्," कन्टेन्ट क्रियटरलाई सुझाव दिँदै राई भन्छन्, "तर आजको भोलि यो वा त्यो हुन्छु भनेर आउँदै नआउनुहोस् । नेपालको हकमा सामाजिक सञ्जालका पेज तथा च्यानलहरूको जुन ट्रेन्ड बसेको छ, त्यसलाई पनि फलो नगर्नुहोस् । बरु जेन्युन तथा मौलिक किसिमले ककसले केके काम गरिरहेका छन्, त्यस्तै छवि बनाउने प्रयास गर्नुहोस् ।"

भ्लगिङका लागि यात्रा मात्रै नभएर फोटोग्राफी, प्रविधि, खाना तथा परिकार, रिभ्यु लगायत अनेकौँ विकल्प रहेको र त्यसमा राम्रो गर्न सकिने पर्याप्त सम्भावना रहेको उनी सुझाउँछन् ।  

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १२:२६