काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको लोकप्रियता बढ्दो छ । यो ठुला प्लेटफर्ममा मात्र सीमित नभई स्ट्यान्डअलोन अर्थात् स्वतन्त्र एआई च्याट एपहरूको लागि ठुलो बजार सिर्जना गरेको छ ।
डेटा एनालिटिक्स प्लेटफर्म सेन्सरटावरका अनुसार सन् २०२४ मा एआई च्याटबट एप र एआई आर्ट जेनेरेटरहरूले संयुक्त रूपमा १.५ अर्ब एप डाउनलोड दर्ता गरेका छन् । यी एपबाट भएको इन-एप पर्चेजको आम्दानी पनि गत वर्ष लगभग १.५ अर्ब डलर पुगेको छ । सन् २०२५ को रिपोर्ट अनुसार यी दुई उप-विधामध्ये एआई च्याटबट एपहरूले गत वर्ष धेरै वृद्धि देखाएका छन् ।
ओपनएआईको च्याटजीपीटी एप यस दौडमा स्पष्ट रूपमा अगाडि रहेको छ, जसले गत वर्षको कुल एआई एप डाउनलोडको लगभग २३ प्रतिशत ओगटेको छ । तर गुगलको जेमिनाई एप, माइक्रोसफ्ट कोपाइलट र भर्खरै आएको मेटा एआई जस्ता ठुला प्रविधि कम्पनीहरू पनि यस प्रतिस्पर्धामा सामेल भएका छन् ।
मेटाले गत हप्ता आफ्नो लामा फोर मोडेलमा आधारित नयाँ स्ट्यान्डअलोन एआई एप सार्वजनिक गरेको छ । कम्पनीले एक ब्लग पोस्टमा लेख्दै यो बहुभाषिक एआई असिस्टेन्टले प्रयोगकर्ताहरूलाई अझ व्यक्तिगत, सान्दर्भिक र कुराकानी गर्न सहज बनाउने दाबी गरेको छ ।
सामाजिक सञ्जालको यो विशाल कम्पनीको एआई असिस्टेन्ट पहिले नै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता प्लेटफर्महरूमा उपलब्ध थियो । तर, एआई असिस्टेन्टमा केन्द्रित छुट्टै एप उपभोक्तामुखी उत्पादन बन्ने सम्भावना बढी छ ।
मेटाले एआई च्याटबट एप बजारमा कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । यसमा ५० करोडभन्दा बढी साप्ताहिक प्रयोगकर्ता भएको च्याटजीपीटी पनि समावेश छ । तर, कम्पनीसँग एउटा महत्त्वपूर्ण फाइदा छ: फेसबुक वा इन्स्टाग्राममा प्रयोगकर्ताहरूले शेयर गरेको अथाह डेटाले मेटाको एआई च्याटबट एपलाई प्रयोगकर्ता, उनीहरूको प्राथमिकता र अन्य धेरै कुराहरू बुझ्न मद्दत गर्ने सम्भावना छ । यो डेटा-आधारित फाइदाले एआईको युगमा गोपनीयताको नयाँ चिन्ता पनि बढाएको छ ।
त्यसोभए मेटा एआई एपका मुख्य विशेषताहरू के हुन् ? यसले के प्रस्ताव गर्दछ ? बजारमा बाढी आएका अन्य एआई असिस्टेन्टहरू भन्दा यो कसरी फरक छ ? र के यसले वास्तवमै सामाजिक सञ्जाल र अनलाइन अन्तरक्रियाको भविष्यलाई परिवर्तन गर्न सक्छ, जसरी मार्क जुकरबर्गले दाबी गरेका छन् ?
के हो मेटा एआई एप ?
मेटा एआई एप लामा फोर प्रविधिमा आधारित छ । यो कम्पनीको सबैभन्दा एडभान्स्ड, खुला एआई मोडेल हो, जुन गएको अप्रिलमा सार्वजनिक गरिएको थियो । मेटाका अनुसार लामा फोलाई ठुलो मात्रामा लेबल नगरिएको टेक्स्ट, इमेज र भिडिओ डेटामा ट्रेन गरिएको छ ।
यो लामा सिरिजको पहिलो एआई मोडेल हो, जसलाई मिक्सचर अफ एक्सपर्ट्स (MoE) आर्किटेक्चर प्रयोग गरेर प्रशिक्षित गरिएको छ ।
च्याटिङ बाहेक मेटा एआई एपमा इमेज जेनेरेसन र एडिटिङ जस्ता सुविधाहरू पनि छन् । एआई च्याटबटलाई भ्वाइस वा टेक्स्टमार्फत प्रम्प्टहरू दिन सकिन्छ । एप मार्फत च्याटबटलाई विभिन्न विषयहरूमा जानकारीका लागि वेब खोज्न पनि सोध्न सक्छन् ।
यस एपमा ‘Discover’ नामक फिचर पनि छ, जहाँ अरू प्रयोगकर्ताले एपलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने देख्न सकिन्छ । प्रयोगकर्ताले चाहेको खण्डमा मात्र आफ्नो पोस्ट शेयर हुने व्यवस्था गरिएको छ । यसले एआई एपलाई सामाजिक सञ्जालको स्वाद दिने प्रयास भएको देखिन्छ ।
अहिलेसम्म यस एपको प्रयोग अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डमा मात्र सीमित गरिएको छ । मेटाले यसमा भ्वाइसमा आधारित अन्तरक्रिया, स्मार्ट चश्मासँगको समन्वय र एआई सहायतामा आधारित डकुमेन्ट एडिट गर्ने नयाँ सुविधा परीक्षण गरिरहेको जनाएको छ ।
यो अन्य एआई च्याटबट एपहरू भन्दा कसरी फरक छ ?
मेटाको नयाँ एपभित्रको एआई असिस्टेन्टलाई फेसबुक र इन्स्टाग्राम प्रोफाइलहरूलाई अकाउन्ट सेन्टरमा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अझ बढी व्यक्तिगत बनाइएको छ ।
कम्पनीले भनेको छ, “तपाईं मेटा एआईलाई आफ्नो बारेमा केही चीजहरू सम्झन भन्न सक्नुहुन्छ । जस्तै तपाईंलाई यात्रा गर्न र नयाँ भाषाहरू सिक्न मनपर्छ भने यसले सन्दर्भको आधारमा महत्त्वपूर्ण विवरणहरू पनि उठाउन सक्छ ।”
“तपाईंको मेटा एआई असिस्टेन्टले मेटा उत्पादनहरूमा तपाईंले पहिले नै शेयर गर्न रोज्नुभएको जानकारी जस्तै; तपाईंको प्रोफाइल र तपाईंलाई मनपर्ने वा संलग्न हुने सामग्रीको आधारमा तपाईंको प्रश्नहरूको अझ सान्दर्भिक जवाफहरू पनि प्रदान गर्दछ ।”
मेटाले आफ्ना उत्पादनहरूमा प्रयोगकर्ता डेटाको उपयोग गरेर व्यक्तिगत र प्रासंगिक एआई-उत्पन्न प्रतिक्रियाहरू प्रदान गरेर आफ्नो प्रतिस्पर्धात्मक किनारा परिभाषित गर्न खोजिरहेको छ । यसरी डेटा प्रयोग गर्दा सम्भावित अविश्वासका चिन्ताहरू पनि बढ्न सक्नेतर्फ चिन्ता व्यक्त गरिएको छ ।
मेटा एआईसँग अन्तरक्रिया गर्दा, प्रयोगकर्ताहरूले आफ्नो स्मार्ट चश्माबाट एपमा स्विच गर्न सक्नेछन् । मेटाले भनेको छ, “तपाईंले आफ्नो चश्मामा कुराकानी सुरु गर्न सक्नुहुनेछ । त्यसपछि एप वा वेबबाट आफ्नो हिस्ट्री ट्याबमा पहुँच गर्न र जहाँ छोड्नुभएको थियो त्यहीँबाट सुरु गर्न सक्नुहुनेछ ।”
यद्यपि, एपबाट चश्मामा एआई च्याट लैजान सम्भव छैन । मेटाले यो पनि भनेको छ कि यसको रे-बान स्मार्ट चश्माका मालिकहरूका लागि विकसित गरिएको भ्यू कम्पेनियन एप अब उपलब्ध हुनेछैन । बरु ती सुविधा नयाँ एआई एपमा समावेश गरिँदैछन् ।
एआईले सामाजिक सञ्जाललाई कसरी प्रभाव पार्ला ?
मेटाका प्रमुख मार्क जुकरबर्गले हालै एक पोडकास्टमा एआई च्याटबटलाई साथीको रूपमा हेर्ने आफ्नो दृष्टिकोणबारे कुरा गर्दै भनेका छन्, “मेरो विचारमा औसत अमेरिकीका तीनभन्दा कम साथीहरू छन् । र औसत व्यक्तिलाई धेरै अर्थपूर्ण सम्बन्धको माग छ ।”
जुकरबर्गका अनुसार सामाजिक सञ्जालको भविष्य आजको भन्दा धेरै अन्तरक्रियात्मक हुनेछ ।
अर्कोतर्फ किशोर प्रयोगकर्तासँग आपत्तिजनक संवाद गर्ने च्याटबटको समाचार आउँदा मेटाले आलोचना सुन्नुपरेको छ । गत महिना प्रकाशित द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार मेटाले फेसबुक र इन्स्टाग्राममा रोल आउट गरेका एआई सेलिब्रेटी च्याटबटहरू १८ वर्ष मुनिका प्रयोगकर्ताहरूसँग यौन स्पष्ट कुराकानी गर्न इच्छुक थिए । यता टेकक्रन्चले ओपनएआईको च्याटजीपीटी पनि नाबालिगको रूपमा दर्ता भएका प्रयोगकर्ताहरूका लागि यौन कथा सिर्जना गर्न सहमत थियो ।