close

‘अनि मैले मेरो छोराका सबै तस्बिर सामाजिक सञ्जालबाट हटाएँ’

टेकपाना टेकपाना

चैत ६, २०८१ १२:५२

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर एआईबाट तयार पारिएको सांकेतिक तस्बिर

हन्ना न्वोको/-

सामाजिक सञ्जाल एक अनौठो ठाउँ हो । एकातिर यो विषाक्त, खराब नियतको अँध्यारो झुन्ड हुन सक्छ; अर्कोतिर हामीलाई नयाँ समुदाय, विगतका साथीहरू र हामीले लगभग बिर्सेका परिवारसँग जोड्ने माध्यम बन्न सक्छ । जब हामी इन्स्टाग्राम वा फेसबुकमा दशकौँ अघिका जीवनका महत्त्वपूर्ण घटनाहरू देख्छौँ, तब पुरानो याद ताजा हुन्छ । 

केही अनुमान अनुसार बेलायतका ४२% अभिभावकले आफ्ना छोराछोरीका तस्बिर अनलाइनमा शेयर गर्छन् । तीमध्ये ५०% भन्दा बढी अभिभावकले महिनामा कम्तीमा एक पटक यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।

बाल आयुक्तको सन् २०१८ को प्रतिवेदनले पत्ता लगाए अनुसार अभिभावकहरूले हरेक वर्ष आफ्ना बच्चाका लगभग ७१ ओटा तस्बिर र २९ ओटा भिडिओ सामाजिक सञ्जालमा शेयर गर्छन् । औसतमा, बच्चा १३ वर्षको हुँदा अभिभावकले उनका १,३०० ओटा तस्बिर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरिसकेका हुन्छन् ।

म पनि पहिला तिनै अभिभावकको श्रेणीमा पर्थेँ । मेरो छोरा सन् २०१५ मा जन्मिएको थियो । र एक ममतामयी नयाँ आमाको रूपमा म आफ्नो अद्‍भुत नयाँ जीवनको बारेमा मानिसहरूलाई जानकारी गराउन उत्सुक हुन्थेँ ।

मेरो छोराको खाटमा सुतिरहेको, राम्रोसँग बेरिएको, मस्त निद्रामा भएको तस्बिर पोस्ट गर्थेँ । मैले उसलाई झ्यालबाट बाहिर हेर्दै, उसले देखेको पहिलो हिउँको प्रशंसा गर्दै तस्बिर पोस्ट गर्थेँ । लन्डनको सुन्दर पार्कमा हामी सँगै बसेर झुलिरहेको तस्बिर पनि पोस्ट गरेँ । यसले साथीभाइ र परिवारलाई मेरो छोरा हुर्केको हेर्ने मौका दियो ।

तर नियमित रूपमा केही वर्ष यसरी छोराका तस्बिर शेयर गरेपछि मैले चाइल्ड रेस्क्यु कोअलिसन नामक एउटा अभियान देखेँ । जसले मलाई गम्भीर पुनर्विचार गर्न बाध्य तुल्यायो । र म सोच्न थालेँ, मेरो छोराको कति जीवनलाई डकुमेन्टेड गर्नुपर्छ र सजिलै सबैका लागि उपलब्ध हुने बनाउनुपर्छ ? उनीहरूको किड्स फर प्राइभेसी अभियानले हाम्रा बालबालिकाका अति निजी क्षणहरूलाई सामाजिक सञ्जालमा अत्यधिक खुलासा गर्दा हुने खतराहरू बारे सोच्न बाध्य पार्‍यो । अभियानले दिएका सन्देशसँगै रहेका 'असुरक्षित', 'बाल यौन दुर्व्यवहारकर्ता' र 'शिकारीहरू' जस्ता शब्दहरू छुरा जस्तै महसुस भए ।

पहिलो पटक, मैले आफैलाई सोधेँ: म किन आफ्नो बच्चाका फोटो तथा भिडिओ यसरी शेयर गर्दैछु ? यी तस्बिरहरू कसका लागि हुन् ? र अझ महत्त्वपूर्ण कुरा, मैले यसरी शेयर गरेका तस्बिर कससम्म पुग्न सक्छन् ? एक पटक ती तस्बिरहरू अनलाइनमा पोस्ट भएपछि पूर्ण रूपमा हटाउन लगभग असम्भव छ ।

लेखक हन्ना न्वोको

मलाई अक्सर सामाजिक सञ्जालमा फोटोको रूपमा शेयर हुने परिवारहरूको याद आउँछ, जसले आफ्नो सम्पूर्ण जीवन अनलाइनमा शेयर गर्छन् । आफ्ना बच्चाहरूका एक एक क्लिकहरू राखिरहेका हुन्छन् । उनीहरूले अनजानमै आफ्ना बच्चाहरूलाई खतरामा पारिरहेका छन् भन्ने कुराले मलाई चिन्ता लाग्छ ।

मैले आफैलाई सोधेँः के मेरो छोरा आफू हुर्किँदै गरेका तस्बिरहरू मैले शेयर गरेकोमा खुसी होला त ? कतै म उसलाई थाहा हुनुभन्दा पहिला नै उसको गोपनीयतामाथि हस्तक्षेप गरिरहेको त छैन ? उसका तस्बिरहरू अनलाइनमा राखेर मैले उसँग जोडिएको डेटाको शृङ्खला तयार पारिरहेकी पो छु कि ? म अप्रत्यक्ष रूपमा उसको डिजिटल पदचिह्न बनाउँदै थिएँ । तर मलाई यसका अन्तर्निहित जोखिम बारे पूर्ण रूपमा थाहा थिएन । प्रविधिको विकाससँगै उसको व्यक्तिगत डेटा कसरी प्रयोग हुनेछ भन्ने कुरा कसलाई के थाहा ?

म आफू ९० को दशकको बच्चा । मेरा अभिभावकले रिल भएको क्यामेरा प्रयोग गर्थे । फोटोहरू प्रिन्ट भएर आउँथे । मेरा बहुमूल्य बाल्यकालका तस्बिरहरू सुरक्षित रूपमा ग्यारेजमा रहेको भौतिक फोटो एल्बममा कतै थन्किएका छन् । मैले मेरा बाल्यकालका तस्बिरहरू अनलाइनमा शेयर भएको अनुभव गर्नुपरेन । त्यसैले मैले कहिल्यै अनलाइनमा एक्सपोज हुँदाका परिणाम भोग्नुपरेको छैन । त्यति बेला सबै कुरा धेरै निजी थियो, र म मेरो छोराको लागि पनि त्यस्तै चाहन्छु ।

त्यसैले मैले मेरो छोराका सबै तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएँ । मैले उसको विद्यालय र खेलकुद क्लबहरूले अनलाइन मार्केटिङ उद्देश्यका लागि उसका तस्बिरहरू लिने कुरामा सहमति दिन छोडेँ । मैले मेरा परिवारका सदस्यहरूलाई उसका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न बन्द गर्न भनेँ । बरु, म अब रोमाञ्चक क्षणहरू नजिकका साथीहरू र परिवारसँग सिधै निजी मेसेजमार्फत शेयर गर्छु । यसो गर्दा अझ व्यक्तिगत हुन्छ अनि सुरक्षित पनि ।

अभिभावक हुनुको अर्थ गर्व गर्नु हो । तर यसको अर्थ हाम्रा बालबालिकाहरूलाई अनावश्यक जोखिमहरूबाट बचाउनु पनि हो । लाइक बटुल्नकै लागि अज्ञात व्यक्तिहरू सामु आफ्ना बालबालिकालाई एक्सपोज गर्नुको कुनै अर्थ छैन।

-द गार्डियनबाट अनूदित

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १३:५