काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२४ का लागि पनि ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्री खुलाएको छ । यसका लागि आवेदन दिन अहिले विभिन्न साइबर, फोटो पसल लगायतमा लामो भीड देखिन थालेको छ । निःशुल्क रूपमा ईडीभी फाराम भर्न मिल्ने भएपनि यस्ता पसलले मानिसहरूबाट आफूखुसी पैसा लिई फाराम भर्दै आएका छन् ।
यसबाट प्रयोगकर्ताहरूको विवरण दुरूपयोग हुनेदेखि विभिन्न साइबर सुरक्षा जोखिम निम्तिनसक्ने विश्लेषण गर्न थालिएको छ । हालै नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै डीभी आवेदन निःशुल्क भएकाले कुनै कन्सल्टेन्सी अथवा अन्य संस्थाहरूको प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।
'डीभी आवेदन निःशुल्क हो । केही कन्सल्टेन्सीहरूले डीभीका लागि छनोट भएनभएको पत्ता लगाइदिने, छनोट भएको खण्डमा तपाईंकै कागजपत्र तपाईंलाई फर्काउने, स्पोन्सर भेट्टाइदिने, तथा अन्य विभिन्न अनावश्यक सेवाको बहानामा हजारौं लाखौंं रुपैयाँ उठाइरहेको सुनिन्छ । यो अपराध हो,' दूतावासको पोस्टमा उल्लेख छ ।
ईडीभीका लागि इच्छुकले निश्चित प्रक्रिया अपनाएर आफैंले घरबाटै आवेदन दिन सक्छन् ।
यस्तो छ तरिका
- अमेरिकाको यूएस डिपार्टमेन्ट अफ स्टेटको आधिकारिक वेबसाइटमा जानुहोस् । यो वेबसाइटमा तपाईंले कसरी डीभी भर्ने,डीभी भर्नका लागि कस्तो फोटोको आवश्यकता छ र के के जानकारी चाहिन्छ भन्ने विषय उल्लेख गरिएको छ ।
- स्क्रिनमा थोरै स्क्रोल गरेर हरियो बक्सभित्र लेखिएको 'बिगिन इन्ट्री' मा क्लिक गर्नुहोस् ।
- यसपछि दिइएको अथेन्टिकेसन कोड भरेर सब्मिट गर्नुहोस्
पहिलो खण्ड
-आफ्नो व्यक्तिगत विवरण भर्ने फर्म खुल्छ । एक नम्बरमा भएको खाली ठाउँमा सबैभन्दा सुरुमा आफ्नो थर लेख्नुहोस् । त्यसपछि आफ्नो नाम लेख्नुहोस् ।
-अन्तिममा आफ्नो बीचको नाम जस्तो; बहादुर, कुमार, कुमारी, प्रसाद, देवी, राज लगायतका नामहरू लेख्नुहोस् ।
-यदि तपाईंको बीचको नाम छैन भने त्यहाँ सानो बक्समा भएको 'नो मिडल नेम' अप्सनमा क्लिक गर्नुहोस् ।
दोस्रो खण्ड
- दुई नम्बरमा आफ्नो लिङ्ग खुलाउनुहोस् ।
तेस्रो खण्ड
- तेस्रो नम्बरमा आफ्नो जन्ममिति अंग्रेजीमा उल्लेख गर्नुहोस् । सबैभन्दा सुरुमा महिना लेख्नुहोस् । त्यसपछि गते र अन्त्यमा वर्ष लेख्नुहोस् ।
चौंथौं खण्ड
- चार नम्बरमा आफू जन्मिएको सहरको नाम राख्नुहोस् । ध्यान दिनुहोस्, यहाँ तपाईंले आफू जन्मिएको जिल्ला, देश वा प्रदेशको नाम उल्लेख गर्ने होइन । यहाँ तपाईं जन्मनु भएको स्थान, टोल वा सहरको नाम उल्लेख गर्नुहोस् ।
पाँचौं खण्ड
- पाँच नम्बरमा आफ्नो देशको नाम उल्लेख गर्नुहोस् ।
छैठौं खण्ड
- छ नम्बर तपाईंको देश डीभी कार्यक्रमको लागि योग्य छ वा छैन भन्ने प्रश्नमा 'एस' अप्सनमा क्लिक गर्नुहोस् ।
सातौं खण्ड
- सात नम्बरमा गएर 'चुज न्यु फोटो' अप्सनमा गएर आफ्नो फोटो अपलोड गर्नुहोस् । तपाईंको फोटो वर्गाकारको हुनुपर्नेछ । यसको पिक्सेल ६००*६०० अथवा १२००*१२०० हुनुपर्नेछ । साथै फोटोको ब्याकग्राउन्ड सेतो हुनुपर्नेछ ।
आठौं खण्ड
- आठ नम्बरमा तपाईं पत्र ठेगानाको विषयमा विभिन्न प्रश्नहरू सोधिएका छन् । जसमध्ये सुरुमा भएको अप्सन 'इन केयर अफ' भन्ने अप्सनमा केही नभर्नु भएपछि हुन्छ । यो तपाईं बाहेक अरु कसैको ठेगाना दिन चाहेको खण्डमा भने प्रयोग गर्न सकिन्छ । यसपछि 'बी' अप्सनमा गएर आफ्नो चिठी प्राप्त गर्ने ठेगाना उल्लेख गर्नुहोस् ।
अप्सन 'सी' पनि अन्य ठेगानाको लागि दिइएको हो, जहाँ तपाईंले अरु कुनै ठेगाना उल्लेख गर्न सक्नु पनि हुन्छ अथवा नभरे पनि केही फरक पर्दैन ।
- यसपछि अप्सन 'डी' मा आफ्नो सहरको नाम उल्लेख गर्नुहोस् ।
- यसपछि आफ्नो जिल्लाको नाम लेखेर सबैभन्दा अन्तिममा पोस्टल कोड राख्नुहोस् । यसको लागि तपाईंले गुगलमा गएर आफ्नो स्थानको पोस्टल कोड हेर्न सक्नुहुन्छ । अथवा 'नो पोस्टल कोड' अप्सनमा क्लिक गर्नुहोस् ।
- यसपछि पुन: आफ्नो देशको नाम उल्लेख गर्नुहोस् ।
- नौ नम्बरमा पनि तपाईंले आफू अहिले बसिरहेको देशको नाम उल्लेख गर्नुहोस् । यदि तपाईं देशभन्दा बाहिर हुनुहुन्छ भने यो अप्सनमा आफ्नो देशको नाम उल्लेख गर्नुहोस्
- दशौं नम्बरमा आफ्नो फोन नम्बर र एघार नम्बरमा आफ्नो इमेल एड्रेस लेख्नुहोस् ।
- १२ नम्बरमा भने आफ्नो शैक्षिक योग्यता छनौट गर्नुहोस् ।
- १३ नम्बरमा आफू विवाहित भए वा नभएको अथवा आफ्नो वैवाहिक जीवनको स्थितिको विषयमा विभिन्न अप्सनमध्ये एउटामा क्लिक गर्नुहोस् ।
- १४ नम्बरमा भने आफ्नो सन्तानको विषयमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि तपाईं अविवाहित हुनुहुन्छ अथवा तपाईंको सन्तान छैन भने यो बक्सलाई खाली नै छोड्दिन सक्नुहुन्छ ।
- यदि तपाईं अविवाहित हुनुहुन्छ भने तपाईंको डीभी फर्म भर्ने प्रक्रिया यहीँ नै समाप्त हुन्छ । अन्तिममा गएर 'कन्टिन्यु' अप्सनमा क्लिक गर्नुहोस् ।
यसपछि तपाईंको विवरण सही भए वा नभएको कन्फर्म गरेर सब्मिट गर्नुहोस् । यदि तपाईं विवाहित हुनुहुन्छ भने ‘कन्टिन्यु’ अप्सनमा क्लिक गरेपछि अर्को फर्म खुल्छ, जहाँ तपाईंले आफ्नो श्रीमान् अथवा श्रीमतीको विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।
यति गरिसकेपछि तपाईँको आवेदन प्रक्रिया पूरा हुन्छ । अन्त्यमा उपलब्ध भएको 'कन्फर्मेशन नम्बर' भने तपाईंले सुरक्षित राख्नुपर्ने हुन्छ । आफ्नो आवेदन प्रक्रिया के भयो भनेर बुझ्नका लागि तपाईँले यो नम्बर प्रयोग गर्न सक्नुहुन्छ ।