close

विदेशीले फ्याँकेका थोत्रा ल्यापटप नयाँ भन्दै बिक्रीका लागि नेपाली बजारमा

गोपाल साउद गोपाल साउद

असोज ३१, २०७९ १७:४४

विदेशीले फ्याँकेका थोत्रा ल्यापटप नयाँ भन्दै बिक्रीका लागि नेपाली बजारमा

काठमाडौं । विदेशीले प्रयोग गरेर फ्याँकेका पुराना थोत्रा ल्यापट नयाँ भन्दै नेपाली बजारमा बिक्री हुने गरेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आशङ्काका आधारमा चेकजाँच गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो । 

रिफर्बिस्ड अर्थात विभिन्न कारणले बजारबाट फिर्ता भएपश्चात मर्मत सम्भार गरी पुनः बिक्रीका लागि राखिने यस्ता अधिकांश ल्यापटप तथा कम्प्युटर डेल ब्रान्डका रहेको भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार भन्सार कार्यालयले विशेष कार्यदल बनाएर त्यस्ता ल्यापटपमाथि छानविन थालेको छ ।

छानविनका क्रममा कतिपय ल्यापटपको वारेन्टी अवधि दुई तीन वर्ष अघि नै समाप्त भएको समेत थाहा हुन आएको छ । विमानस्थल भन्सार कार्यालयले छानविन थालेका अधिकांश रिफर्बिस्ड ल्यापटप खाडी मुलुकबाट आएका हुन् ।

भन्सार जाँच पासका क्रममा सेकेन्ड ह्यान्ड तथा प्रयोगमा आइसकेका पुराना ल्यापटप फेला परेपछि गत साउन मसान्तदेखि रोकेर राखिएको छ ।नेपालका लागि डेलका आधिकारिक वितरकले नभई अन्य विभिन्न कम्पनीको नाममा यस्ता पुराना ल्यापटप आयात हुने गरेको उल्लेख छ ।

भन्सार कार्यालयले रोकेर छानविन थालेका रिफर्बिस्ड तथा पुराना ल्यापटप आयात गर्ने कम्पनीहरूमा ललितपुरको एसआरपीसी, न्हुछे गल्ली काठमाडौंको पाकिजा कम्प्युटर, पाको न्युरोडको सनसाइन स्मार्ट टेक र काठमाडौं ठेगाना रहेको कौशिकी इन्फोसिस रहेका छन् ।  

पुराना ल्यापटपका लागि भन्सार कार्यालयमा भने नयाँ सरह भ्याट चुक्ता गरिएको छ । भन्सार कार्यालयका अनुसार आई थ्री ल्यापटपको ३०० अमेरिकी डलर, आई फाइभको ४०० अमेरिकी डलर र आई सेभेनको ५०० अमेरिकी डलर मूल्य उल्लेख गरिएको छ । 

यसबाट प्रत्यक्ष रूपमा सरकारी राजश्वमा नोक्सानी नभए पनि उपभोक्ता ठगिनुका साथै नेपालको वातावरणले चर्को मूल्य चुकाउनु पर्ने स्थिति आइलागेको छ । 

भन्सार कानूनले नरोकिने भए पनि नैतिकताका आधारमै आफूहरूले छोड्न नसकेको भन्सारका प्रमुख प्रशासक पोखरेलले बताए । “यस्तो अवस्थामा भन्सारसँग त्यस्ता सामान फिर्ता पठाउने वा जफत गर्ने दुई ओटा विकल्प मात्रै छन् ।

सामान फिर्ता पठाउँदा बाहिरिसकेको विदेशी मुद्रा फिर्ता आउने भए पनि यस्ता आयातकर्ताको मनोबल थप बढ्ने हो कि भन्ने लागेर हामी सकेसम्म जफत गर्ने पक्षमा छौँ,” टेकपानासँगको कुराकानीमा उनले भने, “तर यस किसिमको गतिविधिमा संलग्नलाई अन्य सजाय तथा कारबाही गर्ने अधिकार हामीसँग छैन ।”

भन्सार कार्यालयले भित्रिने क्रममा फेला पारेका रिफर्बिस्ड ल्यापटपमाथिको अध्ययन प्रतिवेदन समेत तयार पारिसकेको छ । तर भन्सार कार्यालयका प्रमुख प्रशासकबाट उक्त प्रतिवेदन पारित हुन भने बाँकी छ ।

सोही आधारमा नयाँ ल्यापटपलाई जाँचपास गर्ने र बाँकी रिफर्बिस्ड तथा पुराना ल्यापटपलाई जफत वा फिर्ताको प्रक्रियामा लगिने भन्सार कार्यालयले जनाएको छ । “अन्य देशका प्रयोगकर्ताले फ्याँकेका पुराना ल्यापटपलाई नयाँ भनेर नेपाली प्रयोगकर्ता माझ बिक्री गर्न पाइँदैन,” प्रमुख भन्सार प्रशासक पोखरेलले भने ।

प्राविधिक विषयको जानकारी भएका बाहेकले नयाँ र पुराना ल्यापटपबीचको भिन्नता त्यति सजिलै ठम्याउन सक्दैनन् । यस्ता ल्यापटपमा स्थानीय रिटेलर तथा बिक्रेताले नयाँ सरह वारेन्टी समेत दिने गरेको बताइन्छ । 

भन्सार प्रशासक पोखरेलले यस अघि देखि नै पुराना ल्यापटप नयाँ भन्दै भित्र्याउने गरेको हुन सक्ने बताउँछन् । “यस्तोमा सम्बन्धित निकायले पसल पसलमा गएर त्यसको अनुगमन गर्नुपर्ने देखिन्छ,” उनले भने ।

पोखरेलले आगामी दिनमा प्रयोगमा आइसकेका विद्युतीय सामग्री भित्रिन नदिन जाँचपासमा कडाई गरिने बताए । “यो गम्भिर विषयमा राजस्व अनुसन्धान विभाग, अनुगमन संयन्त्र लगायत सम्बन्धित सबै निकायमा लेखेर पठाउँछौँ,” उनले भने ।
 

नयाँ ल्यापटप हो कि होइन कसरी पहिचान गर्ने ?

ल्यापटप नयाँ वा रिफर्बिस्ड तथा पुरानो कस्तो हो भन्ने कुरा थाहा पाउने सबैभन्दा सजिलो उपाय भनेको  त्यसको कम्पनी वारेन्टी चेकजाँच गर्नु हो । सम्बन्धित ब्रान्डले त्यसका लागि आफ्नो वेबसाइटमै वारेन्टी अवधि थाहा पाउन सकिने सुविधा दिएका हुन्छन् ।

उदाहरणको लागि यदि तपाईँ डेल ब्रान्डको ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने;

१. सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । 

२. अब खुल्ने सर्च बक्समा प्रोडक्ट आईडी वा डेल सर्भिस ट्याग राखेर सर्च बटनमा थिच्नुहोस् । 

३. यति गरेपछि सम्बन्धित डेल ल्यापटपको वारेन्टी तथा सर्भिस सम्बन्धि विस्तृत विवरण देखिनेछ । 

४. यस आधारमा तपाईँले शिप डेट अर्थात आयात गरिएको मिति, प्राथमिक सपोर्ट अर्थात वारेन्टी अवधि आदि हेर्न सक्नुहुन्छ । जसबाट सम्बन्धित ल्यापटप पुरानो तथा रिफर्बिस्ड अथवा नयाँ के हो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । 

 

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १९:४