close

कतै तपाईँको डेल ल्यापटप ‘रिफर्बिस्ड’ गरिएको त होइन ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १६:८

कतै तपाईँको डेल ल्यापटप ‘रिफर्बिस्ड’ गरिएको त होइन ? यसरी चेक गर्नुहोस्

काठमाडौं । केही समय अगाडि टेकपानाले नेपालमा नयाँ भन्दै रिफर्बिस्ड तथा पुराना ल्यापटप बिक्री गर्ने गर्ने गरिएको खुलासा गरेको थियो । यस्तोमा ‘रिफर्बिस्ड’ र ‘ब्रान्ड न्यु’ (वास्तविक नयाँ) ल्यापटप कसरी छुट्याउने भन्ने चुनौति बढेको छ । 

आज हामी तपाईँलाई यसको बारेमा बताउँदै छौँ । रिफर्बिस्ड र ब्रान्ड न्यु ल्यापटप चिन्ने सबैभन्दा सजिलो तरिका हो, सम्बन्धित ब्रान्डले दिने वारेन्टी र जानकारी । जुन अनलाइनबाट सहजै थाहा पाउन सकिन्छ । 

त्यसो त रिफर्बिस्ड ल्यापटपलाई नयाँ ल्यापटप भन्दै बिक्री गर्ने व्यापारीहरूले समेत स्थानीय वारेन्टी दिने गरेका हुन्छन् । यस्तो वारेन्टीमा उनीहरूले ल्यापटपमा समस्या आउँदा आफ्नो निजी तथा मिलेमतोका सर्भिस सेन्टरमार्फत मर्मत सम्भारको सुविधा उपलब्ध गराउँछन् । 

तर ब्रान्डले दिने वारेन्टी भने अन्तर्राष्ट्रिय स्तरको हुन्छ । जसमा सम्बन्धित ब्रान्डका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा गएर वारेन्टी सुविधा पाउन सकिन्छ । 

कसरी चिन्ने रिफर्बिस्ड र ब्रान्ड न्यु ल्यापटप ?

ब्रान्डले दिने वारेन्टी सहितको जानकारीका लागि सम्बन्धित कम्पनीको वेबसाइटमा जानु पर्ने हुन्छ । त्यसैले आजबाट हामी तपाईँलाई नेपालमा प्रचलित ल्यापटप ब्रान्ड डेल, लेनोभो, एसुस, एसर, एचपी र एप्पलको वारेन्टी थाहा पाउने तरिका छुट्टा छुट्टै रूपमा बताउँदै छौँ । आजको यो सामग्री डेल ब्रान्डका ल्यापटपमा केन्द्रित छ ।

यसका लागि सबैभन्दा पहिला तपाईँलाई आफूसँग रहेको डेल ल्यापटपको प्रोडक्ट आईडी वा डेल सर्भिस ट्याग थाहा हुन जरुरी छ । थाहा छैन भने पनि चिन्ता लिनु पर्दैन । विभिन्न प्रक्रिया अपनाएर आफ्नो ल्यापटपको प्रोडक्ट आईडी वा सर्भिस ट्याग फेला पार्न सक्नुहुन्छ । 

१. ल्यापटपको लेबल चेक गर्नुहोस्ः

अधिकांश डेल कम्प्युटरको केसमा लगाइएको लेबल तथा स्टिकरमा तपाईँले प्रोडक्ट मोडल नम्बर पाउन सक्नु हुन्छ । त्यस बाहेक डेल ल्यापटपको तल मूनी पट्टी, ब्याट्री रहने भाग, स्क्रिन, किबोर्ड आसपासमा हेर्नुहोस् ।

२. डेल सपोर्टअसिस्ट एपको सहयोग लिनुहोस्ः

सपोर्ट असिस्ट एउटा डेल एप्लिकेसन हो, जुन तपाईँको कम्प्युटरमा इन्स्टल भएर आएको हुन्छ । अपडेट र प्रोएक्टिभ रिजोलुसन फिचरको सहयोगमा यसले ल्यापटपमा आउने समस्याहरू पहिचान गर्ने तथा त्यसलाई रोकथाम गर्ने काम गर्दछ । 

  • विन्डोज ११ वा विन्डोज १० को सर्च बक्समा गएर सपोर्टअसिस्ट (SupportAssist) सर्च गर्नुहोस् ।

  • एप्लिकेसन खोल्नका लागि सर्च रिजल्टमा रहेको सपोर्ट असिस्टलाई छान्नुहोस् । 

  • तर यदि सर्च रिजल्टमा सपोर्टअसिस्ट देखिएन भने उक्त एप तपाईँको ल्यापटपमा इन्स्टल गरिएको छैन भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । यस्तो अवस्थामा यहाँ क्लिक गरेर सपोर्ट असिस्ट एप डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ । 

  • यो एप्लिकेसनको मेन स्क्रिनमा तपाईँले आफ्नो ल्यापटपको सर्भिस ट्याग देख्न सक्नु हुन्छ । 

३. कमान्ड प्रम्प्ट को सहयोगमाः 

  • विन्डोज सर्च बारमा गएर 'cmd' टाइप गर्नुहोस् र सर्च रिजल्टबाट कमान्ड प्रम्प्ट (Command Prompt) छनौट गर्नुहोस् । 

  • अब कमान्ड प्रम्ट विन्डोमा 'wmic bios get serialnumber' टाइप गर्नुहोस् र इन्टर बटन थिच्नुहोस् ।

  • यति गरिसकेपछि तपाईँले सर्भिस ट्याग तथा सिरियल नम्बर देख्न सक्नु हुनेछ । 

अब कहाँ राख्ने ?

त्यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । 

  • त्यसपछि एउटा सर्च बक्स देखिन्छ । त्यसमा आफ्नो ल्यापटपको प्रोडक्ट आईडी वा डेल सर्भिस ट्याग राखेर सर्च बटनमा थिच्नुहोस् । 

  • यति गरेपछि सम्बन्धित डेल ल्यापटपको वारेन्टी तथा सर्भिस सम्बन्धि विस्तृत विवरण देखिनेछ । 

  • जसमा तपाईँले शिप डेट अर्थात कम्पनीले बजारमा पठाएको मिति, प्राथमिक सपोर्ट अर्थात वारेन्टी अवधि आदि हेर्न सक्नुहुन्छ । यदि तपाईँलाई दिइएको वारेन्टी डेलको वेबसाइटमा देखिएको जानकारीसँग मिल्दोजुल्दो छ भने सम्झिनुहोस्, तपाईँले ब्रान्ड न्यु ल्यापटप नै खरिद गर्नु भएको हो । तर यदि डेलको वेबसाइटमा सिरियल नम्बर तथा सर्भिस ट्याग नै मिलेन वा तपाईँलाई दिइएको वारेन्टी खरिद गर्नु अगावै समाप्त भएको रहेछ भने सम्झिनुहोस् त्यो ल्यापटप रिफर्बिस्ड हो ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १६:२९