close

अब इमिरेट्स इन्डियाबाट सोझै ई-सेवामा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ १६:४७

अब इमिरेट्स इन्डियाबाट सोझै ई-सेवामा पैसा पठाउन सकिने

काठमाडौं । ई-सेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सको इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै युएईमा स्थायी रुपमा तथा कामको सिलसिलामा बसोबास गर्दै आएका नेपालीले इमिरेट्स इन्डियामार्फत सहजै पैसा पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार इमिरेट्स इन्डियाको युएईका विभिन्न सहरमा ३३ वटा शाखा रहेका छन् । उक्त शाखामार्फत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन सकिने जनाइएको छ । त्यसरी रेमिट्यान्स पठाउँदा जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको ई-सेवा वालेटमा सोझै पठाउन सकिने उल्लेख गरिएको छ ।

यसका साथै इमिरेट्स इन्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरि ई-सेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी दिनमा कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुनेछ ।

हाल ई-सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्नेछन् ।

इमिरेट्स इन्डिया मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिनेछ । जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ । साथै, इमिरेट्स इन्डियामार्फत आएको नगद रेमिट्यान्स आफ्नो ई-सेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप दुई सय रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा ई-सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इन्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका छन् ।

“युएइ नेपालीहरूको प्रमुख रोजगार गन्तव्य भएकाले  इमिरेट्स इन्डिया जस्तो पहिला देखि नै स्थापित अन्तराष्ट्रिय एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौँ ।,’’ इमिरेट्स इन्डियासँगको रेमिट्यान्स सम्झौताबारे सिइओ कोइरालाले भने, ‘‘अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहज हुनेमा हामी विश्वस्त छौँ ।’’

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ १६:४७