close

चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने स्कुटर नेपालमा, राइड शेयरिङ र डेलिभरीमा प्रयोग हुने*

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १३:१६

चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने स्कुटर नेपालमा, राइड शेयरिङ र डेलिभरीमा प्रयोग हुने*

काठमाडौं । ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो (Gogoro) आधिकारिक रूपमा नेपाल भित्रिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जी प्रालिले 'गोगोरो ब्याट्री स्वापिङ' र 'गोगोरो क्रसओभर स्मार्ट स्कुटर' सार्वजनिक गरेको हो । 

गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै 'स्वाप एन्ड गो'को सुविधाजनक पहुँच प्रदान गर्न ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ ।

त्यस्तै गोगोरोको 'क्रसओभर स्मार्ट स्कुटर जीएक्स २५०' (CrossOver Smartscooter GX250) नेपालका राइडरहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ । यसमा फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्स भएको कम्पनीको भनाइ छ ।

नेबुला इनर्जीले सुरुमा रणनीतिक साझेदार व्यवसायीहरूलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्नेछ । हाल यस्तो स्वापिङ स्टेसन लाजिम्पाट र त्रिपुरेश्वर गरी दुई ठाउँमा उपलब्ध छ । कम्पनीले हरेक दुई-तीन किलोमिटरमा उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर 'गो स्टेसन' स्थापना गर्ने योजना ल्याएकाे छ । 

नेबुलाले यसै वर्ष कर्पोरेट ग्राहकका साथै रिटेल बजारमा पनि स्मार्ट स्कुटर उपलब्ध गराउने बताएको छ । हाल रणनीतिक साझेदारको रूपमा रहेका फुडमाण्डु, जुमजुम राइड, गल्ली म्याप्स लगायतलाई यो स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

इच्छुक सर्वसाधारणले भने आउँदो दशैंदेखि मात्रै यो स्कुटर खरिद गर्न सक्नेछन् । रिटेल बजारमा उपलब्ध हुने बेलामा मात्र यसकाे मूल्य सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको सङ्ख्याभन्दा धेरै गोगोरो गो स्टेसन स्थापना गर्ने योजना ल्याएकाे छ । 

गोगोरो क्रसओभर स्मार्ट स्कुटर

नेबुला इनर्जीले गोगोरो क्रसओभर अल्टिमेट दुई पाङ्ग्रे एसयूभी जीएक्स २५० स्मार्ट स्कुटर ल्याएकाे छ ।

भारतको महाराष्ट्रमा निर्मित यस स्कुटर अल टेरेन फ्रेममा बनाइएकाले यसमा विभिन्न स्टोरेज, राइडिङ र कस्टमाइजेसन क्षमता रहेका छन् । 

यसले एक पटकको चार्जमा १५० किलोमिटर रेञ्ज दिनेछ । स्कुटरमा २.५ किलोवाट क्षमताको मोटर समावेश छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

नेपालमा मूल्य नखुलाइए पनि भारतमा एक लाख २० हजार भारुमा याे स्कुटर खरिद गर्न सकिन्छ । 

गोगोरो ब्याट्री-स्वापिङ टेक्नोलोजी

गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ प्रविधि हो, जुन स्मार्ट अनि सुरक्षित भएको दाबी गरिएको छ ।

ताइवानमा गाेगोरो नेटवर्कले छ लाखभन्दा बढी राइडरलाई सेवा दिएको छ । यसका २५०० स्थानमा उपलब्ध १२ हजार ब्याट्री स्वापिङ स्टेसनको नेटवर्कमार्फत १४ लाखभन्दा बढी स्मार्ट ब्याट्री सर्कुलेसनमा छन् ।

हाल गाेगोरोसँग ताइवानमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ९० प्रतिशत बढी बजारहिस्सा रहेकाे कम्पनीकाे दाबी छ ।

त्यस्तै गो स्टेसनको सङ्ख्या पेट्रोल स्टेसनभन्दा बढी छन् । चार लाखभन्दा बढी दैनिक ब्याट्री स्वाप र ५७ करोडभन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि आठ लाख ७० हजार ७५० टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट बचाएको कम्पनीको भनाइ छ ।

ब्याट्री स्वापिङ एक नयाँ तरिका हो, जसमा फुल चार्ज भएको ब्याट्रीलाई साट्न सकिन्छ । यसले प्रयोगकर्तालाई आफ्नो सवारी साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्ने कम्पनीकाे तर्क छ ।

(समाचारको शीर्षक परिवर्तन गरिएको छ । -स.)

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १८:२८