काठमाडौं । नाेकियाले औद्योगिक क्षेत्रलाई लक्षित गर्दै दुई नयाँ उपकरण ल्याउने तयारी गरेकाे छ । कम्पनीले चाँडै नै 'नोकिया एक्सआर २० इन्डस्ट्रियल एडिसन' स्मार्टफोन र 'नोकिया इन्डस्ट्रयिल फाइभजी फिल्ड' राउटर सार्वजनिक गर्ने बताएको छ ।
यी दुवै डिभाइसहरु विशेषगरी विष्फोट हुनसक्ने जोखिमपूर्ण ठूला-ठूला औद्योगिक क्षेत्रहरूका लागि तयार गरिएको कम्पनीले जनाएको छ । बलियो र टिकाउ स्मार्टफोन निर्माण गर्ने ब्रान्डको रुपमा नोकिया आज पनि परिचित छ ।
नयाँ आउने यी डिभाइसहरूले नोकियाको यो परिचयलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यी डिभाइसहरु पानी र धुलोले मात्र नभई आगोले पनि केही हुनेछैन ।
नोकिया एक्सआर २० इन्डस्ट्रियल एडिशन कम्पनीले गत वर्षको जुलाई महिनामा सार्वजनिक गरेको नोकिया एक्सआर २० कै अपग्रेडेड भर्सन हो । यो स्मार्टफोन एकदमै संवेदनशील रसायनहरू प्रयोग हुने र विष्फाेटहरूको जोखिम हुनसक्ने स्थानहरूमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै तेल ड्रिलिङ गर्ने ठाउँ, रासायनिक प्रशोधन कारखाना, धुलो खानी वा अन्य कुनै खतरनाक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले प्रयोग गर्न यो स्मार्टफोन उपयुक्त हुने कम्पनीको भनाइ छ ।
साथै कामदारहरूले आफ्नो स्मार्टफोनमा नोकिया टिम कम्स वा ग्रुप कम्युनिकेसन जस्ता एपमार्फत पुश-टु-टक र भिडिओ प्रयोग गरेर सञ्चार गर्न पनि सक्नेछन् ।
यस्तै नोकियाको इन्डस्ट्रियल फाइभजी फिल्ड राउटरले पुरानो औद्योगिक उपकरणहरू र निजी वायरलेस नेटवर्कसँग सम्बन्धित जडान समस्याहरू समाधान गर्ने कम्पनीले जनाएको छ ।
यसलाई खानी, बन्दरगाह र कारखानाजस्ता जोखिमपूर्ण र जटिल वातावरण भएको स्थानहरूमा प्रयोग गर्न सकिन्छ । यी डिभाइसहरुको मूल्य र अन्य फिचरबारेमा भने कम्पनीले अहिले नै कुनै जानकारी दिइसकेको छैन ।