close

फेसबुकमा ५ हजार साथी पुगे ? यसरी बनाउनुहोस् आफ्नो अकाउन्टलाई पेज

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ १०:३५

फेसबुकमा ५ हजार साथी पुगे ? यसरी बनाउनुहोस् आफ्नो अकाउन्टलाई पेज

काठमाडौं । फेसबुकले हालै नयाँ अपडेट ल्याएको छ । जसका माध्यमबाट आफूले प्रयोग गरिरहेको फेसबुक अकाउन्टलाई प्रोफेसनल फेसबुक अकाउन्ट (पेज) बनाउन सकिन्छ । आफूले प्रयोग गरिरहेको व्यक्तिगत अकाउन्टलाई नै प्रोफेसनल अकाउन्ट बनाउन सकिने हुँदा पाँच हजारभन्दा बढी साथी जोड्न चाहनेका लागि यो फिचर उपयोगी हुन्छ ।

फेसबुकले यसअघि फेसबुक अकाउन्टलाई छुट्टै पेज बनाउन सकिने फिचर ल्याएको थियो । तर, फिचरमा परिमार्जन गर्दै जाँदा फेसबुकले व्यक्तिगत अकाउन्टलाई पेज बनाउने सुविधा हटाएको थियो । अब भने इन्स्टाग्राम जस्तै व्यक्तिगत फेसबुक अकाउन्टलाई पनि प्रोफेसनल अकाउन्ट बनाउन सकिन्छ । यसलाई प्रोफेसनल पेज भनेर बुझिन्छ ।

अकाउन्टलाई आफ्नो आवश्यकता अनुसार प्रोफेसनल र सामान्य बनाउन सकिन्छ । विशेषगरी प्रोफेसनल अकाउन्टलाई मनिटाइज गर्न सकिने, पोस्ट बुस्ट गर्न सकिने भएकाले प्रोफेसनल अकाउन्ट बनाउन उपयुक्त हुन्छ ।

त्यस्तै उक्त अकाउन्टमा भएका साथी र फलोअरको सङ्ख्यामा जोडिने हुँदा व्यक्तिगत रूपमा प्रोफेसनल देखिन्छ । प्रोफेसनल अकाउन्ट बनाइसकेपछि तपाईँलाई नयाँ व्यक्तिले फ्रेन्ड बनाउनसक्ने छैनन् । तपाईँसँग जोडिन उनीहरूले तपाईँलाई फलो गरेको हुनुपर्छ ।

फेसबुक अकाउन्टलाई फेसबुक एपबाट सहजै पेज बनाउन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

  • त्यसपछि दायाँपट्टि माथि देखाइएको तीन ओटा लाइनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि आफ्नो प्रोफाइल फोटोमा क्लिक गरेर टाइमलाइनमा जानुहोस् ।

  • त्यसपछि टाइमलाइनमा एडिट प्रोफाइलको छेउमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि तलपट्टि रहेको टर्न अन प्रोफेसनल मोड (Turn on  professional mode) मा क्लिक गर्नुहोस् ।

  • त्यसपछि प्रोफेसनल मोडको फाइदाबारे लेखिएको पेज खुल्छ । तल गएर टर्न अन (Turn on) को अप्सनमा क्लिक गर्नुहोस् ।

  • तपाईँले प्रोफाइलमा बायो, कभर फोटो, कन्टेन्ट राख्नुभएको छ भने केही गर्नुपर्दैन । तर, ती कुरा पूरा भएका छैनन् भने त्यही देखाइएको अप्सनबाट कभर फोटो राख्नुहोस् ।

  • तलको सेक्सनमा गएर बायो राख्नुहोस् ।

  • त्यसभन्दा तलको अप्सनमा गएर प्रोफाइल पिक्चर राख्नुहोस् । (यी विकल्पलाई स्किप गर्न पनि पाइन्छ ।)

  • यी सबै प्रक्रिया सकेपछि केही बेर पर्खिनुहोस् । त्यसपछि फेसबुकलाई क्लियर गरेर पुनः खोल्नुहोस् । त्यसपछि तपाईँको अकाउन्ट प्रोफेसनल अकाउन्टमा परिणत हुन्छ ।

 

प्रोफेसनल अकाउन्टबाट अन्य व्यक्तिलाई साथी बनाउन सकिन्छ । तर, अरूले तपाईँलाई फ्रेन्ड रिक्वेस्ट भने पठाउन सक्दैनन् । तपाईँसँग जोडिन चाहेको व्यक्तिले तपाईँलाई फलो गर्नुपर्ने हुन्छ । यदि तपाईँ फलो गरेको व्यक्तिलाई साथी बनाउन चाहनुहुन्छ भने फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ ।

यदि प्रोफेसनल मोड चित्त बुझेन भने पहिलेकै साधारण मोडमा फिर्ता आउन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

  • त्यसपछि दायाँपट्टि रहेको तीन ओटा लाइनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गरी प्रोफाइलमा जानुहोस् ।

  • त्यसपछि 'एडिट प्रोफाइल'को छेउमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि अन्तिमभन्दा एक स्टेपमाथि रहेको टर्न अप प्रोफेसनल मोडमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि तपाईँको फेसबुक प्रोफाइल पुरानै अवस्थामा फिर्ता आउँछ । 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ १०:३५