close

डेटा ट्रान्सफरमा अहिलेसम्मकै ठूलो सफलता, एक सेकेन्डमा २३ करोड फोटो डाउनलोड हुने

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ ११:६

डेटा ट्रान्सफरमा अहिलेसम्मकै ठूलो सफलता, एक सेकेन्डमा २३ करोड फोटो डाउनलोड हुने

काठमाडाैं । वैज्ञानिकहरु प्रति सेकेन्ड १.८४ पेटाबिट (१८४० टेराबिट) डेटा ट्रान्सफर गर्न सफल भएका छन् । फाइबर अप्टिक्समा कम्प्युटर चिप प्रयोग गरेर वैज्ञानिकले डेटा ट्रान्सफरमा ठूलो सफलता हासिल गरेका हुन्, जुन उपलब्धि सम्पूर्ण इन्टरनेटको ट्राफिकभन्दा झन्डै दोब्बर हो ।

डेटा ट्रान्सफरमा हात पारेकाे उक्त सफलतामा लगभग २३ कराेड फोटाेहरु एक सेकेन्डमै हुने दाबी गरिएकाे छ । कोपेनहेगनमा भएको टेक्निकल युनिभर्सिटी अफ डेनमार्कका विद्यार्थी एस्ब्जोर्न अरवाड जाेर्गेनसेन र उनका विभिन्न देशका साथीहरुले उक्त सफलता हात पारेका हुन् ।

उनीहरुले ‘फोटोनिक’ चिप प्रयाेग गरेर डेटाकाे स्ट्रिमलाई हजाराैं अलग च्यानलहरूमा विभाजन गरेका थिए । फाेटाेनिक एउटा यस्ताे प्रविधि हाे, जसले अप्टिकल कम्पाेनेन्टहरु कम्प्युटर चिपहरुमा निमार्ण गर्ने वातावरण तयार गर्छ ।

उनीहरुले प्रत्यक फाइबर अप्टिक केबलका लागि स्ट्रिमलाई ३७ खण्डहरूमा विभाजन गरेका थिए । त्यसपछि ती प्रत्येक खण्डलाई इलेक्ट्रो-म्याग्नेटिक स्पेक्ट्रममा २२३ डेटा खण्डमा विभाजन गरेका थिए । यसरी उनीहरुले ती सबैलाई एक-अर्कासँग हस्तक्षेप नगरी ७.९ किलोमिटरसम्म एकैचोटी प्रसारण गरेका थिए ।

“विश्वमा इन्टरनेटकाे ट्राफिक प्रतिसेकेन्ड एक पेटाबिट हुने गर्दछ । हामी त झन्डै प्रति सेकेन्ड २ पेटाबिट डेटा ट्रान्सफर गर्न सफल भयाैँ,” जोर्गेनसेन भन्छन्, “याे एक निकै नै ठूलाे परिमाणकाे डेटा हाे । हामीले अझ एक वर्ग मिलिमिटरकाे केवल प्रयाेग गरेका थियाैँ । यस कार्यलाई अझ अध्ययन गरेर अगाडि बढ्याैँ भने इन्टरनेट जडानमा हामी धेरै फड्काे मार्न सक्छाैँ ।”

हाल विश्वमा ‘बल्कियर’ नामक उपकरणबाट १०.६६ पेटाबिट प्रति सेकेन्डको डेटा ट्रान्सफर भइरहेकाे छ । तर जोर्गेनसेन र उनका साथीले विकास गरेकाे प्रविधिमा केही सुधार भयाे भने त्याे उपलब्धिलाई पनि भेट्न सकिने बताइएकाे छ ।

उनीहरुले विकास गरेकाे याे प्रविधि बल्कियर उपकरणकाे तुलनामा निकै सस्ताे र सजिलाे प्रविधि रहेकाे छ । जाेर्गेनसेनले हालको सेटअपमा सुधार गरेर सानाे सलाईकाे बट्टा आकारमा चिप डिजाइन गर्नेबारे साेचिरहेका छन्, जुन विकास गरियाे भने डेटा ट्रान्सफरमा एक ठूलाे सफलता हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ १५:२०