close

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका एन्ड्रोइड एप जाभाबाट कोटलिनमा सार्दैछ मेटा ? यस्तो छ कारण

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १७:५४

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका एन्ड्रोइड एप जाभाबाट कोटलिनमा सार्दैछ मेटा ? यस्तो छ कारण

काठमाडाैं । फेसबुककाे मातृ कम्पनी मेटाले आफ्ना थुप्रै एन्ड्राेइड एपका काेडबेसलाई जाभाबाट काेटलिन प्राेग्रामिङ ल्याङ्ग्वेज (भाषा) मा रूपान्तरण गरिरहेकाे छ । यसका लागि आफूहरूले केही वर्षदेखि काम गर्दै आएकाे र अझै समय लाग्‍ने कम्पनीले बताएको छ । 

फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, पोर्टल, क्वेस्ट भीआर हेडसेट लगायतका एन्ड्राेइड एप भएकाे मेटाका इन्जिनियरहरूका लागि यी काम निकै चुनाैतीपूर्ण छन् । “हाल एन्ड्राेइड एपहरू विकास गर्न प्रयाेग गरिरहेकाे जाभाबाट कोटलिनमा जानु कुनै मामुली काम होइन,” फेसबुकका सफ्टवेयर इन्जिनियर ओमेर स्ट्रुलोविचले भनेका छन् ।

अहिले मेटाका एपहरूको कोटलिनमा माइग्रेसनकाे काम हुँदै छ । मेटाका एन्ड्रोइड एप रिपोजिटरीहरूमा यस अघि नै कोटलिनका एक करोड लाइन काेड लेखिसकिएकाे थियाे ।

इन्जिनियर स्ट्रुलोविच भन्छन्, “फेसबुक, मेसेन्जर र इन्स्टाग्राम प्रत्येकमा करिब १० लाख काेटलिनका लाइनहरू रहेका छन् । तर अहिले रूपान्तरणको दर निकै नै तीव्र भएको छ । कूल मिलाएर हाम्रो एन्ड्रोइड कोडबेसमा कोटलिन काेडका एक करोड भन्दा बढी लाइनहरू छन् ।”

जाभा शीर्ष तीन प्रोग्रामिङ भाषा मध्येको एक हो । पछिल्लाे समय यसकाे बढी प्रयाेग बढी मात्रामा उद्यमसँग सम्बन्धित एपहरूमा हुन थालेकाे छ । कोटलिन कम लोकप्रिय भए पनि शीर्ष २० भित्र पर्ने प्रोग्रामिङ भाषा हो ।

मेटाले आफ्ना एपहरूकाे आकारलाई ध्यानमा राखेर एन्ड्राेइड एप विकासका लागि जाभाबाट काेटलिनमा रूपान्तरण गर्नु एक  काेशेढुङ्गा मानिएकाे छ । तर यति हुँदाहुँदै पनि ठूला एपहरूमा प्राेगामिङ भाषा रूपान्तरण गर्नु एकदमै जाेखिमपूर्ण रहेको इन्जिनियर स्ट्रुलोविच बताउँछन् । 

यी दुई प्राेगामिङ भाषाहरू बीचकाे पहिलाे भिन्नता भनेकाे लाेकप्रियता हाे । त्यसपश्चात यी भाषामा रहेका सीमित टुलहरूका कारण कोटलिन-जाभा अकाउण्टमा इन्टरअपरेबिलिटीकाे जटिलता रहन्छ ।

यी दुई भाषाहरूमा इन्टरअपरेबिलिटी भए पनि मेटाले पूर्ण रूपमा जाभालाई हटाउन भने सक्ने छैन । 

“कोटलिन एक लोकप्रिय भाषा हो, तर जाभासँग तुलना गर्दा, लोकप्रियताको अन्तर स्पष्ट छ । जाभा संसारको दोस्रो वा तेस्रो लोकप्रिय प्रोग्रामिङ भाषा हो । यसको मतलब थोरै टुलहरू उपलब्ध छन् ।"

"यसकारण सबै कोटलिन टुलहरूका लागि कोटलिन-जाभा इन्टरअपरेबिलिटीको अकाउण्ट बनाउन आवश्यक छ । जसले कार्यान्वयनलाई जटिल बनाउँछ,” स्ट्रुलोविच भन्छन् । 

तर मेटाको सबैभन्दा ठूलो चिन्ता जाभाकाे तुलनामा कोटलिनमा निर्माण समय (कम्पाइल गर्न लाग्ने समय) ढिलो हुनु हो ।

“हामीलाई कोटलिनको निर्माण समय जाभाको भन्दा ढिलाे छ भन्ने कुरा सुरुदेखि नै थाहा थियो । भाषा र यसको इकोसिस्टम धेरै जटिल छ भन्ने पनि थाहा थियाे ।"

"जाभाले आफ्नाे कम्पाइलरलाई अप्टिमाइज गर्न दुई दशकदेखि काम गरेको थियो । हामीसँग धेरै ठूला एपहरू भएकाले कम्पाइलिङकाे समय लामो हुँदा हाम्रा डेभलपरहरूलाई नकारात्मक असर पार्न सक्छ,” स्ट्रुलोविच चिन्ता व्यक्त गर्छन् ।

स्ट्रुलोविच सन् २०१९ मा एचटीटीपी क्लाइन्ट प्रोजेक्ट ‘ओके एचटीटीपी’लाई जाभाबाट कोटलिनमा परिवर्तन गर्दाकाे अनुभव सुनाउँछन् ।

“ओके एचटीटीपी’ सानाे थियाे । यसमा कोटलिनका केवल २४ हजार लाइनहरू मात्र थिए । ती लाइन कम्पाइल गर्न जाभामा २.४ सेकेन्ड मात्र लागेकाे थियाे भने काेटलिनमा १०.२ सेकेन्ड लागेकाे थियाे ।”

यसै कारण मेटाका इन्जिनियरहरूले कोटलिन प्रयोग गरेर नयाँ कोड लेख्नु र जाभामा अवस्थित धेरै जसो कोड छोड्नुको साटो तिनीहरूका सबै कोडहरू कोटलिनमा रूपान्तरण गर्ने निर्णय गरेका छन् ।

स्वचालित रुपमा काेड रूपान्तरण गर्ने तरिका पत्ता लगाउन प्रेरित गर्ने उद्देश्यका साथ मेटाले गिटहबमा धेरै ‘इन हाउस काेटलिन कन्भर्सन टुल’हरू उपलब्ध गराएकाे छ ।

गत वर्ष फेसबुकका इन्जिनियरहरूले काेटलिन प्रयाेग गर्न सजिलाे हुने बताएका थिए । तर ठूलाे मात्रामा गर्दा गाह्राे हुने देखिएकाे छ ।

स्ट्रुलोविचका अनुसार काेटलिनकाे प्रयाेग पछि हालसम्म मेटाकाे कोडबेसको आकार ११ प्रतिशतले घटेकाे छ । गुगल हाेम टिमले नयाँ सुविधा सहितको काेडलाई कोटलिनमा स्थानान्तरण गर्दा आफ्नो एपको कोडबेसकाे आकार ३३ प्रतिशतले घटेकाे रिपोर्ट दिएका थिए ।

गुगलकाे म्याप्स, प्ले, ड्राइभ लगायत ७० भन्दा बढी एन्ड्रोइड एपहरू आंशिक रूपमा भएपनि कोटलिनबाट  निर्माण गरिएका छन् । गुगलका अनुसार जाभाकाे तुलनामा काेटलिन कुशल, सुरक्षित र सानाे काेडबेस उत्पादन गर्ने भाषा हो ।

साथै काेटलिन भाषा जाभासँग पूर्ण रुपमा अन्तरकृयायाेग्य रहेकाे छ । मेटाकाे याे कदमलाई गुगलको कोटलिन उत्पादन प्रबन्धक जेम्स वार्डले स्वागत गरेका छन् । उनले मेटा कोटलिनमा सरेको देख्दा उत्साहित भएकाे र सफलता पाएकोमा खुशी भएकाे बताएका छन् । 

सन् २०१९ सम्म धेरैजसो एन्ड्रोइड एपहरू जाभामा बनाइएका हुन्थे । मे २०१९ मा भएकाे डेभलपरहरूकाे एक सम्मेलनबाट गुगलले एन्ड्रोइड डेभलपरहरूलाई कोटलिन प्रयाेग गर्न प्रोत्साहन गर्न थालेकाे हो ।

त्यस वर्षको अन्त्यमा ठूला सर्च इन्जिनहरूले शीर्ष हजार एन्ड्रोइड एपहरूमध्ये ६० प्रतिशतमा कोटलिन कोड रहेको बताएका थिए । पछिल्लाे समय ठूला कम्पनीहरूकाे राेजाइमा परिरहेकाे काेटलिन भाषा सन् २०११ मा विकास भएकाे हो ।

उक्त भाषालाई सफ्टवेयर उपकरण निर्माता जेटब्रेन्सले तयार पारेका थिए । यसकाे भर्सन १.० भने सन् २०१६ मा मात्रै उपलब्ध भएकाे थियाे । त्यसकाे एक वर्षपछि गुगलले आफ्ना एन्ड्राेइड एपहरू विकास गर्न प्राथमिक भाषाकाे रुपमा काेटलिनलाई चयन गरेकाे थियाे ।

हाल याे भाषा जेटब्रेन्सले स्थापना गरेको फाउन्डेसनको व्यवस्थापन अन्तर्गत रहेकाे छ । जसलाई गुगलले सहयाेग प्रदान गरिरहेकाे छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १८:१३