close

ट्वीटरका संस्थापक डोर्सीले ल्याए नयाँ सामाजिक सञ्जाल

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ ८:१३

ट्वीटरका संस्थापक डोर्सीले ल्याए नयाँ सामाजिक सञ्जाल

काठमाडौं । माइक्रोब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटरका संस्थापक ज्याक डोर्सीले नयाँ सामाजिक सञ्जाल घोषणा गरेका छन् । ट्वीटरका पूर्व सीईओ समेत रहेका डोर्सीले  हालै बेटा भर्सनका रूपमा ल्याएकाे ब्लुस्काई साेसल एपमा ३० हजार बढी साइनअप भइसकेको छ ।

ब्लुस्काईले दिएको जानकारी अनुसार यसमा क्रियटरलाई प्लेटफर्मकाे स्वतन्त्रता, डेभलपरलाई निर्माण गर्ने स्वतन्त्रता र प्रयोगकर्ताले उक्त प्लेटफर्मबाट चाहे अनुसारको अनुभव लिन सक्नेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गिजमोडोका अनुसार ब्लुस्काईको प्रमुख विशेषता नै यसको प्रविधि हो ।

यसलाई कम्पनीले अथेन्टीकेटेड ट्रान्सफर अर्थात् एटी प्रोटोकल भनेको छ । जसले प्रयोगकर्तालई उनीहरूको एल्गोरिदममा पूरा नियन्त्रण दिने गर्छ । डोर्सीले सन् २०१९ मा नै ट्वीटरले सामाजिक सञ्जालका लागि ओपन तथा डिसेन्ट्रलाइज्ड स्ट्यान्डर्ड विकास गर्न लागेको घोषणा गरेका थिए ।

मस्क र ट्वीटरबीचको कानूनी लडाइँका क्रममा सार्वजनिक भएको डोर्सी र मस्कबीचको गोप्य च्याटमा डोर्सीले नयाँ प्लेटफर्म आवश्यक भएको बताएका थिए । उनले नयाँ सामाजिक सञ्जाल कम्पनी नहुने र यसमा ओपन सोर्स प्रोटोकल रहने बताएका थिए ।

यो सिग्नल एप जस्तै भए पनि विज्ञापन मोडेलमा नरहने उनको भनाइ थियो । डोर्सीले अन्य सहसंस्थापक सहित २००६ मा ट्वीटर विकास गरेका थिए । उनी सन् २०१५ बाट २०२१ सम्म ट्वीटरमा सीईओका रूपमा कार्यरत थिए । उनले सीईओ पद त्यागेपछि सीटीओका रूपमा कार्यरत पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ बनेका थिए ।

ट्वीटर मस्कको स्वामित्वमा भएपछि उनले पराग अग्रवालसहित शीर्ष कर्मचारी बर्खास्त गरेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ ८:१३