काठमाडौं । वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा आजदेखि 'वर्डक्याम्प २०२२' सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा ५०० भन्दा बढीकाे सहभागिता रहेकाे आयोजकले जनाएको छ । कार्यक्रममा पहिलो दिन आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट सूचना र प्रविधिका विविध विषयमा प्रशिक्षण तथा छलफल हुनेछ भने दोस्रो दिन वर्डप्रेसका विभिन्न विधामध्ये भाषा अनुवाद, थिम समीक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टेसन आदि विषयमा प्रशिक्षण दिइने छ ।
कार्यक्रमबाट वर्डप्रेसमा व्यावसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचना प्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ ।
वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।