close

छिटो फाइल शेयर गर्न सामसङले ल्यायो नयाँ मोबाइल एप

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १७:९

छिटो फाइल शेयर गर्न सामसङले ल्यायो नयाँ मोबाइल एप

काठमाडौं । सामसङले ग्यालेक्सी फोनका लागि नयाँ फाइल शेयरिङ एप सार्वजनिक गरेको छ । कम्पनीले प्रारम्भिक चरणमा दक्षिण कोरियाली प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो एप ल्याएको हो ।

ड्रपशिप नामक उक्त एपले दुई विभिन्न डिभाइसबाट छिटो फाइल शेयर गर्न सकिने कम्पनीको भनाई छ । सामसङले पछिल्लो समय उपलब्ध गराएको वन यूआई फाइभमा ड्रपशिप एप सपोर्ट गर्ने बताइएको छ ।

यसको अर्थ ग्यालेक्सी फोन प्रयोगकर्ताले आफ्नो डिभाइसमा पछिल्लो सफ्टवेयर अपडेट इन्स्टल गरेको हुनुपर्छ । यदि तपाईँले आफ्नो ग्यालेक्सी फोनमा पछिल्लो अपडेट इन्स्टल गर्नु भएको छ भने सामसङको यो एप प्रयोग गर्न सक्नु हुनेछ ।

ड्रपशिप एपको माध्यमबाट आईओएस तथा वेब डिभाइसमा  तत्कालै फाइल शेयर गर्न सकिने कम्पनीले बताएको छ । हाल यो एप दक्षिण कोरियामा मात्र उपलब्ध गराइएको छ ।

कम्पनीले यो एप अन्य देशका प्रयोगकर्तालाई कहिलेबाट उपलब्ध हुन्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाएको भने छैन । प्रयोगकर्ताले ड्रपशिप एप ग्यालेक्सी स्टोरबाट इन्स्टल गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ड्रपशिपले वनड्राइभ, गुगल ड्राइभ, सामसङ ग्यालेरी, गुगल फोटोज लगायतका एपलाई सपोर्ट गर्ने छ । यदि तपाईँलाई कुनै पनि फाइल शेयर गर्नुपर्‍यो भने ड्रपशिपले छुट्टै लिङ्क वा क्यूआर कोड उपलब्ध गराउँछ ।

फाइल शेयर गर्न लागिएको अर्को डिभाइसमार्फत उक्त क्यूआर कोड स्क्यान गरेर वा लिङ्क ब्राउज गरेर फाइल पाउन सकिन्छ । त्यस्तै लिङ्क बनाइएको छ भने त्यसमा समय सीमा पनि राख्न सकिने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले एक पटकमा ड्रपशिपबाट पाँच जीबीसम्मको फाइल शेयर गर्न सक्ने छन् । यदि तपाईँलाई त्यसभन्दा ठूला साइजका फाइल शेयर गर्नुपर्ने छ भने अन्य विकल्प खोज्नुपर्ने हुन्छ ।

सामसङले अहिले गुड लक एपमा क्यामेरा असिस्टेन्ट सपोर्ट गर्ने फिचर ल्याएको छ । जसको माध्यमबाट प्रयोगकर्ताले फोटोमा अटो एचडीआर, अटो सफ्टेनिङ वा अन्य टुल प्रयोग गरेर कस्टमाइज गर्न सक्छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १७:४५