close

ट्वीटरको नौटङ्कीसँगै उछालिँदै विकेन्द्रिकृत र विज्ञापनरहीत सामाजिक सञ्जाल मास्टडन

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ ९:२३

ट्वीटरको नौटङ्कीसँगै उछालिँदै विकेन्द्रिकृत र विज्ञापनरहीत सामाजिक सञ्जाल मास्टडन

काठमाडौं । ट्वीटरको विकल्पमा हेरिएको विकेन्द्रिकृत सामाजिक सञ्जाल मास्टडन पछिल्लो समय निकै चर्चामा छ । ट्वीटरको नौटङ्कीकै बीच यो मोबाइल एपका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १० लाख नाघेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा मुख्य डेभलपर इयुगेन रोचकोले सोमबार यो विषयमा एक पोस्ट गर्दै जानकारी दिएका हुन् ।

एलन मस्कले ट्वीटर हत्याए पछि जर्मनीमा आधारित मास्टडनले तीव्र वृद्धि हासिल गरिरहेको छ । अक्टोबर २७ यता मात्रै यो सामाजिक सञ्जालमा जोडिनेको सङ्ख्या झन्डै पाँच लाख रहेको छ । २३ करोड ८० लाख दैनिक सक्रिय प्रयोगकर्ता रहेको ट्वीटरको दाँजोमा प्रयोगकर्ता आधार सानै भए पनि २७ अक्टोबर अघि प्रति घण्टा ६०-७० ओटा नयाँ प्रयोगकर्ता थपिने गरेकोमा मास्टडनमा आजको दिनमा प्रति घण्टा हजारौँले रजिष्ट्रेसन गर्न थालेका छन् । ट्वीटरको विवादास्पद नयाँ स्वामित्व र यसमा आएका पछिल्ला परिवर्तनले मास्टडनको विस्तारलाई फाइदा पुगेको छ ।

केही प्रयोगकर्ताले एलन मस्क अन्तर्गत ट्वीटरमा कस्तो परिवर्तन होला भन्ने विषयले उनीहरूलाई मास्टडनतर्फ मोडिन प्रेरित गरेको उल्लेख गरेका छन् । त्यस्तै कतिपय ट्वीटरको सशुल्क भेरिफिकेसन स्किम विरुद्ध प्रदर्शनको रूपमा समेत यो नयाँ सामाजिक सञ्जालमा जोडिन थालेका छन् ।

ट्वीटरको दाँजोमा मास्टडनले विभिन्न तवरको अनुभव प्रदान गर्ने गरेको छ । जसमा ह्यासट्याग, रिप्लाई, बोकमार्किङ र रिट्वीट जस्तै 'बुस्टिङ' समेत रहेका छन् । यसमा रहेको ट्वीटर भन्दा फरक फिचर भनेको यो माध्यम विज्ञापन रहित छ । साथै यसको सर्भर विश्वका विभिन्न क्षेत्रमा वितरित छ । खासगरी सङ्घको रूपमा रहेको यो माध्यम सञ्चालनका लागि ठूलो सङ्ख्यामा रहेका स्वयम्‌सेवीहरू आफ्नो व्यक्तिगत सिस्टमसहित आबद्ध हुने गरेका छन् ।

एक पटक यसमा 'साइन अप' गरी वेब तथा मोबाइल क्लाइन्टको सर्भर तानिसकेपछि मास्टडन प्रयोगकर्ताले आफ्नै सर्भरका साथै त्यसमा रहेका अन्य प्रयोगकर्ताको सर्भरमा पोस्ट तथा लिङ्कहरू शेयर गर्न सक्छन् । यसमा रहेका हरेक सर्भरले अनावश्यक प्रकारका सामग्रीहरू सीमित गर्ने वा फिल्टर गर्न सक्छन् । जसमा यदि आफूमाथि उत्पीडन वा हिंसा भएको खण्डमा कुनै पनि सर्भरमा रहेका प्रयोगकर्ताले त्यस्ता व्यक्तिलाई ब्लक गर्न र एडमिनिस्ट्रेटरलाई त्यसको बारेमा रिपोर्ट गर्न सक्छन् ।

सन् २०१६ मा स्थापना भएको मास्टडनलाई क्राउड फन्डिङका साथै युरोपियन कमिसनको सामान्य अनुदानको साथ छ । यो कुनै केन्द्रिकृत संरचनाबाट शासित छैन । कुनै पनि सर्भर धनीले आफ्नो चाहना लाद्न वा नेटवर्क बन्द गर्न पाउँदैन । एउटा सर्भर धनीलाई यदि कुनै अर्को सर्भरवालाको नीति गलत वा चरपन्थी प्रकारको लाग्यो भने त्यस्तो सर्भरसँग सम्बन्ध तोड्न सक्छ ।

विकेन्द्रिकृत डिजाइनले गर्दा मास्टडनको सञ्चालन र बजारिकरणको खर्च घटाएको छ । २५ वर्षीय रोचको यो परियोजनाका एक मात्र पुर्णकालीन कर्मचारी हुन् । जसले मासिक दुई हजार ३९४.९६ अमेरिकी डलरको तलबमा जर्मनी स्थित आफ्नै घरबाट काम गर्छन् । उनी दैनिक माग धान्न १२ देखि १४ घण्टा काम गर्छन् । पछिल्लो एक पोस्टमा उनले मास्टडनको डेटाबेस सर्भर अपग्रेड गर्न थप शक्तिशाली हार्डवेयर खरिद गर्न लागेको उल्लेख गरेका छन् । ​​​​​​​  

 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ ९:२३