close

के हो स्टार्टअप, अनि कसरी सफल हुने ?

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १९:३

के हो स्टार्टअप, अनि कसरी सफल हुने ?

काठमाडौं । मानिसहरूको मस्तिष्कमा हरेक दिन नयाँ नयाँ विचार आइरहेको हुन्छ । कतै कुनै समस्या देख्दा त्यसलाई व्यापारको योजना बनाउनेहरूको कमी छैन । समाजमा देखेका समस्यालाई सबैले व्यापारमा परिणत गर्न सक्छन् भन्ने पनि हुँदैन । त्यस्ता समस्यालाई समाधान गरेर व्यापारका रूपमा अगाडि बढाउने योजना हुनु नै स्टार्टअपको सुरुवात हो ।

स्टार्टअपको परिभाषा सबै सन्दर्भमा एउटै हुन्छ भन्ने हुँदैन । उद्यमशीलतामा केन्द्रित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फोर्ब्सका अनुसार स्टार्टअप भनेको त्यस्तो युवा कम्पनी हो, जसले एउटा विशिष्ट उत्पादन वा सेवा विकास गर्छ । र, त्यस्तो उत्पादन ग्राहकका लागि अपरिहार्य हुन्छ ।

त्यस्तै स्टार्टअपलाई लिएर विकिपेडियामा लेखिएको छ, "स्टार्टअप एउटा त्यस्तो कम्पनी वा परियोजना हो, जसलाई एक उद्यमीले विस्तार योग्य बिजनेस मोडेल खोज्न र विकास गर्न सुरु गरेको हुन्छ । यसैगरी इन्भेस्टोपेडिया भन्छ, "स्टार्टअप एक उद्यम वा कम्पनी हो, जुन एकल उत्पादनमा केन्द्रित हुन्छन् र संस्थापकले त्यस्ता उत्पादन बजारमा ल्याएर जल्दोबल्दो समस्या समाधान गर्दै राम्रो आम्दानी गर्छन् ।"

भनिन्छ कुनै पनि स्टार्टअपका लागि नवीनतम विचार र सोच महत्त्वपूर्ण हुन्छ । तर, यी दुवै हुँदा हुँदै पनि तपाईँको स्टार्टअप सफल हुन्छ भन्ने हुँदैन । नवीनतम विचार र उत्साहलाई मात्र लिएर स्टार्टअप सुरु गर्न खोज्दा असफल हुने सम्भावना धेरै हुन्छ । त्यसका लागि विशेष कुराहरू ध्यान दिनुपर्छ ।

स्टार्टअप सुरु गर्नुअघि योजना निकै महत्त्वपूर्ण हुन्छ । योजना बनाउनुअघि समाजमा बस्ने मानिसहरूको जल्दोबल्दो समस्या के छन् भन्ने केलाउनुपर्छ । ती समस्यालाई समाधान गर्ने त्यस्तो बिजनेस मोडेल तयार पार्नुहोस् जो तपाईँबिना अपुरो होस् ।

एउटा त्यस्तो उत्पादन तयार गर्नुहोस् जसको सहयोग बिना अरूको समस्या नै समाधान नहोस् । कतिपय अवस्थामा स्टार्टअप त्यस्तो हुनुपर्छ । जो बजारमा स्थापित भएका कम्पनीको विपरीतमा उभिन सकोस् । उनीहरूले लामो समयदेखि उपलब्ध गराएको सेवा त्यस क्षेत्रका व्यक्तिहरूका लागि समस्या भएको हुन्छ ।

उक्त कम्पनीको उत्पादन वा सेवालाई सम्बोधन गर्दै स्तरीय सेवा दिन सकियो भने त्यस्ता सेवाले राम्रो बजार पाउँछन् । कतिपय यस्तो अवस्था आइदिन्छ जहाँ तपाईँले बजारमा उत्कृष्ट उत्पादन ल्याइदिनुहुन्छ । तर, उपभोक्तालाई तपाईँको उत्पादन वा सेवा आवश्यक पर्दैन ।

आफूलाई आवश्यकता परेको सेवा वा उत्पादनमा यत्तिकै खर्च गर्न कसैले चाहेको हुँदैन । यदि उपभोक्तालाई बजारमा स्थापित कुनै कम्पनीको सेवाले आवश्यकता परिपूर्ति गरेको छ भने तपाईँले ल्याएको उत्कृष्ट सेवा आवश्यक नपर्न सक्छ । त्यसैले सबैभन्दा पहिले तपाईँले बजारको आवश्यकता र माग के हो भन्ने कुरा राम्रोसँग बुझेको हुनुपर्छ । स्टार्टअप सुरु गर्नुअघि यी तीन कुरा ध्यान दिनुहोस् ।

-सबैभन्दा पहिले समाजको जल्दोबल्दो समस्या खोज्नुहोस् ।

-त्यसपछि उक्त समस्याको समाधानका लागि उपाय खोज्नुहोस् ।

-उक्त उपाय (उत्पादन वा सेवा) बजारमा बिक्छ वा बिक्दैन भन्ने कुराको परीक्षण गर्नुहोस् ।

उत्पादन वा सेवा बजारमा ल्याइसकेपछि तपाईँले आफूले ल्याएको उपाय (उत्पादन वा सेवा) को विज्ञापन गर्नुपर्ने हुन्छ । यदि तपाईँको उत्पादन लिन उपभोक्ता तपाईँको ढोकासम्म आए भने बुझ्नुहाेस् लगानीकर्ता पनि त्यसैगरी तपाईँको ढोकासम्म पुग्छन् ।

स्टार्टअपले गर्दा त्यसले समाजको समस्या समाधान गर्दैमा सफल भइन्छ भन्ने हुँदैन । तपाईँको स्टार्टअप त्यस्तो होस् जसले समाजको जल्दोबल्दो समस्यालाई समाधान गर्न सकोस् । तपाईँले जति ठूलो समस्यालाई पहिचान गर्नुभयो तपाईँको स्टार्टअप त्यती नै ठूलो हुन्छ । र, बजार आफैं विस्तार हुँदै जान्छ ।

स्टार्टअपबारे योजना बनाइसकेपछि आफैंले आफैंसँग धेरै प्रश्न गर्नुपर्छ । विशेषगरी तपाईँले भेटाएको समस्या समाजको जल्दोबल्दो समस्या हो वा होइन भन्ने कुरा राम्रोसँग पहिचान गर्नुहोस् । यदि जल्दोबल्दो समस्या हो भने पहिले कसैले उक्त समस्या समाधान गर्न खोजेको छ वा छैन भन्ने कुरा पनि खोज्नुहोस् ।

यदि छ भने तपाईँले उक्त कम्पनी वा व्यक्तिभन्दा स्तरीय सेवा वा उत्पादन दिन सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने कुराको योजना बनाउनुहोस् । तपाईँले सेवा वा उत्पादन बजारमा ल्याइसकेपछि त्यसले तपाईँको लगानी उठाउन सक्छ? यसमा पहिले घाटा नै व्यहोरेर व्यापार सुरुवात गर्न सक्छु भन्ने तपाईँको धारणा हुनसक्छ ।

तर, स्टार्टअप गर्दा नेगेटिभ क्याशफ्लो वा नेगेटिभ मार्जिन छ भने सोच्नुस् तपाईँ आफ्नो स्टार्टअपलाई नकारात्मक बाटोतर्फ लग्दै हुनुहुन्छ । मार्जिनबिना व्यापार विस्तार गर्नु भनेको आत्महत्या गर्नु सरह हो भनिएको छ । त्यसैले त्यस्तो उत्पादन बनाउनुहोस् जसले तपाईँलाई नाफा दिन सकोस् ।

लगानीकर्ताको आकर्षण ?

लगानीकर्ताबिना स्टार्टअपको यात्रा अपूरो हुन्छ । तपाईँ भएको ठाउँमा लगानीकर्ता नहुने भन्ने हुँदैन । सबै ठाउँमा लगानीकर्ता हुन्छन् । उनीहरूलाई तपाईँले आफ्नो स्टार्टअपको विचार स्पष्टसँग राख्नुपर्छ । लगानीकर्ताले सबैभन्दा पहिले खोज्ने विषय कम्पनीको रिकरिङ रेभेन्यु मोडेल कस्तो छ भन्ने हो ।

रिकरिङ रेभेन्यु मोडेल भन्नाले त्यस्तो बिजनेस मोडेललाई जनाउँछ जसमा कम्पनीले आफ्ना ग्राहकलाई मासिक, त्रैमासिक वा वार्षिक रूपमा नियमित शुल्क लिएर उत्पादन वा सेवा प्रदान गर्दछ । सब्स्क्रिप्सन वा मेम्बरशिप बिजनेस मोडेलहरू नै रिकरिङ रेभेन्यु मोडेलमा पर्छन् । तपाईँको बिजनेस मोडेल त्यस्तो होस् जहाँ उपभोक्ता तपाईँको सेवा लिन बारम्बार आइरहनु परोस् ।

त्यस्तो स्टार्टअपमा लगानीकर्ता इच्छुक हुन्छन् । लगानीकर्ता भन्छन्, "उपभोक्ताले नै कम्पनीले तयार पारेको सेवा वा उत्पादन लिने वा नलिने भन्ने कुराको निर्णय गर्न पाउनुपर्छ । कम्पनीले उपभोक्तालाई आफ्नो उत्पादन वा सेवा लिन दवाव दिनु हुँदैन । बरू, उपभोक्ताले तपाईँको सेवा लिनका लागि दबाब दिनु परोस् । कम्पनीलाई त्यस्तो अवस्थामा पुर्‍याउन सकेको छ भने जो पनि लगानी गर्न तयार हुन्छ ।"

लगानीकर्ताले तपाईँले उपलब्ध गराएको सेवाबाट उपभोक्ता कत्तिको सन्तुष्ट छन् भन्ने कुराको खोजी गर्छन् । यदि तपाईँको सेवा स्तरीय छ भने उपभोक्ता सन्तुष्ट नै हुन्छन् । त्यति मात्र नभएर तपाईँले उपभोक्ताको सुझावलाई कसरी लिनु भएको छ भन्ने कुरा पनि लगानीकर्ताले खोज्छन् । त्यसैले सुझावलाई सुधार गर्ने माध्यमका रूपमा लिनुपर्छ ।

उपभोक्ताले त्यही कुरा खोजी गरेका हुन्छन् जो अरूले उपलब्ध गराएका हुँदैनन् । लगानीकर्ता उपभोक्ताको ठाउँमा रहेर उक्त सेवा वा उत्पादन कत्तिको आवश्यकताको विषय हो भन्ने खोज्छन् । यदि आवश्यक भएको खण्डमा लगानीकर्ता लगानी इच्छुक हुन्छन् ।

लगानी संकलन गर्दा यी कुरा ख्याल गर्नुहोस्

-प्रायः लगानीकर्ता त्यस्तो व्यापारमा लगानी गर्न चाहँदैनन् जसमा खरिद र बिक्रीको काम मात्र हुन्छ ।

-तपाईँको बिजनेस मोडेल त्यस्तो होस् जसमा उपभोक्ता पूर्ण रूपमा तपाईँमा निर्भर हुन सकिन् ।

-संस्थापकको सहभागिता बढी हुने स्टार्टअपमा लगानीकर्ता लगानी गर्न इच्छुक हुन्छन् ।

-तपाईँको व्यापार उपभोक्ताले नै बढाइ दिनुपर्ने लगानीकर्ताको मान्यता हुन्छ । यसको अर्थ तपाईँले प्लेटफर्म बनाउनुहोस् । व्यापार विस्तार उपभोक्ताले नै गर्नु परोस् । उदाहरणका लागि फेसबुकले एउटा प्लेटफर्म बनाइदियो । त्यसलाई हामी उपभोक्ताले नै विस्तार गरिरहेका छौँ ।

यसरी लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा तपाईँले सुरुवात गर्न चाहेको कम्पनी लगानी पाउन लायक छ वा छैन भन्ने कुरा पहिचान गर्नुहोस् । यदि लगानी पाउनुपर्ने मापदण्ड पूरा गरेको छ भने स्वाभाविक रूपमा तपाईँले राम्रो लगानी पाउन सक्नुहुन्छ ।

स्टार्टअपमा टिमको भूमिका

स्टार्टअपमा एउटा सबल टिमले राम्रो भूमिका निभाएको हुन्छ । तपाईँले त्यस्तो टिमको खोजी गर्नुपर्ने हुन्छ जोसँग तपाईँको विचार मिल्छ । जसले कम्पनीलाई पूर्ण समय दिएर अगाडि बढाउने संकल्प राखेका हुन्छन् उनीहरूलाई टिममा राख्नुहोस् ।

स्टार्टअपका लागि टिम नै सबैभन्दा प्रमुख तत्व उद्यमी बताउँछन् । सबैभन्दा पहिले टिम खडा गरेर कम्पनी सुरुवात गर्नुहोस् । त्यसपछि मात्र तपाईँको विचारले पूर्णता पाउँछ ।  

सबैभन्दा पहिलो उत्पादन नै अन्तिम उत्पादन हुँदैन

स्टार्टअपमा कहिल्यै पनि एउटै प्रकृतिको सेवा वा उत्पादन बिक्री गरेर अघि बढ्छु भनेर सम्भव हुँदैन । जसरी हामी हरेक एप अपडेट भएको प्रयोग गर्न रुचाउँछौ, त्यस्तै बिजनेसमा पनि समय अनुसार नयाँ सेवा वा उत्पादन उपलब्ध गराउनु पर्नेमा विज्ञहरू जोड दिन्छन् । सेवा विस्तारका लागि उपभोक्ताको रोजाइ बुझ्नुहोस् ।

कम्पनीमा कार्यरत कर्मचारीबाट नै रुचिका कुराहरू खोज्न सकिन्छ । यसरी उपभोक्ताको रोजाइ र आवश्यकता बुझेर सेवा विस्तार गर्दा कम्पनीले राम्रो मोड लिन्छ । कम्पनी सुरुवात गर्दा नै उत्पादनको सङ्ख्या नबढाउनुहोस् । यदि उक्त उत्पादन उपभोक्ताको आवश्यकता होइन रहेछ भने तपाईँले धेरै कुरा गुमाउनुहुन्छ ।

त्यसैले सुरुवातमा सीमित उत्पादन ल्याएर व्यापार परीक्षण गर्नुहोस् । यदि व्यापार राम्रो भयो भने सेवा वा उत्पादनको माग आफैं बढ्दै जान्छ । यसरी मागअनुसार सेवा विस्तार गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १९:३