काठमाडौँ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा जुजु धौ (दही) मा टिस्यु पेपर, कागज र पानीमा नघुल्ने पदार्थहरू मिसाइएको भनेर प्रचार गरिएको दाबी पुष्टि हुन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले अनुगमनका क्रममा सामाजिक सञ्जालमा उठाइएका जस्ता कुनैपनि अखाद्य वस्तु दहीमा नभेटिएको बताएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालमा शेयर भइरहेको एक भिडिओमा भक्तपुरको प्रसिद्ध जुजु धौको गुणस्तरमाथि प्रश्न उठाइएको छ । एक उपभोक्ताले जुजु धौ किनेर सेवन गर्ने क्रममा दहीभित्र न्यापकिन पेपर फेला पारेको दाबी गरेका थिए । यसपछि जुजु धौ उत्पादनमा स्वच्छता र गुणस्तर नियन्त्रणको आवश्यकता रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले बहस गरेका छन् । केहीले भने यस घटनाले भक्तपुरको पहिचान र जुजु धौको प्रतिष्ठामाथि नकारात्मक असर पारेको प्रतिक्रिया दिएका छन् ।
त्यसपछि २६ वैशाखमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका र विभागको संयुक्त टोलीले लक्ष्मी दही भण्डार, सैँजू दुग्ध उद्योग लगायतका जुजु धौ उत्पादन गर्ने डेरीहरूको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा दही उत्पादन स्थल, वितरण कक्ष, तयारी अवस्थामा रहेका उत्पादन र प्रयोग गरिएका कच्चा पदार्थहरूको परीक्षण गरिएको थियो ।
“स्थलगत परीक्षणबाट सो उद्योगबाट उत्पादित जुजु धौ (दही) मा सामाजिक सञ्जालमा देखिएको जस्तो टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरू लगायतका कुनै पनि कैफियत नभेटिएको जानकारी गराइन्छ,” विभागको विज्ञप्तिमा भनिएको छ ।
विभागले यस्ता भ्रामक तथा तथ्यहीन भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत अनुरोध गरेको छ । “यस प्रकारको भ्रामक तथा तथ्यहीन भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा उद्योगीहरूलाई नकारात्मक असर गरी राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्ने भएकोले सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई खाद्य वस्तुको गुणस्तर तथा स्वच्छता सम्बन्धी कन्टेन्टहरू प्रेषित गर्दा सजग तथा जिम्मेवार रहनु हुन सूचित गरिन्छ,” विभागले भनेको छ ।