close

यी भ्लगर, जसका कारण कारबाहीमा परे क्याप्टेन विजय लामा

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ १३:४७

यी भ्लगर, जसका कारण कारबाहीमा परे क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमतिबिना उडानका दौरान भ्लगरलाई अन्तर्वाता दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई कारबाही गरेको छ । केही दिनअघि नेपाल आएका चर्चित एभियसन भ्लगर साम चुईले नेपाल एयरलाइन्समार्फत उडान भरेका थिए, जहाँ विजय लामाले हवाईजहाज उडाएका थिए ।

एभियसन भ्लगर चुईले ककपिटमै गएर विजय लामासँग अन्तर्वाता लिएका थिए । सोही अन्तर्वार्ताका कारण क्याप्टेन लामा छानबिनमा तानिएका छन् । छानबिन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट हटाइएको छ ।

आखिर को हुन् त साम चुई, अनि किन दिए क्याप्टेन लामाले उनलाई अन्तर्वार्ता ? 

को हुन् साम चुई ? 

साम चुई युट्युबमा एक चर्चित नाम हो । कुनै पनि देशको उड्ययन क्षेत्रको विषयमा जान्नको लागि मानिसहरू उनको भिडिओको प्रतिक्षा गर्छन् । विश्वभरको उड्ययन क्षेत्र कस्तो छ, कुन कम्पनीको हवाईजहाज कस्तो छ, हवाई क्षेत्रको विषयमा यी लगायत यस्ता विविध जानकारीका लागि मानिसहरू चुईको भिडिओ हेर्छन् । त्यति मात्र होइन, उनी एक राम्रो ब्लगर पनि हुन् ।

उनको साम चुई नामकै एउटा ब्लग छ, जहाँ संसारभर उड्ययन क्षेत्र र यससँग सम्बन्धित हरप्रकारका जानकारी प्राप्त गर्न सकिन्छ । उनको ब्लगमा उड्ययन क्षेत्रको समाचार, विमानहरुको समीक्षा, हवाई सुरक्षासम्बन्धी विवरण, उनका भ्लगसँगै विभिन्न विमानहरुको बारेमा जानकारीहरू भेट्न सकिन्छ । हाल उनको युट्युबमा ३१ लाख ५० हजार सब्सक्राइबर छन् ।

उनी उड्डयन र यात्रासँग सम्बन्धित भिडि‌ओहरू बनाएर आफ्नो युट्युबमा राख्छन् । हवाईजहाजप्रति उनको आकर्षण किशोरावस्था देखि नै थियो । चिनियाँ मूलका अष्ट्रेलियन नागरिक साम चुई हवाईजहाजमा चढ्न निकै नै रमाउँथे । उनको उडानको यात्रा काई टाक एयरपोर्टबाट सुरु भएको थियो । उनी १२ वर्षको हुँदा उनले आफ्नो जीवनको पहिलो उडान ७४७ बोइङ जहाजमा भरेका थिए ।

सानो उमेरमा नै अमेरिकाको विभिन्न सहरमा दुई हप्ताको लामो हवाई यात्रा गरे । दुई हप्तासम्म एक ठाउँदेखि अर्को ठाउँ जान उनले गरेको हवाई यात्राले उनलाई उड्ययन प्रति झनै आकर्षित गर्‍यो । हवाईजहाजले उडान भरेको र ल्यान्ड गरेको दृश्यले उनलाई थप आकर्षित गर्‍यो । सन् १९९० को अन्त्यतिर आफ्नो कलेज जीवनमा उनी हवाईजहाज हेर्न कै लागि आफ्नो कलेज सकेर एयरपोर्ट जान्थे ।

त्यो समयमा उनी उक्त जहाजहरूको फोटो पनि खिच्ने गर्थे । त्यही समयमा उनले साम चुई फोटोज डट कम नामको एउटा वेबसाइट बनाए र त्यसमा आफूले खिचेको तस्बिरहरू राख्ने गर्थे । समय बित्दै थियो, अनि हवाईजहाज प्रतिको उनको मोह झन् झन् बढ्दै थियो । हवाईजहाजलाई बाहिरबाट हेर्नु उनको दैनिकी नै बनिसकेको थियो ।

विस्तारै उनले आफ्नो पढाइ सकेर जागिर गर्न सुरु गरे । आम्दानी भएको पैसाले उनलाई यात्रा गर्न सहज हुन थाल्यो । पैसा भएपछि उनी विभिन्न स्थानहरू घुम्न थाले । उनले घुमेको स्थानहरूले उनलाई यति धेरै लालायित गर्‍यो कि, उनी ती स्थानहरू सारा दुनियाँलाई देखाउन चाहन्थे । भर्खर सुरु हुँदै गरेको सूचना प्रविधिको क्षेत्र अनि कम स्रोत साधनबीच आफूले घुमेको स्थान अरुलाई पनि देखाउने चाहनाले उनले भिडिओमा पनि हात हाले ।

सन् २००२ मा चुईले आफ्नो पहिलो डिजिटल क्यामेरा खरिद गरेका थिए । उनको पहिलो क्यामेरा थियो निकोन डी १०० । डिजिटल क्यामेराको सुरुवात हुँदै गर्दा उनले यो क्यामेराको साथमा आफ्नो फोटो वेबसाइटमा शेयर गर्न थाले ।

यही बीचमा उनले धेरै ईमेल प्राप्त गर्न थाले । मानिसहरू उनको ब्लगबाट प्रभावित भएर धेरैभन्दा धेरै उड्ययनको विषयमा जान्न चाहन्थे र उनीहरू चुईलाई मेल गर्थे । यसलाई उनलाई यसप्रति काम गर्न थप प्रेरणा दियो । भिडिओको क्षेत्रमा भने उनी सन् २०१५ देखि लागेका थिए ।

आफ्नो पहिलो आईफोन सिक्स सहित उनले भिडिओहरू खिच्न थाले । यसपछि उनले आफूले घुमेको ठाउँ मात्र होइन, एउटा जहाज उड्दा अथवा रोकिँदा कस्तो देखिन्छ, जहाज भित्रको दृश्य, त्यहाँका पाइलट तथा अन्य कर्मचारीहरूले कसरी काम गर्छन् भन्ने कुरामा पनि देखाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।

फरक-फरक देशका जहाज र सेवा फरक-फरक हुन्छन् । यो उनी आफ्ना अडियन्सलाई देखाउन चाहन्थे । हुन त उनले सन् २००७ देखि नै आफ्ना भिडिओहरु युट्युबमा अपलोड गर्न सुरु गरिसकेका थिए । यद्यपि ती भिडिओहरू खास धेरै थिएनन् । सन् २०१५ पछि भने उनले निरन्तर भिडिओहरू पोस्ट गर्न थाले ।

मानिसहरूले पनि उनको भिडिओ मनपराउन थाले र धेरै भिउज पनि आउन सुरु भयो । यसपछीभने उनले जहाजको मात्र भिडिओहरु अपलोड गर्न थाले । 

यही सिलसिलामा चुईले १०० भन्दा बढी देशहरूमा यात्रा गरिसकेका छन् भने २,००० भन्दा बढी जहाजहरू चढिसकेका छन् । उनले हालै पोस्ट गरेका नेपाल एयरलाइन्सको भिडिओमा हालसम्म साढे चार लाख भ्युज आइसकेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ ९:५४