close

पब्जी विश्वकपको समूह चरणमा यस्तो रह्यो नेपाली टिम 'डीआरएस'को प्रदर्शन

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ १९:१

पब्जी विश्वकपको समूह चरणमा यस्तो रह्यो नेपाली टिम 'डीआरएस'को प्रदर्शन

काठमाडाैं । पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा ‘ग्रुप रेड’ को खेल आइतबार सम्पन्न भएको छ । कुल चार दिन चलेको यो समूह चरणको खेल सकिँदा नेपाली पब्जी टिम डीआरएस गेमिङले अङ्क तालिकाको छैटौं स्थानमा रहेको छ ।

डीआरएस गेमिङले कुल २४ खेलबाट एक चिकेन डिनर र ७४ एलिमिनेसन पोइन्टसहित कुल १८२ पोइन्ट ल्याएको थियो । त्यसैगरी यो समूहको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको थाइल्यान्डको पब्जी टिम ‘बुरिरम युनाइटेड ई-स्पोर्ट्स’ले चार चिकेन डिनर र १३१ एलिमिनेसन पोइन्टसहित कुल ३०० पोइन्ट ल्याएको छ ।

यसैगरी यो समूहको अङ्क तालिकाको दोस्रो स्थानमा दक्षिण अमेरिकी पब्जी टिम ‘इन्फ्लुयन्स केमिन’ र तेस्रो स्थानमा टर्कीको पब्जी टिम ‘एसटुजी ई-स्पोर्ट्स’ रहेका छन् । योसँगै रेड ग्रुपमा अङ्क तालिकाको शीर्ष तीनभित्र पर्न सफल टिम बुरिरम युनाइटेड ई-स्पोर्ट्स, इन्फ्लुयन्स केमिन र एसटुजी ई-स्पोर्ट्स सिधै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

त्यसैगरी चौंथोदेखि ११औँ स्थानमा रहेका डीआरएस गेमिङ सहितका अन्य टिमले अन्तिम चरणमा स्थान बनाउनको लागि पुनः अर्को अवसर पाउनेछन् । जसलाई ‘सर्भाइबल स्टेज’ नाम दिइएको छ । यो प्रतियोगितामा भएका रेड , ग्रिन र यल्लो समूहबाट आएका चौंथोदेखि ११औँ स्थानमा रहेका २४ टिमबीच पुनः प्रतिपर्धा हुनेछ ।

समूह चरणको खेलबाट हरेक समूहका अन्तिम पाँच टिम प्रतियोगिताबाट नै बाहिरिने छन् । नेपालबाट सहभागी स्काइलाइट गेमिङ 'ग्रीन ग्रुप' मा छ । याे समूहकाे खेल नाेभेम्बर १७ देखि सुरू हुनेछ । त्यस्तै 'यल्लाे टिम' मा रहेकाे ट्रेन टु किलकाे खेल नाेभेम्बर २४ देखि सुरू हुनेछ । यसबाट यी टिमले सिधै अन्तिम चरणमा स्थान बनाउँछन् वा सर्भाइभल स्टेजमा खेल्छन् वा प्रतियोगिताबाट नै बाहिरिने छन् भन्ने कुराको टुङ्गो लाग्नेछ ।  

कुल पुरस्कार राशि ४० लाख डलर (५२ कराेड रूपैयाँ बढी) राखिएको यो प्रतियोगिताको विजेताले ९० हजार डलर (करिब एक करोड १६ लाख), उपविजेताले ८५ हजार डलर (करिब एक करोड १० लाख ) र तेस्रो हुने टिमले ८० हजार डलर (करिब साढे एक करोड) हात पार्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०७९ १९:१