काठमाडौं । एउटा दृष्टान्त कल्पना गर्नुहोस् त, तपाईँले विश्वास गरेको कम्प्युटर कुनै समय जति फास्ट थियो, त्यति आज छैन । कम्प्युटर स्लो चल्नुमा अनेक कारण हुन सक्छन्, तर त्यसमा अधिकांश समय र्याम नै जिम्मेवार भएर आउँछ ।
यदि तपाईँसँग पर्याप्त र्याम छैन भने दुई वा दुईभन्दा बढी प्रोग्राम वा ब्राउजर ट्याब खोल्ने क्रममा तपाईँको कम्प्युटरले निकै संघर्ष गर्नुपर्छ ।
यहाँनिर कठिनाइ भनेको र्यामको विषयमा कुरा गर्नु हो । तर र्याम सम्बन्धित शब्दावलीहरूको विषयमा सामान्य बुझाइसमेत छैन भने तपाईँ आफूलाई कति र्याम आवश्यक पर्छ भन्ने विषयमा अर्को कुनै व्यक्तिसँग कसरी प्रश्न सोध्नुहुन्छ वा कुरा गर्नुहुन्छ ?
आज हामी तपाईँको यही अप्ठ्यारोलाई सहज बनाउने कोसिस गर्दै छौँ ।
१. डीआईएमएम/एसओ-डीआईएमएम (DIMM/SO-DIMM)
तपाईँले मुख्यतः डीआईएमएम र एसओ-डीआईएमएम गरी दुई प्रकारका र्यामहरू भेट्न सक्नुहुन्छ । यसमा डीआईएमएमको पूरा रूप 'डुअल इन-लाइन मेमोरी मोड्युल' हो भने एसओ-डीआईएमएमको अर्थ 'स्मल आउटलाइन डीआईएमएम' हो ।
डीआईएमएम खासगरी डेस्कटप कम्प्युटर तथा सर्भरहरूमा पाउन सकिन्छ । जब कि एसओ-डीआईएमएम ल्यापटप, नोटबुक जस्ता डिभाइसमा हुन्छ ।
यी दुई प्रकारका र्यामहरूबीचको भिन्नता भनेको एक प्रकारको र्याम राखिएको मोड्युलमा अर्को प्रकारको र्याम राख्न सक्नुहुन्न । भन्नुको अर्थ डीआईएमएम र्यामलाई एसओ-डीआईएमएमको स्लटमा राख्न सक्नु हुन्न । त्यसैगरी एसओ-डीआईएमएमलाई डीआईएमएमको स्लटमा राख्न मिल्दैन ।
२. डीडीआर
डीडीआरको पूरा रूप 'डबल डेटा रेट' हो, जसको अर्थ एउटै समयमा दुई ओटा ट्रान्सफर हुन्छन् । र्यामको हरेक जेनेरेसनमा डीडीआरमा अपग्रेड आउने गर्दछ, जसले गर्दा तपाईँले डीडीआर३, डीडीआर४ र डीडीआर५ देख्नु हुन्छ ।
डीडीआर२ः यो तपाईँले भेट्न सक्ने सबैभन्दा पुरानो प्रकारको र्याम हो । यद्यपि अहिलेको समयमा यो र्याम पाउनु भनेको दुर्लभ नै हुन्छ ।
डीडीआर३ः यो सन् २००७ मा रिलिज भएको र्याम हो, सन् २०१४ मा डीडीआर४ औपचारिक रूपमा सार्वजनिक भइसकेको भए पनि तपाईँले डीडीआर३ र्याम भएका थुप्रै सिस्टमहरू पाउन सक्नु हुन्छ ।
डीडीआर४ः डीडीआर४ ले डीडीआर ३ लाई पछाडि पार्न सन् २०१७ सम्म कुर्नु परेको थियो । सन् २०२१ मा एएमडी र इन्टेल डीडीआर४ मा स्विच भए ।
डीडीआर५ः त्यस्तै पछिल्लो डीडीआर स्ट्यान्डर्ड डीडीआर५ प्रयोगको हिसाबले अझै डीडीआर४ भन्दा पछाडि छ । यसले अन्य पुराना भर्सनको तुलनामा फास्ट स्पिड र डेटा ट्रान्सफर उपलब्ध गराउँछ । एएमडीको एएम५ डीडीआर५ लाई मात्र सपोर्ट गर्ने एक प्लेटफर्म हो । जब कि इन्टेलले डीडीआर४ र डीडीआर४ दुवैका लागि सपोर्ट दिँदै आएको छ ।
यसमा तपाईँले ख्याल राख्नुपर्ने कुरा के छ भने फरक फरक र्याम जेनेरेसन (पुस्ता) लाई एकसाथ प्रयोग गर्न सक्नुहुन्न ।
३. जीडीडीआर
जीडीडीआरको पूरा रूप 'ग्राफिक्स डबल डेटा रेट' हो । जुन ग्राफिक्स कार्डमा भेट्न सकिने मेमोरीको प्रकार हो ।
छोटकरीमा भन्नुपर्दा तपाईँको कम्प्युटरले पछिल्लो समयमा प्रयोग भइरहेका प्रोग्रामको डेटा र फास्ट एक्सेसको सहजताका लागि आवश्यक अन्य डेटाहरू संचय गर्न र्याम प्रयोग गर्दछ ।
जब कि जीडीडीआर र्याम चाहिँ ग्राफिक्स कार्डमा ग्राफिक्स प्रोसेसिङ समयलाई छरितो बनाउन र जीपीयूका अन्य भागसँग मिलेर सामान्यता अधिकतम ग्राफिकल प्रफर्मेन्सका लागि उच्च ब्यान्डविथलाई अप्टिमाइज गर्ने काम गर्छ । जीडीडीआरको नाम समेत डीडीआर र्याम जस्तै पद्धतिमा राखिएका छन् ।
-जीडीडीआर६एक्स
-जीडीडीआर६
-जीडीडीआर५एक्स
-जीडीडीआर५
-जीडीडीआर४
यसमा तपाईँले जति माथिल्लो नम्बर छ, त्यति नै राम्रो जीडीडीआर र्याम अपेक्षा गर्न सक्नु हुन्छ । पछिल्लो एनभिदिया जीपीयूले पर्फर्मेन्सलाई अधिकतम तुल्याउन जीडीडीआर६एक्स प्रयोग गर्दछ । जब कि एएमडीले जीडीडीआर६ लाई नै निरन्तरता दिइरहेको छ ।
४. क्षमता र ट्रान्सफर स्पिड
यदि तपाईँ अनलाइन रिटेलर वा स्थानीय कम्प्युटर स्टोरमा जाँदै हुनुहुन्छ भने स्टकमा कुन र्याम छ भन्ने कुरा चेक गर्नुहोस्, त्यहाँ तपाईँले थुप्रै सङ्ख्यामा र्यामहरू देख्न सक्नु हुन्छ ।
झट्ट हेर्दा अनेक सङ्ख्यामा भए पनि त्यहाँ तपाईँले साच्चिकै ध्यान दिनुपर्ने विकल्प भने सीमित हुन्छन् । ध्यान दिनुपर्ने पहिलो कुरा भनेको त्यसको क्षमता हो । तपाईँलाई र्यामको लागि कति डेटा आवश्यक छ ?
त्यो ४जीबी, ८जीबी अथवा १६ जीबी हुनसक्छ । र्याम विभिन्न आकारमा उपलब्ध भए पनि आधुनिक पीसीका लागि तपाईँले कम्तिमा ८जीबी लिन चाहनु हुन्छ होला । वास्तवमा र्यामको आकार जति ठूलो भयो, त्यो राम्रो हुने नै भयो ।
तर तपाईँले अतिरिक्त क्षमतालाई राम्रोसँग प्रयोग गर्न सक्नुहुन्न भने त्यसका लागि धेरै खर्च गर्न जरुरी छैन । उदाहरणका लागि तपाईँ केवल वेब ब्राउजिङ, ईमेल चेक, भिडिओ हेर्न र केही डकुमेन्ट लेख्नु हुन्छ भने ८जीबी पर्याप्त हुन्छ ।
यद्यपि आफ्नो मसिनलाई थप सघन कामका लागि प्रयोग गर्नेहरूलाई भने थप र्याम आवश्यक पर्छ । अनि विचार पुर्याउनु पर्ने अर्को नम्बर भनेको ट्रान्सफर स्पिड हो, जुन मेगाट्रान्सफर प्रति सेकेन्ड (MT/s) मा मापन गरिन्छ ।
उदाहरणका लागि तपाईँले 'डीडीआर४-३२०० र्याम' देख्न सक्नु हुन्छ । जसको अर्थ उक्त ३२०० एमटी प्रति सेकेन्डमा सञ्चालन हुन्छ । तपाईँले यसभन्दा पनि फास्ट र्याम पाउन सक्नु हुन्छ, तर तपाईँलाई त्यसको लागत अझ धेरै पर्नेछ ।
तर तपाईँले र्यामको स्पिडलाई मात्र भन्दा पनि त्यसको क्षमतालाई समेत ध्यान दिन जरुरी छ । तपाईँले १६ जीबीको डीडीआर४-१६०० र्याममा ८जीबीको डीडीआर४-२४०० र्यामको तुलनामा बढी लाभ उठाउन सक्नु हुन्छ ।
५. र्याम ल्याटेन्सी (CAS) र टाइमिङ
क्षमता र डेटा ट्रान्सफरको दर मात्रै र्यामका शब्दजाल होइनन् । तपाईँले 'सीएल १६-१८-१८-३६' जस्ता श्रृङ्खलाबद्ध नम्बर समेत देख्न सक्नु हुन्छ ।
यसमा रहेको 'सीएल'ले र्याम सीएएस ल्याटेन्सीलाई जनाउँदछ, जसमा सीएएसको अर्थ 'कोलम एड्रेस स्ट्रोब' (Column Address Strobe) हुन्छ । तपाईँले यी शब्दावलीलाई लिएर त्यति धेरै चिन्तित हुनु पर्दैन ।
तै पनि सीएएसको न्यूनतम मात्रा सामान्यतया राम्रो हुन्छ भन्ने कुरामा ध्यान दिन सक्नु भयो भने राम्रै हुन्छ । सीएएस अङ्क कम भएको र्यामले बढी फास्ट किसिममले डेटा एक्सेस गर्न सक्छ ।
तपाईँले डीडीआर-३२०० र्याम जस्ता डेटा ट्रान्सफर दर समान भएका र्याम सक्नु हुन्छ । तर त्यसमा सीएएस टाइमिङ फरक हुन सक्छ । उदाहरणका लागि कुनै सेटमा सीएल१८ रेटिङ हुन सक्छ, जब कि अर्कोमा सीएल१६ रहेको होला ।
यो उदाहरणमा सीएल१८ र्यामको तुलनामा सीएल१६ र्यामले टास्कलाई केही छिटो सम्पन्न गर्न सक्छ । तर तपाईँले यसका लागि केही बढी रकम खर्च गर्न भने तयार हुनु पर्छ ।
६. पीसी३, पीसी४ र पीसी५ र्याम
पीसी३, पीसी४ र पीसी५ र्याम डीडीआर३, डीडीआर४ र डीडीआर५ समान नै हो । यद्यपि यसले केही भिन्न तरिकाले र्यामको प्रफर्मेन्स मापन गर्छ ।
जहाँ डीडीआर-एक्सएक्सएक्स (DDR4-xxxx) ले प्रति-बिट डेटा दरको बारेको विवरण दिन्छ भने पीसी४-एक्सएक्सएक्सएक्स (PC-xxxxx) ले एमबीपीएसमा तपाईँको र्यामको समग्र डेटा दरको जानकारी दिन्छ ।
तपाईँले र्याम मोड्युलको फ्रिक्वेन्सीलाई आठले गुणा गरी त्यसको कूल डेटा दर प्राप्त गर्न सक्नु हुन्छ ।
यस्तोमा यदि तपाईँले र्याम मोड्युलमा डीडीआर-३२०० देख्नु भयो भने तपाईँले उक्त अङ्कलाई आठले गुणा गरी कूल डेटा दर २५६०० एमबीपीएस पाउनु हुनेछ । यो अवस्थालाई अनुवाद गर्दा पीसी४-२५६०० हुन आउँछ ।
७. र्याम स्लट
र्याम खरिद गर्नु अघि तपाईँले आफ्नो मदरबोर्डमा कति र्याम स्लट दिइएका छन् भन्ने कुरालाई विशेष रुपमा ख्याल गर्नु पर्ने हुन्छ । तपाईँको मदरबोर्डमा रहेका स्लट सङ्ख्याले नै तपाईँले कति र्याम मोड्युल खरिद गर्ने भन्ने कुराको निर्धारण गर्छ ।
यदि दुई ओटा र्याम स्लट छन् भने तपाईँले आपसमा मिल्ने दुई ओटा र्याम खरिद गर्न सक्नु हुन्छ । धेरैजसो र्याम किट दुई अथवा कहिले काहिँ चार (यदि तपाईँसँग चार स्लट छ भने) मोड्युल एकसाथ आउने गर्दछन् ।
त्यसो त र्याम मोड्युल आपसमा मिल्नुपर्छ भन्ने कुरा अनिवार्य त छैन, तर खासगरी मोडेल आपसमा मिल्ने किसिमको भएमा प्रयोग गर्ने समान भोल्टेज लगायतका कारण र्यामले राम्रो प्रदर्शन गर्छ ।
अर्को कुरा यदि तपाईँ भिन्न फ्रिक्वेन्सी र स्पिड भएको र्याम मोड्युल प्रयोग गर्नु हुन्छ भने मिलाउने प्रयास र सिस्टमलाई स्थिर बनाउन तपाईँको बाँकी रहेको र्यामले डिफल्ट रुपमा तल्लो फ्रिक्वेन्सीमा झरेर काम गर्न थाल्छ ।
८. ईसीसी मेमोरी
ईसीसी अर्थात इरर-करेक्टिङ मोड मेमोरी अधिकांश डेटा क्रप्सनलाई पहिचान गर्ने र सुधार गर्ने कम्प्युटर डेटा स्टोरेजको विशेष प्रकार हो । वित्तीय क्षेत्र, वैज्ञानिक कम्प्युटिङ अथवा फाइल सर्भर आदि जस्ता कुनै पनि अवस्थामा इरर सहन गर्न नसक्ने कम्प्युटरहरूमा ईसीसी मेमोरी चिपहरू प्रयोग गरिन्छ ।
सामान्यतया यस्तो मेमोरी सिस्टम सिङ्गल-बिट इररबाट प्रभावित हुँदैन र ईसीसी मेमोरी नलाग्ने कम्प्युटरको तुलनामा सिस्टम एकदमै कम मात्रामा क्र्याश हुने गर्छ । जस्तो भए पनि के तपाईँ ईसीसी मेमोरीलाई दाउमा राख्न चाहनु हुन्छ ?
सम्भवतः तपाईँको उत्तर नाई भन्ने नै आउँछ होला । एउटा प्युगेट सिस्टमको अध्ययनले ईसीसी र्यामले अन्य स्ट्यान्डर्ड र्यामको तुलनामा सुस्त प्रदर्शन गर्छ ।
यति थाहा पाइसकेपछि तपाईँलाई यो सूचिमा किन ईसीसी र्यामको बारेमा जानकारी राखिएको होला भन्ने जिज्ञासा लागेको हुन सक्छ । किन भने तपाईँले झुक्किएर पनि यसलाई खरिद नगर्नु भन्ने आशय हो ।
अब ढुक्कसँग र्याम खरिद गर्नुहोस्ः
र्याम खरिद गर्ने कुरामा अब धेरै तनाव नलिनुहोस् । र्याम सम्बन्धी मुख्य शब्दहरूको ज्ञान भइसकेपछि र्याम खरिद गर्ने क्रममा तपाईँले सही निर्णय लिन सक्नु हुन्छ ।